Madhyabindu News App
विचार-ब्लग

ब्ल्याक फङ्गस भ्रम र यथार्थ

Madhyabindu Online डा. केदार कार्की


A A- A+

ब्ल्याक फङ्गस अर्थात कालो ढुसी म्युरमाइकोसिसको समस्या कोरोना संक्रमितहरुमा देखिएपछि सर्वसाधारणमा यसप्रति चासो त बढेकै छ उनीहरु त्रसित पनि हुन थालेका छन् । ब्ल्याक फंगस झट्टै नयाँ देखिएको समस्या भने होइन । जनस्वास्थ्यमा दुर्लभ मानिने यो रोग प्रतिरक्षा कमजोर व्यक्तिका लागि जोखिम मानिन्छ । चिकित्सा विज्ञानको सन्दर्भ पुस्तकहरुमा यसलाई अवसरवादी संक्रमण भनेर भन्ने गरिन्छ । यसको अर्थ मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता ह्रास भएको मौका छोपी व्ल्याक फंगसले संक्रमण गर्दछ र समयमा नै रोगको निदान नभए विरामीको मृत्यु समेत हुन्छ ।

कोभिड–१९ को महामारी भन्दा पहिले व्ल्याक फंगसको समस्या वर्षमा आकलझुकल एउटा दुइटा विरामी देखिने भएकाले यसको खासै चर्चा हुने गरेको थिएन तर अहिले कोभिड–१९ को संक्रमण भएका व्यक्तिहरुमा उपचार गराइरहँदा वा निकोभइसकेपछि पनि यो समस्या देखिन थालेपछि जनमानसमा फेरी अर्को नयाँ रोग आयो कि भन्ने त्रासको स्थिति छ । ब्ल्याक फंगस बारे थाहा नहुँदा सर्वसाधारण आतङ्कित भइरहेको स्थिति छ । अहिले सामाजिक संजालमा भइरहेको सूचना एवम् टिप्पणी हेर्दा यसबारे जनसमुदायमा यथार्थ सूचना सम्प्रेषण आधिकारिकरुपमा गर्नुपर्ने देखिन्छ ।

व्ल्याक फंगस प्रकृतिकरुपमा हाम्रो वरपरको वातावरण, हावा र माटोमा पाइने एक प्रकारको अवसरवादी ढुसी मानिन्छ । जसले रोग प्रतिरक्षा कमजोर व्यक्तिलाई मौकाछोपी संक्रमण गर्दछ । यो कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई मात्रै देखिने समस्या होइन र यो सरुवा रोग पनि होइन । कोभिड–१९ संक्रमण हुँदा शरीर कमजोर हुने भएकाले फंगसले समात्ने जोखिम बढी भएको हो तर बेलैमा सेचत भए यसबाट जोगिन सकिन्छ एवम् उपचार सम्भव छ, आत्तिहाल्नु पर्दैन पनि ।

मधुमेहको समस्या भएका र उनीहरुमा सुगरको मात्रा नियन्त्रण हुन सकिरहेको छैन भने पनि व्ल्याक फंगसले समात्न सक्छ । अहिले प्रायः घर घरमा नै मधुमेहका विरामी छन् त्यसैले रगतमा सुगर नियन्त्रण नभएका मानिसहरु बढी सचेत हुन जरुरी छ । त्यसैगरी क्यान्सरका विरामी जसले रेडियोथेरापी वा केमो गराइ राखेका छन् या कुनै औषधी लिइराखेका छन् त्यस्ता व्यक्तिहरु पनि ब्ल्याक फंगसको उच्च जोखिममा भएको मानिन्छ । त्यसैगरी मृगौलाका विरामी जसले डाइलासिस गराइराखेका छन् तिनमा पनि फंगसको समस्या देखिने सम्भावना उच्च हुन्छ । अङ्ग प्रत्यारोपण पछि औषधी खाइरहेका जस्तो कलेजो, मिर्गौला प्रत्यारोपण गरी औषधी नियमित सेवन गरिराखेका व्यक्तिहरु उच्च जोखिममा रहेका छन् ।

