कोशी प्रदेश

मुख्यमन्त्रीको राजीनामा माग्दै राजेन्द्र राई, आचार्य भन्छन्: राजीनामा दिन्‍न

Madhyabindu Online


A A- A+

विराटनगर – नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रदेश १ का सांसद राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

विराटनगरस्थित प्रदेश १ निर्वाचन आयोगको कार्यालयमा पुगेर बुधबार एमालेका १० जना प्रदेश सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि राईले आचार्य सरकार अल्पमतमा परेको बताएका हुन् । ‘आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ,’ उनले भने, ‘अब नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ ।’

सरकार नै अल्पमतमा परिसकेपछि आचार्यलाई पदमा बसिरहन नैतिकताले पनि नदिने राईको भनाइ छ । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्नलाई समय दिएको भन्दै उनले भदौ २३ गतेपछि आचार्यले पद छोड्दा राम्रो हुने जिकिर गरे । पद नछाडेमा गठबन्धनका तर्फबाट आचार्य नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने राईको भनाइ छ ।

‘प्रतिगमनको कित्तामा उभिएकाले उहाँ (आचार्य)लाई समर्थन गर्न नसकिएको हो,’ उनले भने, ‘दल छनोटले आधिकारिकता पाउनेवित्तिकै गठबन्धनका तर्फबाट नयाँ सरकार गठनलाई अघि बढाइने छ ।’ उनले अझै पनि एमाले छाडेर केही सांसद एकीकृत समाजवादीमा आउने दाबी गरे । ‘केही साथीहरुसँग कुरा भइरहेको छ,’ राईले भने, ‘हाम्रा कुरा इन्कार नगरेकाले उहाँहरु समाजवादीमै आउनुहुन्छ भन्ने अपेक्षा छ ।’

मुख्यमन्त्री भीम आचार्यले भने तत्काल राजीनामा नदिने बताएका छन् । ‘सरकार अल्पमतमा परे पनि म संविधान अनुसार चल्छु,’ उनले भने, ‘राजीनामा नदिइकन प्रदेशसभाबाट विश्वासको मत लिनेछु ।’ दल विभाजन भइसकेपछि मुख्यमन्त्री बनेको एक महिनाभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आचार्यले संविधान अनुसार विश्वासको मत लिन पाउने अधिकार आफूसँग रहेको बताए ।

प्रदेश १ का १० जना एमाले सांसदले बुधबार नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गराएका छन् । एमाले छाडेर नयाँ दल समाजवादी रोज्ने सांसदहरूमा राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, खिनु लङ्वा लिम्बू, सरीता खड्का, सावित्रा रेग्मी, गणेश काम्वाङ, पदमकुमारी गुरूङ र सुनीता चौधरी छन् ।

५१ जना संसद रहेको एमालेबाट १० सांसद अलग भएपछि गत बिहीबार मात्रै प्रदेशको मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । ९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । एमालेमा अब सभामुखसहित ४१ सांसद मात्रै छन् ।

यसैबीच मोरङको बूढीगंगा गाउँपालिका–४ का वडाध्यक्ष रमेश खनाल र बूढीगंगा–५ का वडाध्यक्ष कासिम मियाले पनि समाजवादीको पक्षमा सनाखत गराएको निर्वाचन कार्यालयले जनाएको समाचार आजको अन्नपुर्णपोष्टमा प्रकाशित छ ।

छुटाउनु भयो कि ?