Madhyabindu News App
समाज

पुस्तक विक्रिको रकमबाट तेर्से माविका विद्यार्थीलाई कापी सहयोग

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – अष्ट्रेलियामा स्थापित उद्यमी बन्न सफल नेपाली युवा समाजसेवी खेम शर्माले आफ्नो नयाँ पुस्तकको विक्रिबाट नेपालमा विपन्न समुदायका बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग अभियान सुरु गरेका छन् ।

सोहि अभियान अन्तर्गत सोमबार गएको असार १ गते आएको भिषण बाढीमा परेको सिन्धुपाल्चोकको तालामाराङ ६ मेलम्ची स्थित तेर्से माध्यामिक विद्यालयमा एक हजार थान कापी सहयोग गरिएको छ ।

काठमाडौंमा रहेको होटल म्यानेजमेन्ट पढाउने गेट कलेजले पुस्तक खरिद गरेर प्राप्त भएको ४० हजार रुपियाँमा लेखक शर्माले थपेको ४० हजार रपिँया समेत ८० हजार रुपियाँबाट ती कापी किनेर सहयोग गरिएको हो ।

सो सहयोग बुझ्दै विद्यालयका प्रअ कृष्ण ढुंगानाले कापी सहयोगका लागि धन्यबाद दिँदै विद्यालयमा अध्ययनरत झण्डै साढे ६ सय बालबालिकाहरुलाई दामासाहीले वितरण गरिने बताए ।

उक्त अबसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलबहादुर शाहीले कुल २६ मध्ये १४ जना शिक्षक नीजि दरबन्दीबाट व्यवस्थापन गर्नु पर्ने बाध्यता रहेको भन्दै अभिभावकको सहयोग लगायतबाट मासिक झण्डै २ लाख ७० हजार रुपियाँ तलव स्थानीय स्रोतबाट व्यवस्थापन गरिरहेको बताउँदै यस्तो अवस्थामा पुस्तक विक्रिको रकमबाट विद्यार्थीलाई गरिएको यो सहयोगले निकै ठूलो अर्थ राख्ने उहाँको भनाई थियो ।

शैक्षिक सामग्री वितरणका अबसरमा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका पुर्व अध्यक्ष तथा समाजसेवी सुदर्शन आचार्यले विदेशमा बसेर पनि नेपालको माया गर्ने लेखक शर्माको यो प्रयास प्रशंसनीय भएको बताए ।

सहयोगी गेट कलेजका प्रमुख खेम लकाइले आफुले किनेको पुस्तक पनि बाँडेर ज्ञान साट्न पाएको र त्यो रकम पनि सेवामा प्रयोग हुंदा खुसी लागेको बताए ।

शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष तुला अधिकारीले पुस्तक आफैमा ज्ञानको भण्डार भएको भन्दै यसको विक्रिबाट आएको रकमले विपन्न बालबालिकाको पढाईमा सघाउने लेखक शर्माको काम नौलो र उदाहरणीय भएको बताए ।

शर्माले केहि वर्ष अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र वीर अस्पताल सरसफाईको नमूना काम गरी सरकारलाई सघाएका थिए ।

छुटाउनु भयो कि ?