Madhyabindu News App
कला-साहित्य

चकमन्न रातमा घोत्लिंदा !

Madhyabindu Online नवराज तमल्सिना


A A- A+

चकमन्न अँध्यारो सुनसान रातमा कतैबाट बिशाल चौरको माझमा पुगेको र अब कहाँ जाने, के गर्ने, को संग बोल्ने भन्ने असमञ्जस अवस्थामा पुगेको छु । उसो त जीवनको गोरेटोमा बाँचुञ्जेल साथ दिने बाचा बन्धनका साथ सहयात्री बनेकी साथी संगै छिन् । तर उनी कान टाठा लागेता पनि शब्दोच्चारण गर्न नसक्ने अवस्थामा छिन् । यस्तो निरवतामा संभवत खुला चौर भएकोले होला र राती देखिने चन्द्रमा नभएकोले पनि होला । कतै सरसराहट पनि छैन् । आकाशमा ताराहरु त झल्याक, झुलुक देखिन्छन् । तर एकै छिनमा वातावरण अँध्यारिइ हाल्छ ।

धेरै जसोे भर र अलिकति ज्ुनकिरीको टमटमाहटका भरमा हामी छामछाम छुमछुम गर्दै हिंडिरहेछौं । हाम्रा अलि पछि पछि माऊको पछि पछि लाग्दै आएका केही बन बिराला , स्यालका बच्चाहरु , कतैकतै मुसाको चुँई,चुई पनि आएको छ जस्तो आभाष भै रहेछ । उसो त यस्ता जीव जन्तुहरु यस अघिदेखि नै हाम्रा जीवनका बिभिन्न पलहरुमा आफ्नै सन्तान जस्तै गरी नगाँसिएका होइनन् । तर जवसम्म हाम्रो साथमा उनीहरुका लागि भनेर जोहो गरेको अन्नपात, फलफूल र साग सब्जी हामीसंग थियो । हामीसंग यस्तो हुन्जेल त उनीहरु पछि पछि मात्र होईन संगसंगै टाँस्सिएर लेपास्सिएर संगसंगै हिड्थे । यसो सुसार मुसार जस्तो पनि गरिटोपल्थे ।

तर आज स्थिति भिन्न छ । हाम्रा साथमा तत्कालै उब्जाउ भूमि वा संचिति गरिएको भकारीको अन्न छैन । सबै उनीहरुकै अधिकार क्षेत्र भित्र पर्ने गरी हामीले हस्तान्तरण गरिसकेका छौं । त्यसैले हामी .जता गए पनि जाओस,मरे झन जाति नै हुन्छ , खाओस,नखाओस नखाए नखाओस, भन्ठानेर उनीहरुले हामीलाई घोर जंगलमा ल्याएर अलपत्र छाडिदिएका छन् । तर किन हो कुन्नी अँध्यारैमा पनि जुनकिरीको टिलपिल र बादलको घुम्टो उघ्रिएको बेलामा आकाशबाट चिहाउने जनताहरुले फयाँकेको झिनो प्रकाशमा हामी देख्छौ । उनीहर उ……………….परबाट टाढा टाढाबाट बिस्तारै यता हेर्दै,उता हेर्दै यतैतिर आउँदैछन् ।

मैले सेतो लुगा लगाईदिएर हुर्काएको मान्छे आजराति चाँहि त्यही लुगा लगाएर यता आईरहेको छ । उसलाई दिन बाँकि रहेको म संग न केही अझै छ कि भन्ठानेर होला उ थोर बहुत केही अघिदेखि नै पछ्याउने गरिरहेको छ तर आज स्थिति धेरै नै जटिल भएको छ र म संग अब झार्ने फल भएका बोट नै नभएको रित्तो मान्छे म, मैसंग आएकी अबोला सहयात्री । यस्तासंग पनि न अझै केही छ कि र झर्छ र खान पाईन्छ भनेर टाढैबाट नियालिरहेका जस्ता देखिन्छन् । यद्धपी नजिकै आएर नियाल्दा साँच्चै असहज अवस्था आएमा हेरि छाड्नु हुँदैन भन्ने थाहा पाए झैं दच्की दच्की आईरहेछन् । हामी भने निर्धारण नै नभएको गन्तव्यमा लुरु लुरु अगाडि बढिरहेका छौं ।

