Madhyabindu News App
विचार-ब्लग

काँग्रेस महाधिवेशन प्रक्रिया मात्र नहोस्

Madhyabindu Online तारानाथ दाहाल


A A- A+

नेपाली काँग्रेसमा १४औँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ । यस महाधिवेशनमा सहभागी हुने महाधिवेशनका प्रतिनिधिहरू चयन गर्न त्यसको पहिलो आधार तह वडा अधिवेशन जारी छ । समाचारमा ती अधिवेशनलाई निर्वाचनका रूपमा प्रस्तुत गरिएको देखिन्छ । निर्वाचन भनेको प्रतिस्पर्धाबाट जित हुने विधि हो । महाधिवेशन निर्वाचन मात्रै होइन । निःसन्देह यसले नेतृत्व चयन गर्छ र सोका लागि आन्तरिक निर्वाचन प्रक्रियाहरू अवलम्बन पनि गर्दछ तर महाधिवेशनलाई केवल प्राविधिक निर्वाचनका रूपमा बुझ्नुले महाधिवेशनको बृहत्तर अर्थलाई सङ्कुचन गर्दछ । महाधिवेशन भनेको कुनै संस्था वा सङ्गठनको जीवनको एक कालखण्डको बृहत् समीक्षा, अर्को चरणको यात्राको गन्तव्य र कार्यभारको निर्धारण गर्नु हो । काँग्रेसको १४औँ महाधिवेशनको यो सन्दर्भमा पनि १३औँ महाधिवेशन पछाडिका साढे पाँच वर्षका सफलता–असफलता र त्यसका लागि गरिएका निर्णय र कामको प्रभावकारिताको मूल्याङ्कन गर्नु प्रमुख दायित्व हो । देशभर चलिरहेको वडा तहको अधिवेशनमा यस प्रसङ्गमा बहस, छलफल र समीक्षा भएको कतै सुनिएको छैन । पार्टीले कुनै प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेको पनि छैन । बहस भइरहेको छ त केवल को, कुन पदमा पुग्ने र पु-याउने भन्ने मात्रै ।

नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका फेरि पनि संशोधन भएको छ । महाधिवेशन प्रक्रिया जारी रहेकै बेला वडा तहमा अधिवेशन हुन नसकेका २० जिल्लाको हकमा असोज ५ गते अधिवेशन गर्ने गरी आएको नयाँ तालिकामा वडा अधिवेशन भइसकेका पालिकाको अधिवेशनको तिथि सार्नुपर्ने थिएन । यो निर्णय सार्वजनिक गर्नु अगाडि पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिनुभएको समाचार पनि बाहिरिएको छ । यी दुवै घटनाले महाधिवेशनको प्रक्रियामा अनिश्चितताको बादल छाएको छ । महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज गरेकोलगत्तै नयाँ परिघटना सतहमा आउनुले पनि यो अनिश्चितताको बादललाई झन् घना बनाएको स्पष्ट हुन्छ । यसबारे पार्टी नेतृत्वले दृढतापूर्वक स्पष्ट कदम नचालेसम्म महाधिवेशनको प्रक्रिया सहजतापूर्वक अगाडि बढ्ने स्थिति देखिँदैन । महाधिवेशन प्रक्रियामा देखिएका जटिलता हटाएर यसलाई सम्पन्न गराउन नसकेमा काँग्रेस पार्टीको विश्वसनीयता र लोकतन्त्रप्रतिको कठोर निष्ठामाथि थप प्रश्न उठ्न सक्छन् ।

