Madhyabindu News App
लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री पोखरेल धरापमा

Madhyabindu Online


A A- A+

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । उनी नेतृत्वको सरकारको एकजना मन्त्रीले पदबाट राजीनामा दिएर आत्मालोचनासहित पार्टीमा फर्किएको बताएपछि पोखरेल पुनः अल्पमतमा परेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)की प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा र प्रदेश सभा सदस्यको हैसियतबाट मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता भएसँगै पोखरेलको पद धरापमा परेको हो ।

हाल लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद छन् । जसमध्ये एमालेका ३८ र राज्यमन्त्री रायमाझीको राजीनामासँगै जसपाको ठाकुर पक्षका तीनजना गरी ४१ जना सांसद पोखरेलको पक्षमा छन् । प्रदेशमा एमालेका माधव नेपाल पक्षमा दुईजना सांसद छन् ।

प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनको दल कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जसपाका रायमाझीसहित तीन र राष्ट्रिय जनमोर्चाका एकजना गरी ४२ जना सांसद सरकारको विपक्षमा भएका छन् । नेपाल पक्षका सांसदले समर्थन गरे यो संख्या ४४ पुग्छ ।

यससँगै विपक्षी दलहरूले पनि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलले अल्झाएर राखेको अविश्वास प्रस्तावमाथि छलफल हुनुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । पूर्वमन्त्री तथा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा आफ्नै प्रतिबद्धता पूरा गर्न भए पनि राजीनामा दिनुपर्ने बताए ।

उनले पटक–पटक संविधान र लोकतन्त्रको हुर्मत लिने काम नगर्न मुख्यमन्त्री पोखरेललाई आग्रह गरे । यस्तै, कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दिन खानले पनि अल्पमतमा भएको सरकारका मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

छुटाउनु भयो कि ?