Madhyabindu News App
विचार-ब्लग

आहा बेंशीको त्यो पानी मिल !

Madhyabindu Online सुदर्शन सिग्देल


A A- A+

बेंशीमा पानी मिल । माथि खेतको डिलदेखि तल लामो फलामे डुँडमा कुलोभरिको पानी जोडले बग्ने १ दशैं आउनु १५ दिन अघि गाउँलेहरूलाई च्यूरा कुट्नै चटारो । गाउँदेखि बेंशीको मिलसम्म चामल र च्यूराका लागि धान कुट्नेको लावालस्कर ।
पालो नपाउँदा कोहीको रातभरी नै मिलमै बास ।

मिलमा नयाँ धानको ओइरो । च्यूराको मगमग बाँस्ना ! अझ बासमती धानको बाँस्नाले मनै हरर ! तोरीको तेलले कसको मन हर्दैनथ्यो र ! भर्खरै पानी मिलमा धान कुटेर ल्याएको चामलको भात । स्वादको त कुरै नगरौं !

मलाई सबैभन्दा रमाइलो त डुँडबाट बेगले झरेको पानी लाग्थ्यो । अझ त्यो पानी मिलको घरभित्र छिरेर घरभित्रैको कुलो हुँदै बाहिरिएको देख्दा गजबै लाग्थ्यो । डुँडको त्यस बेगवान पानीको शक्तिबाट एकै पटक चामल, च्यूरा र तोरीका मिल चल्थे । मिल घुमाएपछि चाहिँ बिस्तारै बग्थ्यो पानी ।

मैले वर्णन गर्या मिलभन्दा अघि गाउँकै चनौटेली शिव ठूलाबाहरूको मिल थियो । त्योचाहिँ अलि साँघुरो ठाउँमा छोटो डुँडको थियो । त्यसले धान मात्र कुट्थ्यो । तर त्यसभन्दा पछिल्लो मिल भने अलि वर सिन्धु खोलाकै छेउमा फराकिलो ठाउँमा थियो । ‘खड्काको मिल’का नामले चर्चित थियो त्यो ।

बिस्तारै गाउँमा ‘सुखको खोजी’ हुन थाल्यो । लेकबाट बेंसी झरेर मिलसम्म अनि त्यहाँबाट फेरि गाउँसम्म भारी बोक्नुपर्ने दुःखबाट मुक्त चाहन्थे मानिस । माथि गाउँमै डिजेलबाट मिल चलाउन थालियो । बिस्तारै पानी मिलमा मान्छे पातलिए । मिलधनीको आम्दानी पनि पातलियो । त्यो रौनक अनि जाँगर कम हुँदै गयो, आखिर पानी मिलको डुँडमा केवल पानी बगिरह्यो । मिलमा खिया लाग्न थाल्यो, फित्ताहरू चुँडिदै गए र फगत पानीले घुम्ने त्यो मिल इतिहास बन्न पुग्यो ।

त्यो आज ‘आधुनिकता’को गर्भमा लोप भइसकेको छ । म अवशेष नियाल्दै पानी मिल खोजिरहेछु विगतको सम्झनामा ।

कहिले हात्ती छाप चप्पल लगाएर त कहिले रित्तै गोडामा त्यो मिल सयौंपल्ट गइयो र आँखामा ती दृश्य जतनसाथ कैद भएका रहेछन् र त फुत्त-फुत्त रिहा हुँदैछन् अझै पनि मेरा संस्मरणका झ्यालबाट ।

१२र१३ वर्षको केट्यौले उमेरमा देख्या र भोग्या त्यो प्यारो मिल सम्झँदा आज पनि यो मन मग्न हुन्छ तर त्यसको दुखद् अन्त्यले हृदय निकै कुँडिन्छ ।

त्यतिबेला मिल चलाउने खड्का बा अहिले पनि ज्यूँदै छन् । यो मन भन्छ- त्यहीँ पानीको मिल अहिले पनि पुनर्जीवित पार्न नसकिएला र ? हो, त्यतिबेला थाप्लोमै भारी बोक्नु पर्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन । गाडीरमोटरसाइकल गुड्न थालेका छन् । भारी फुत्त लिएर जान सकिन्छ । पानी मिल, पानी घट्टहरू ब्यूँझाउने बेला आएन र ! आधुनिकताको कुरा गर्ने हो भने यस्ता मिलरघट्ट झन् आधुनिक र वैज्ञानिक थिए । यिनको ब्यूँझाई र जोगाडमा हामी किन पुनर्जागृत नहुने रु स्थानीय सरकार, हामी गाउँले सबैमा पुनर्जागरण आओेस् ! यसो भयो भने त्यो पानी मिलसँगै गुमेको ‘अर्गानिक’ स्वाद फिर्नेछ र हाम्रो त्यो ३० वर्ष अघिको पहिचान पुनस् फर्किनेछ ।

छुटाउनु भयो कि ?