Madhyabindu News App
आर्थिक

‘सन्तुलित’ मौद्रिक नीति

Madhyabindu Online फोटो अन्नपुर्णपोष्ट


A A- A+

काठमाडौं : कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित बनेको अर्थतन्त्रलाई सहज बनाउने प्रयास स्वरूप नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित बनाउन खोजेको छ। कोभिड प्रभावितलाई गत आर्थिक वर्षमा दिएको अधिकांश सहुलियतलाई निरन्तरता दिँदै वित्तीय स्थायित्व कायम राख्ने रणनीति अघि सारेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति जारी गर्दै यस्तो रणनीति अघि सारेका हुन्।

समग्रमा मौद्रिक नीति संकुचित पनि नभएको र विस्तारकारी पनि नभएकाले मध्यम अवस्थामा रहेको बैंक विज्ञ अनलराज भट्टराई बताउँछन्। उनका अनुसार केन्द्रिय बैंकले वित्तीय क्षेत्र स्थायित्वका लागि काम गरेको छ। ‘कोभिड प्रभावितसँगै बैंकहरूलाई कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा व्यवस्था गर्नदेखि ब्याज असुलीमा अवधि थप्ने, ईएमआईको साना कर्जालाई चार किस्तामा भुक्तानी गर्न एक वर्ष समय थपिदिएको छ’ उनले भने। यसैगरी, सरकारको नेतृत्व परिवर्तन भएकाले यसपटक मौद्रिक नीति सार्वजनिकमा केही ढिलाइ भए पनि सकेसम्म सबैका अपेक्षाहरू समेट्न खोजेको नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली बताउँछन्।

चालु आवको मौद्रिक नीतिले निषेधाज्ञा अवधिको असारसम्म बुझाउनुपर्ने किस्ता (ईएमआई/ईक्यूआई) वा अन्य सांवा ब्याज भुक्तानी २०७८ पुससम्म भुक्तानी मिति थप गर्ने भएको छ। यसबीच, अति प्रभावित होटल र पर्यटनसँग सम्बन्धित कर्जाहरूमा हर्जाना तथा पेनाल ब्याज नलाग्ने भएको छ। तर यसका लागि २०७९ असारसम्मको ब्याज छुट्टै लेखांकन गर्नुपर्ने छ।

यसैगरी, कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको सावाँ र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई केन्द्रिय बैंकले बुझेको छ। फलस्वरूप यसअन्तर्गतका कर्जा भुक्तानी अवधिको म्याद थप गरेको छ। यससँगै कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणलाई निरन्तरता दिएको छ। यो सुविधा २०७८ पुससम्म दिइने भएको समाचार आजको अन्नपुर्णपोष्टमा प्रकाशित छ।

छुटाउनु भयो कि ?