गौरवमय इतिहास भएको नेपाली काँग्रेसको १४औँ महाधिवेशन कोभिड–१९ महामारी र वर्षात्को मौसमका बीचमा आयोजना हुनुपर्ने बाध्यता थियो । पार्टीको विधानले निर्दिष्ट गरेको समयसीमामा महाधिवेशन हुन नपाएकाले बाध्यात्मक रूपमा यस्तो कठिनाइका बीचमा महाधिवेशनमा होमिन कार्यकर्ता विवश भएका छन् । २०७५ को मङ्सिरमा सम्पन्न महासमितिको बैठकमा नै पार्टी महाधिवेशन र परिचालनको क्यालेन्डर बनाएर समयमै काम गर्न आवाज पनि उठेको थियो । यद्यपि त्यो आवाजलाई नेतृत्वले गम्भीरतापूर्वक लिएन । समयलाई धकेल्दै–धकेल्दै ल्याएर यस्तो असहज अवस्थामा पु-याएको हो । पार्टीको विधानसम्मत समयसीमामा महाधिवेशन सम्पन्न गराउन नसक्नु काँग्रेस केन्द्रीय समितिको गम्भीर कमजोरी हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनको मूल मियोका रूपमा रहेको नेपाली काँग्रेसको महाधिवेशन महान् अवसर पनि हो । देशको सुन्दर भविष्यका लागि गुणस्तरीय लोकतन्त्रको मार्गचित्र खिच्ने र त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्न यो अवसर आएको छ । यस अवसरलाई विवेकसम्मत रूपमा सदुपयोग गर्न काँग्रेसपङ्क्ति सचेत हुनुपर्छ । महाधिवेशनलाई विचारको बहस गर्ने र भविष्यका लागि सुस्पष्ट मार्गदर्शन गर्ने निर्णय लिन सक्षम बनाउन पनि सबै नेता–कार्यकर्ताको परम् कर्तव्य र दायित्व हो ।

नेपाली काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा २०७२ सालमा संविधान सभाबाट जारी भएको संविधानको प्रयोगको प्रारम्भिक अवस्थामै हामी छौँ । यो संविधानको आधारमा नेपाललाई एक समावेशी चरित्रको लोकतन्त्रसहितको आर्थिक र सामाजिक रूपमा विकसित समाजमा रूपान्तरण गर्न सकिन्छ । त्यसैले वर्तमान संविधानको रक्षा गर्दै यसको इमानदारीपूर्वक पालना र कार्यान्वयनमा नेपाली काँग्रेसले जोड दिनुपर्दछ । समाजको निरन्तर लोकतान्त्रीकरण र बृहत्तर समावेशीकरणका लागि यो संविधानका मुख्य विशेषतालाई नखलबल्याई यसमा थप सुधार गर्ने लचिलो र उदार नीति लिनुपर्दछ । देशका तमाम समस्यालाई समाधान गर्न राजनीतिक प्रणाली र मूल नीतिहरूमा स्थायित्वको आवश्यकता छ । काँग्रेस नै संविधानवादको क्रमिक विकासमा प्रतिबद्ध रहेन भने नेपाल सदैव नियन्त्रित अस्थिरताको चङ्गुलमा परिरहन्छ । त्यसैले पनि वर्तमान संविधानको पक्षमा काँग्रेसले स्पष्ट र कठोर पक्षधरता लिनु आवश्यक छ । यो राजनीतिक कार्यदिशामा महाधिवेशनले महìवपूर्ण निर्णयहरू लिन सक्नुपर्दछ । यस आधारमा एक भविष्यमुखी नेपाल र नेपाली काँग्रेस बनाउनका लागि यो ऐतिहासिक महाधिवेशनले केही महìवपूर्ण विषयमा दिशाबोध गर्न सक्नुपर्छ । ती विषयमध्ये प्रमुख हो– विचारमा स्पष्टता । अनि यस पार्टीको औपचारिकतामा सीमित रहँदै आएको समग्र संरचना र सङ्गठनमा गतिशीलताका लागि पनि बृहत् कार्ययोजना र प्रतिबद्धताको मात्रै होइन, सङ्गठनलाई नियमित, समयबद्ध र विधानसम्मत स्वतः परिचालन भइरहने बनाउनु उत्तिकै आवश्यक छ ।