यस्तो एकान्त चकमन्न अँध्यारो रात , यदा कदा सुनिने स्याल हुईयाको अवस्थामा पनि हामी जस्ता केही मानिस कता……कता हिंडे जसरी नै , छामछामछुमछुम गर्दै , दच्की,दच्की सास फेर्दै कतै न कतैको गन्तव्य (अन्धकार भएकोले) यकिन हुन नसकेका यात्री बनेको छ । पहिचान नै नभएको गन्तव्यतर्फ लखर लखर हिंडिरहेका यात्रीहरु त अरु अरु पनि रहेछन् । यस्तो आभाष मात्र पाईएको , देखेर यकिन गणना गर्न सकिएको छैन् । उसो त हाम्रा पछि पछि आईरहेको भन्ठानेका हाम्रा मानिसहरु पनि हुन या होईनन थाहा छैन् । ती हाम्रा हुन कि अरु कोही वा हामीलाई पछ्याएका हुन कि अरुकै पछि लागेका हुन कि दिग्भ्रमित भएर आएका हुन वा हामी दिग्भ्रमित छौं ? भन्न सकिने अवस्था यो निस्पट्ट रातमा छैन् ।

उसो त हाम्रा पछाडि गाउँ घरमै हुँदा पनि कुकुरहरु ,बिरालाहरु र थोत्रो घरमा भित्र भित्रै आसन जमाएका मुसाहरु पनि पछि पछि लागेर उपद्रो नमच्चाएका होईनन् । उनीहरुले उपद्रो गरेता पनि मानव सभ्यताको विकास भए यता उनीहरु नै हाम्रा निकटका जीवजन्तुको रुपमा हामी संगसंगै रहँदै आएका हुन् । हाम्रा मातहतमा फलफूल, अन्नपात, केही बैभव, जमीन र घर भए नभएको उनीहरुलाई ज्ञान हुने कुरै नभएकोले ती अहिलेका हामी भौतिक आर्जनको श्रोत विहिन संग तत्काल फाईदा हुने केही छैन् । हामी असक्त र रित्ता छौं । त्यसैले पनि होला हामी विस्तारै निस्पट्ट अँध्यारो रातमा छामछाम छुमछुम गर्दै गन्तव्यविहिन यात्रामा आउँदा उनीहरु पछ्याईरहेकै छन् । यो बडो ठीक टीठ लाग्दो दृष्य हो । यस्ता विषयमा सहयात्रीसंग कुरा गरौं भने उनीसंग शब्द त छँदै छैन् , कान पनि सुन्दिनन र अँध्यारोमा ईशारा पनि त छैन् । कसरी बुझ्नु ? बडो सकसपूर्ण यात्रामा छौं हामी ।

यसो गर्दा गर्दै रात झन्, झन् छिप्पिदै गयो । बादल आकाशमा बाक्लिदै गयो । सुनसान फराकिलो चउरमा कता कताबाट हो सरसराहट बढ्न थाल्यो । आकाशको एउटा कुनामा बादल डढेर रातै आगो झर्ला झैं सल्बलाउन थाल्यो । पर कुनै छेउबाट स्यालले हुईया लगायो । मेरा पछि पछि लाग्दै, यताउता सुँघ्दै आएका केही स्यालका बच्चाहरु उतै स्वरमा स्वर मिलाउन थाले । निरवता भङ्ग भयो । अन्धकार ………….बिजुलीको चमक………गड्याङ्गगुडुङ्गको हाहाकार मिसमास भएर हामीलाई अत्याउन थाल्यो । म एकतमासको भएँ । सहयात्री चाँहि टक्क अडिएर सिंगै वातावरण नियाल्दै चोर औंलाले अज्ञात दिशातर्फ देखाउन थालिन । उनको बन्द भैसकेको बोली प्रष्फुटन भए जस्तो लाग्यो । उनी नभन्दै कराउन थालिन , आयो…….आयो , हाम्रो पुग्ने ठाउँ आईपुग्यो । नफर्क पछाडि अब अगाडि मात्र हेर । हाम्रो पुग्ने ठाउँ आईपुग्यो ।

मकवानपुर, हेटौंडा ।

 

छुटाउनु भयो कि ?