Madhyabindu News App
विचार-ब्लग

मेलम्चीलाई गिज्याइरहेकाे राहत !

Madhyabindu Online बुद्धि प्रसाद आचार्य


A A- A+

इन्द्रावती र मेलम्ची दिदीबहिनी मिलेर सुन्दर नगरी मेलम्ची र त्यसमाथिका थुप्रै पर्यटकीय क्षेत्रलाई कुरुप बनाएको चारदिन भन्दा बढी भैसक्यो । म परिचयको हिसाबले सानोतिनो पत्रकार , थोरथोरै शिक्षासेवी , अलि अलि गाउँको तुलेगाँडो फुच्चे नेता, सहकारीकर्मी , साहित्यानुरागी र बेला बेलामा मुड चल्दा कलम त त्यस्तै हो किबोर्डको माध्यमबाट आवाज ओकल्ने फेसबुके लेखक ।

मेलम्ची, हेलम्बु र पाँचपोखरीको यत्रो विनाशमा आजसम्म यो फेसबुकको भित्तामा एक शब्द पोख्ने हिम्मत जुटाउन सकेको छैन । भन्छन् पिडा अधिक भयो भने आँसु झर्दैन रे । शायद त्यो उक्ति म मा लागू भयो वा म आफैं निर्दयी बनें । मेलम्ची विनाशको भोलीपल्ट करिब दस बजेदेखि हरेक दिन दैनिक तीन चार घण्टाका दरले जागिरे झै विनाशमाथि पाइला टेकेर फर्किएको छु । हेरेरमात्र नपुगेर हरेक दिन एकाध फोटाहरु हातेफोनमा कैद गर्न पनि भ्याएको छु तर पोष्ट्याउने साइत जुरेको छैन ।

मेलम्चीबाटै चल्ने बिजुली बत्ती र त्यतैबाट जोडिएको वाइफाई मध्ये तेस्रो दिनबाट बिजुली त आयो तर वाइफाई फर्केको छैन । एकदुई थान फोटा त डाटा लिएर पनि हाल्न सकिन्थ्यो तर ग्यालरी खोल्ने बित्तिकै मन अमिलो भएर आउँछ । अनि नमिठो मानि मानि के पोष्ट्याउनु त्यसैले जाँगर मारियो शायद ।

मेलम्चीसंगको मेरो सामान्य सम्बन्ध त करिबकरिब २८ बर्ष पहिले एसएलसी दिन इन्द्रेश्वरी स्कुलमा जाँदा देखिकै हो तर प्रगाढ र आत्मीय सम्बन्ध भने २०६३ सालको अन्त्यतिर एउटा निजी वित्तीय संस्थाको कार्यालय प्रमुख भएर करिब साढे दुई बर्ष त्यहाँका आत्मीय मनहरुसंग बिताएपछि जोडिएको थियोे । त्यसपछिका प्रायः दिनहरू शैक्षिक , सामाजिक अभियानमा निरन्तर मेलम्ची कै आसपासमा बितिसक्यो । मलाई लाग्छ मेलम्ची त्यसै मेलम्ची बनेको थिएन । त्यहाँका कर्मठ र कुशल मेलम्ची वासीको कठोर मेहनत , योगदान र रगत पसिनाले सिर्जित भएको थियोे । पन्ध्र बर्ष अगाडि जागिरेकोरुपमा मेलम्ची पस्दाको अवस्था , २०७८ असार १ गतेको अवस्था र आजको अवस्था त्यसै त्यसै मन कुडिने रैछ ।

दुई गते बिहानै मेलम्ची पुगियो । दृश्य त अत्यासलाग्दो नै थियो तथापि एक मनले मलाई राहत पनि दियो यत्रो ठुलो विनाशमा मेलम्चीवासीले आफ्ना एकजना पनि प्रियजनहरु गुमाउनु परेन । यसबाटै प्रमाणित हुन्छ कि मेलम्चीवासीको चेतनास्तर कस्तो छ भन्ने ।कस्तो एकता र एकमन छ भन्ने । पहिलो दिन कोही साथीहरूलाई भेट्ने साहस आएन । उस्तै गरि भोलिपल्ट पनि भारी मनमात्र बोकेर मेलम्ची पुगियो । टुलुटुलु हेर्नू र भावुक बन्नु बाहेक म संग कुनै विकल्प पनि थिएन । न म संग कुनै उपल्लो तहका नेताले दिएको राहतको पोका थियोे न फेसबुकमा फोटो पोष्ट्याउनका लागि अरुसंगबाट उठाएर ल्याएको दुई चार पाकेट खाद्यान्न ।

त्यसदिन जब एकदुई बाक्सा सामान बाँड्न चारपाँच वटा कारका लाइन मेलम्ची भिड गर्न आइपुगे त्यसपछि भने मलाई मेलम्ची बस्नै मन मरेर आयो । यो देशको बेइज्जत गर्न अरु कोहि नचाहिने भएछ अब कथित अभियन्ता र युट्युबे पत्रकार भए काफी रैछ । मलाई लाग्छ मेलम्ची त्यति कमजोर छैन । क्षति हुनबाट बचेका बाँकी बासिन्दाले मात्रै पनि एक बर्ष मेलम्चीलाई दुई छाक भात खुवाउन सक्छ । अझै त्यसमाथि राजनीतिक दलका कथित कार्यकर्ताको राहत राजनीति देख्दा त लाग्छ तिनिहरु मेलम्चीलाई सहयोग गर्न होइन गिज्याउन र गिजोल्न लागिपरेका छन ।

के आफ्ना छिमेकी र वा आमालाई सहयोग गर्न काठमाडौमा नुन चामल लोड गरेदेखि मेलम्ची आइपुग्दा सम्म फेसबुकमा दुई चार स्टाटस र लाइभ हाल्नु जरुरी छ रु के मैले मेरी आमालाई आज खिर खान दिए , स्याउ खान दिएँ भनेर फेसबुकमा प्रचार गरिन्छ रु कति मानवीय र आत्मीय मनहरुले दिएका सहयोग जम्मा पारेर राजनीति गर्न सरम छैन है कसैलाई रु सक्नुहुन्छ सकेको सहयोग पुनःस्थापना र पुन निर्माणका लागि कोष खडा भएको छ त्यसमा गर्नुस ।

नत्र म जस्तै परबाट टुलुटुलु हेर्नुस् आँसु खसाल्नुस जानुस । स्वाभिमानी र कर्मठ मेलम्चीवासीको घाउमा नुनचुक छर्न मेलम्चीमा भिडभाड नगरिदिनुस । मेलम्चीको आत्मसम्मान बचाइदिनुस । बाढी पहिरो माथि कोरोनाको कहर नथपिदिनुस ।

छुटाउनु भयो कि ?