Madhyabindu News App
स्थानीय तह

शैलुङ गाउँपालिकाका आयोजना जनप्रतिनिधीका नाममा !

Madhyabindu Online


A A- A+

दोलखा – शैलुङ गाउँपालिकाको गाउँसभाले पालिकाभरिका ठूला आयोजनाको नामकरण स्थानीय नेता, वडाध्यक्ष र जनप्रतिनिधिका आफन्तका नाममा गरेका छन् ।

असार १० को नवौं गाउँसभाले पालिकाका मुख्य सडक, खानेपानी आयोजना, पार्क र वृद्धाश्रमको नाम परिवर्तन गरेर स्थानीय राजनीतिक दलका नेता, वडाध्यक्ष र जनप्रतिनिधिका आफन्तका नाममा नामकरण गरेको हो ।

नामकरण गरिएका एक दर्जन योजनामा गाउँसभाले स्तरोन्नति र निर्माण शीर्षकमा बजेटसमेत विनियोजन गरेको छ । उपाध्यक्ष लालमाया योञ्जनले आफ्नो गाउँ जाने सडक ससुराका नाममा नामकरण गरेर १० लाख स्तरोन्नतिका लागि छुट्याएकी छन् । यस्तै, पूर्वगाविस अध्यक्षसमेत रहेका एमाले नेताहरू गुणबहादुर बुढाथाकी, धनबहादुर तामाङ र थिरबहादुर मोक्तानका नाममा वृद्धाश्रम र सडकको नामकरण गरी रकम छुट्याइएको छ । पालिकाका ८ वडाध्यक्षका नाममा विभिन्न सडकको नामकरण गरिएको छ ।

सडक र स्थानीय आयोजनाको नाम व्यक्तिका नामबाट राखिएपछि चौतर्फी आलोचना भइरहेको छ । कांग्रेसका तर्फबाट निर्वाचित दुई वडाध्यक्षले भने नामकरण भएको सडकका नाम हटाउन पालिकामा अनुरोधपत्र दिएका छन् ।

नामकरण गरिँदा सम्बन्धित व्यक्तिसँग राय वा अनुमतिसमेत नलिएको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले निर्माण गरिरहेको चर्नावती वृद्धाश्रमको नाम परिवर्तन गरेर गुणबहादुर वृद्धाश्रम राखिएको छ ।

जथाभावी सडक, खानेपानीलगायतका योजनाको नामकरण गरेको भन्दै कांग्रेस शैलुङ गाउँपालिकाले विरोध गरेको छ । कांग्रेसका गाउँ सभापति दाबा दोर्जे लामाले वक्तव्य जारी गरी मनपरी रूपमा व्यक्तिका नाममा गरिएको नामकरण फिर्ता लिन आग्रह गरेका छन् ।

छुटाउनु भयो कि ?