राजनीति

“संघियता तुरुन्त खारेज गरौं, नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउँ” – कांग्रेस नेता भण्डारी

Madhyabindu Online


A A- A+

काठमाण्डौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले संघियताको औचित्य समाप्त भएको बताएका छन् । नेपाली कांग्रेसको आसन्न १४औं महाधिबेशनको तयारीका लागी बिहिबार बसेको केन्द्रिय समितिको बैठकमा नेता भण्डारीले यस्तो बताएका हुन् ।

प्रदेशको संरचना मुलुककालागी भार मात्रै भएको भन्दै भण्डारीले भने ‘अहिलेको संघियता नेपालीलाई थप आर्थिक बोझ मात्रै बोकाउने प्रष्ट भैसकेको छ । अहिले स्वयम प्रदेशसभाका माननियहरुनै आफु भुमिका विहिन भएको बताउँदै आएको कुराले प्रष्ट हुन्छ । त्यसैले स्थानिय तहलाई थप जिम्मेवारी दिई मजवुत बनाएर तुरुन्त प्रदेश खारेज गर्नुपर्छ ।’

एक फरक प्रशंगमा नेता भण्डारीले भने ‘यो संघियता र धर्म निरपेक्षताको कुरा बढो झालझेल र कपटपुर्ण तरिकाले बिदेशिको इशारामा लादिएको व्यवस्था हो । त्यतिबेलाको कांग्रेस नेतृत्वले सत्तासँग सिद्दान्त साटेकै हो । गत महासमिती बैठकमा ४३४ जना महासमिती सदस्ले लिखित रुपमा हस्ताक्षर गरेर वैदिक सनातन हिन्दु राष्ट्रको बिषय आजक मितिसम्म सभापतीले छलफलमै नल्याउनु दुखद बिषय हो ।’

‘इतिहास देखीनै मुलुकको अभिभावकिय भुमिका निर्वाह गर्दै आएको कांग्रेस कम्युनिष्टहरुको सहारा खोज्नुपर्ने अवस्थामा पुग्नुको मुख्य कारण पार्टीले वैदिक सनातन हिन्दुराज्य को अवधारणा नलिई कम्युनिस्टको लहैलहैमा लाग्नु हो ।’ नेता भण्डारीले भने ‘अबको एकमात्र विकल्प भनेको नेपाली कांग्रेसले वैदिक सनातन हिन्दुराज्यको एकशुत्रीय एजेन्डा लिएर अघि बढ्नु हो ।’

बिपि कोइरालाले कम्युनिस्टसँग कहिल्यै मिल्न नहुने बताएको भन्दै नेता भण्डारीले तत्कालीन नेतृत्वले पार्टीको मुल प्रवाह छोडेर सत्ता सँग सिद्धान्त साटेकै कारण सन्त, शालीन र आदर्शवादी नेता कृष्ण प्रसाद भट्टराईले जिवनको उत्तरार्द्दमा पार्टी छोडेको पनि बताए ।

कम्युनिस्टहरुले पटकपटक धोका दिएको स्मरण गर्दै नेता भण्डारीले अहिलेको विपक्षी गठबन्धनलाई पनि पुर्ण रूपमा विश्वास गर्ने आधार नभएको मध्यबिन्दु अनलाइनलाई बताए ।

छुटाउनु भयो कि ?