त्यस्तै लामो समयदेखि कडाखाले निष्प्रयोजन एन्टिवायोटिक प्रयोग गरिराखेका व्यक्तिहरुमा पनि फंगसको जोखिम उत्तिकै रहन्छ । कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेकाहरुले स्वास्थ्यकर्मीको परामर्श विना नै एलथ्रोसिनस्टेरवाइड जस्ता औषधि खाँदा पनि यस फंगसको समस्या बढेको देखिन्छ । जुन कोभिड–१९ को महामारीको पहिलो एवम् दोस्रो लहरमा यो व्यवहार देखिएको कुरा फेसबुकमा कथित विज्ञहरुको सल्लाह छ्यापछ्याप्ती देखिनुले प्रष्ट पार्दछ । अर्को अर्थमा प्रष्टपार्दा होम आइसोलेसनमा बस्दा शरीर दुख्यो, टाउको दुख्यो भनी आफुखुसी विभिन्न औषधी एन्टीवायोटिक स्टेरियोड प्रयोग गर्नेक्रम बढ्दा ब्ल्याक फंगसको समस्या बढ्दोक्रममा देखापर्दैछ ।

अस्पताल भर्ना भएका विरामी जसलाई ३–४ हप्तासम्म स्टेरोइड औषधी प्रयोग गर्नु परेको अनि ३–४ हप्तासम्म आइ सि यु मा राखी उपचार गरिएका संक्रमितहरु यस फंगसको जोखिम रहेका छन् । विशेषगरी ४५ देखि ६५ वर्षसम्मका व्यक्तिहरुलाई व्ल्याक फंगसको जोखिम हुने भए पनि नेपालमा १८ देखि ६५ वर्ष उमेरका मानिसहरुमा यो समस्या देखिएको छ । ब्ल्याक फंगसको समस्या बेलैमा निदान गरी उपार गर्न नसकिए विरामीको मृत्युसमेत हुन सक्छ । यसै पनि ढुसी जनित रोगहरु रोगजनन प्रकृया लामो हुने तर रोग प्रष्ट देखिने बेलासम्म रोग घातक हुने गर्दछ ।

ब्ल्याक फंगसका लक्षणहरु –

टाउको दुख्ने, आँखा मुनीको छालामा लाटोपना देखिने, अनुहार, नाक, मुख आँखा वरिपरीको छालाको रङ्ग सुकेर जाने । यी लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ रोग निदान एवम् उपचार शुरु गर्नका लागि । सामान्यतया फंगसको ढुसीको संक्रमण पछि शरीरमा यी ढुसी चयअचय भई माइकोटोसिन सहउत्पादन गर्दछन् । अनि ढुसी आफैंको क्रियाशिलता बढ्दै जान्छ । यसले शरीरका कोषिका तन्तु एवमु प्रणालीमा भएको कोलाजिन रेसालाई कोलाजिनेज र लास्टिन रेशालाई इलास्टेज अनि केराटिन रेशालाई कोराटिनेज इन्जाइममा परिणत गराउँदछ ।

जसले गर्दा शरीरका काशिका तन्तु अङ्ग एवम् प्रणालीको बनावट परिवर्तित भइजान्छ । किनभने शरीरका कोशिका तन्तु अङ्ग एवम् प्रणालीको संरचनामा कोलाजन रेखा जग मानिन्छ भने इलाशटिन रेशाले ती तन्तुहरु खुम्चीने तन्किने कार्यमा मद्दत गर्दछन् । जसले गर्दा शरीरमा पाचन प्रक्रिया, रक्तसंचार प्रक्रिया, मलमुत्र विसर्जन एवम् स्वासप्रश्वास प्रक्रिया स्वतस्फूर्त रुपमा संचालित हुन्छन् तर माइकोटोसिनको प्रभावले गर्दा खाएको खानेकुरा नपच्ने एवम् जेजति पचेको पनि रक्तप्रणालीमा अवशोषित हुन नसक्ने, रक्तकोशिका एवम् रक्तद्रब्य पनि कमउत्पादन हुने एवम् स्वासप्रश्वास प्रक्रियामा पनि अवरोध, शरीरका अङ्ग प्रत्यङ्गहरुमा पोषण, जलीय आपूर्ति एवम् अक्सिजन आपूर्ति बाधित हुन्छ तिनको स्वाभाविक संरचना मरेर जाने हुन्छन् त्यसले शुरुमा चिलाउने, दुख्ने गरे पनि कालान्तरमा मरेर जान्छ जसलाई पुर्नस्थापना गर्न नसकिने हुँदा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

माथि उल्लेखित रोगजनन प्रक्रिया बारे पशुहरुमा खासगरी गाई, भैंसीहरु फ्युजारियम प्रजातिको ढुसीको संक्रमणबाट हुने डेगनाला रोगको रोगजनन प्रक्रिया, विरामीमा रोग प्रतिरोधक क्षमताको विकास बारे यस स्तम्भकारले फिलिपिन्सको सेन्ट्रल लुजाने स्टेट युनिभर्सिटिमा पशुचिकित्सा विज्ञानमा स्नातकोत्तर अनुसन्धान गर्दा निकालिएको निचोडमा अभिलिखित छ ।

