Madhyabindu News App
आर्थिक

तातोपानी नाकाबाट व्यापार सहज बनाउन सरकारसँग माग

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेपाल चीनबीचको स्थलमार्ग तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरुले माग गरेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनु पर्ने माग राखेका हुन् ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सीमापार बाणिज्य संघले एक ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनका लागि माग गरेका हुन्। नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै नेपाल चीन बीचको व्यापारिक कारोबार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासामू व्यापारीहरु पुगेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई ज्ञापन गर्दै राजस्व संकलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्ण रुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

नाका अस्थिर हुँदा संयौंको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार हुँदा काम गर्ने मजदुर अहिले विचल्लीमा परेकाले पूर्ण रुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ ।

सिन्धुपाल्चोकमा यस अघि पनि २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदि पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्राकृतिक रुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ ।

बाह्रविसेबाट २६ किलोमिटर माथि पर्ने कोदारीसम्मका सडक क्षतविक्षत अवस्थामा छ । पहिरोले २०७४ साउनमा भाँच्चिएको लार्चा पुल अहिलेसम्म बन्न सकेको छैन । क्षतिग्रस्त पुल बन्न र राजमार्गको विस्तार एवं उन्नति हुन नसक्दा नाका सञ्चालनमा समस्या आएको नेपाल हिमालय सीमापार बाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए ।

छुटाउनु भयो कि ?