अहिलेको समकालीन राजनीतिको विकृत पक्ष भनेकै राजनीतिक दलका नेता कार्यकर्ताको बानीबेहोरा, आचरण र कार्यशैलीमा ह्रास भएको नैतिक पक्ष हो । कार्यकर्ता धन र शक्तिका लागि जस्तोसुकै कर्म गर्न पनि लालायित भइरहेको देखिन्छ । उनीहरूको जीवनशैलीमा समाजलाई सकारात्मक उत्प्रेरणा दिने पक्ष कमजोर भएका छन् । यस्तो अवस्था अन्त्य गर्न काँग्रेसले कार्यकर्तापङ्क्तिलाई नैतिक, सदाचारी र कर्मशील कार्यकर्ताका रूपमा रूपान्तरण गराउन आवश्यक छ । महाधिवेशनले तय गर्ने विचार र बनाउने नेतृत्वले सङ्गठनमा यस्तो सांस्कृतिक परिवर्तनका लागि योगदान गर्न सक्दछ ।
अर्कोतर्फ काँग्रेसमा गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । गुटको चरम् विभाजनले यो पार्टीमा न्याय र विवेकको पक्ष कमजोर भएको छ । मूल्याङ्कनको पक्ष औचित्यहीन भएको छ । आफ्नो गुटको समर्थकलाई मात्र अवसर दिने प्रवृत्ति नेतृत्वमा झाङ्गिएको छ । कार्यकर्तामा पनि एउटा गुटको नेतालाई देवत्वकरण गर्ने र त्यसबाट फाइदा उठाउने अवसरवादी संस्कृति मौलाएको छ । महाधिवेशनमा यो गुटको पर्खाल भत्काउन घनीभूत बहस गर्नुपर्ने हो । निर्वाचनका नाममा गुट–उपगुटको हैसियतमा बढोत्तरी हुने र पार्टी एकताबद्ध सङ्गठनभन्दा स्वार्थी झुण्डको मोर्चा बन्ने अवस्था छ । त्यसैले महाधिवेशनले गुटरहित र विवेकसम्मत पार्टी बनाउने योजनालाई आत्मसात्
गराउन सक्नुपर्छ ।

नेपाली काँग्रेस मूलतः सामाजिक क्रान्तिको जगमा स्थापित भएको पार्टी हो । सामन्ती समाजका विभेद र अत्याचारका विभिन्न आयाममा विद्रोहको चेतना भरेर यस पार्टीले सामाजिक परिवर्तनको शङ्खघोष गरेको थियो, प्रारम्भिक समयमा । अहिले आएर सामाजिक आन्दोलनसँग यस पार्टीको दूरी बढ्दो छ । पार्टीलाई समाजमा विद्यमान विभेद, असमानता, शोषण, अत्याचार र विकृतिविरुद्धको अभियानको एउटा ऊर्जाशील औजार बनाउन सक्नुपर्दछ । देशमा मानवतामुखी राजनीतिक आन्दोलनको पक्षधर शक्ति काँग्रेसबाहेक अरू छैनन् । कोही हिंसावादी संस्कृतिका अनुयायी छन् । कोही घृणावादी र कोही क्षेत्रीयता वा खास वर्ग वा जाति र संस्कृतिवादी शक्ति मात्र छन् । समग्र मानिस समान हुन्, समग्र व्यक्ति नै समाजको मूल तìव हो र मानवता नै सर्वोच्च न्याय चिन्तन हो भन्ने लोकतान्त्रिक पार्टीका रूपमा काँग्रेसले अझ प्रखर पहिचान पुनस्र्थापित गर्न आवश्यक छ । न्याय, अहिंसा, शान्ति र मानव अधिकारको अभियन्ता बन्नुपर्छ काँग्रेस । पुरातन परम्परागत राष्ट्रवादको ज्वरो चढेको छ अहिलेको काँग्रेस पङ्क्तिमा । अर्कोतर्फ शासन व्यवस्थामा सुशासनको प्रत्याभूति गराउने सक्षम र सचेत राजनीतिक दलको अभाव हुँदै गएको जनगुनासो नेपाली समाजमा बढ्दो छ । भ्रष्टाचार, अनियमितता, अपारदर्शिता, अनुत्तरदायीपन र लुटतन्त्र हावी हुँदै गयो भन्ने आमनागरिकको निष्कर्ष छ । यस विषयमा काँग्रेसले सतही प्रतिबद्धता मात्रै नजनाएर गहिरो आत्मचिन्तन गर्नु आवश्यक छ ।