म्युकोर माइकोसिसका विरामीलाई छुट्टै राखी उपचार गर्नुपर्ने हुन्छ । हालसम्म यस रोगको उपचार भनेको त चिकित्सा क्षेत्रमा प्रति ढुसी औषधी एम्फोटेरिसिन–बी त हो जसले ढुसीलाई मार्ला तर मइकोटोशिमलाई त के लछारपछार गर्ला खै ? सुकेका मरेका अङ्गका तन्तुलाई के यो पूर्ण जीवित गराउला र बरु शल्यक्रिया गरी फाल्नु नै बेस होला । भैंसी प्रजातिमा हुने डेगनाला रोगमा प्रायजसो चिकित्साकर्मीले भैंसीको पुच्छर काटीफाले जस्तो भनिरहन यस स्तम्भकारलाई कुनै आइतबार कुर्नु परेन ।

कोभिड–१९ को प्रलयकारी वैश्वीक महामीकै बेला पाहुन बन्न अइपुगेको यो स्वास्थ्यजनित संकटबाट बच्न केही स्वास्थ्य सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ जसअनुसार कोभिड–१९ संक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्नुपर्ने भएमा ओसिलो कोठामा नबस्ने, लामोसमयदेखि बन्द एवम् प्रयोगमा नआएको कोठालाई आइसोलेशन कोठाको रुपमा प्रयोग नगर्ने, भुँइतला कोठामा नबस्ने, ओसिलो तथा चिसो कोठालाई आइसोलेशनको प्रयोगका लागि प्रयोग नगर्ने, कोठा हावादार एवम् घाम लाग्ने हुनु पर्दछ । संक्रमित एवम् स्वस्य व्यक्तिले व्यक्तिगत सरसफाईमा ध्यान दिने, पटक पटक एउटै मास्क प्रगोग नगर्ने, नियमित सावुनपानीले हात धुने, वारम्बार नूनपानीले नाक सफा गर्ने । कोभिड–१९ भई निकोभएको अवस्थामा दुइदेखि अढाइ महिनासम्म ब्ल्याक फंगसको समस्या देखिन सक्छ त्यसैले निकोभइसकें भनेर हेलचेक्र्याइ गर्नुहुँदैन ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु खेतबारीतिर जाँदा सचेत हुनुपर्दछ किनभने यी ढुसीहरु सर्वव्यापी हुने हुँदा माटो, बोटविरुव, हावा, पानीमा हुने गर्दछन् । त्यसैले कामगर्दा हातमा पञ्जा, पूरा बाहुला भएको कपडा लगाउनु पर्ने हुन्छ । यसबाहेक रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सन्तुलित पोषिलो खानेकुरा त खानैप¥यो । यसबाहेक मल्टिभिटामिन एवम् मल्टिमिनरल औषधि पनि लामो समय खानुपर्ने हुन्छ । भिटामिन इ, सी, सेलेनियम वायोटिन एवम् आरसेनिक सल्फेट, जिङ्क सल्फेटलाई रोग क्षमता अभिवन्धक सहयोगीका रुपमा मानिन्छ । त्यसैले वर्तमान स्थितिमा हाल यो रोगको समस्या कोभिड–१९ संक्रमित तर लामो औषधी उपचार पछि बाँचेकाहरुमा बढी देखिएको हुँदा कोभिड–१९ को संक्रमणबाट मुक्त भए पनि कम्तिमा १२ हप्ता माथि उल्लेखित औषधी प्राकृतिक श्रोत वा प्रशोधित श्रोतबाट शरीरलाई उपलब्ध गराउनु नै बुद्धिमानी हुनेछ । भनिन्छ हिजो बाँचेका थियौं अनि पो आज छौं आज बाँचे पो भोली बाँचौला नत्र कस्ले देखेको छ कि बाँचौला सबै कोभिड–१९ संक्रमितको शीघ्र स्वास्थ्यलाभ अनी जटिलता मुक्तको लागि कमना सहित ।

वरिष्ठ पशुचिकित्सक
सेवा निवृत्त प्रमुख
भेटेरिनरी जनस्वास्थ्य कार्यालय
त्रिपुरेश्वर, काठमाडौं ।

छुटाउनु भयो कि ?