मुलुकको आर्थिक अवस्थामा पनि अपेक्षित सुधार हुन सकेको छैन । २०६२/६३ को जनआन्दोलनपछि नेपालले राजनीतिक स्थिरताको मार्ग तय गर्ने र आर्थिक प्रगति तथा उन्नतिलाई मूल मुद्दा बनाउने जनतामा आशा थियो तर आर्थिक क्षेत्रले अझै पनि गति लिन र आशाको सञ्चार गराउन सकेको छैन । विकासका नीति र कार्यक्रमले समाजमा समातामूलक आर्थिक विकास सुनिश्चित गरेको छैन । दिगो र समतामूलक आर्थिक विकासका लागि काँग्रेस महाधिवेशनले सघन बहस गर्नु आवश्यक छ । आर्थिक क्रान्ति र राजनीतिक खुलापनलाई सँगसँगै अगाडि बढाउनुपर्ने चुनौती काँग्रेससामु खडा छ । भू–राजनीतिक बाध्यताले हाम्रो देशमा अवलम्बन गरिने अर्थ–राजनीतिक दृष्टिकोणमा मध्यमार्गी सोचका लागि कठिन अवस्था छ । राष्ट्रको स्वाभिमान जोगाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न काँग्रेसले मध्यमार्गी चिन्तनलाई मूलधारमा थप स्थापित गर्नुपर्ने आवश्यकता छ । महाधिवेशनले विगतको अर्थनीतिलाई समीक्षा गर्दै समतामूलक आर्थिक विकास हुने, धनी र गरिबबीचको खाडल कम गर्ने, रोजगारी र दिगो विकासले बढावा पाउने नीति र कार्यक्रम तय गर्न सक्नुपर्छ । काँग्रेसमा दिगो र समतामूलक विकासको सोचबारे गम्भीर मदभेदहरू छन् । तिनमा घनीभूत बहस हुनसकेको छैन । यस्तो बहस महाधिवेशनमा नभए कहाँ हुने ?

नेपाल बौद्धिक पलायन र श्रमको निर्यात गर्ने देशका रूपमा परिणत हुँदै गएको छ । हाम्रो मुख्य स्रोत मानिने जनशक्ति केवल श्रमशक्तिका रूपमा मात्र सीमित छ । हाम्रो जनशक्ति पलायन भइरहने र श्रम निर्यात गर्ने सोच र कार्यक्रमलाई निरन्तरता दिइरहेमा हामी कहिल्यै विकसित र उद्यमशील समाजमा परिवर्तन हुन सक्दैनौँ । काँग्रेस पार्टीले विश्व श्रमबजारमा श्रमिक निर्यात गर्ने देशबाट उद्यमशील, सिर्जनशील र नवप्रवद्र्धनात्मक जनशक्ति भएको उत्पादनशील समाजमा रूपान्तरण गर्ने अठोट र उपयुक्त नीति तय गर्न आवश्यक छ । किन कि काँग्रेस पार्टी नेपाली अर्थतन्त्रको उदार र खुलापनको प्रवद्र्धन गर्ने सुधारवादी शक्ति हो । यसले आर्थिक सुधारका नवीनतम प्रयोगलाई सहजीकरण गर्न सक्दछ । आजको सूचना प्रविधिमा आएको क्रान्तिलाई सदुपयोग गर्दै नयाँ आर्थिक क्रान्तिको जग बसाउन काँग्रेसले नीतिगत फड्को मार्ने निर्णय गर्नुपर्दछ । यस महाधिवेशनले यिनै आधारमा नेपाललाई सुन्दर र समृद्ध भविष्यमुखी दृष्टिकोण दिन सक्नुपर्दछ । गोरखापत्र दैनिक बाट ।

छुटाउनु भयो कि ?