Madhyabindu News App
पत्रपत्रिका

गुठीमा गिद्दे नजर,कुटी नै सिध्याए महन्थले

Madhyabindu Online


A A- A+

जनकपुरधाम – जनकपुरधामलाई ५२ कुटी, ७२ कुण्डको सहर भनेर चिनिन्छ। २५–३० वर्षअघिसम्म टोलपिच्छे भेटिन्थे पनि मन्दिर र कुटी। तर, अहिले अधिकांश ती धार्मिक धरोहर देख्न पाइँदैन। त्यससँगै हराए भगवान्का मूर्ति। बाँकी छन् त केवल केही भग्नावशेष। बरु ती ठाउँमा ठूला–ठूला भवन ठडिएका छन्।

बागवनी फार्म रहेको ठाउँमा पहिले वीरपुर राधाकृष्ण मन्दिर थियो। तर, अहिले मन्दिरको नामनिसानै छैन। जग्गा भने सरकारले उपभोग गरिरहेको छ। प्रादेशिक अस्पताल भएको ठाउँमा सियाबिहारी कुटी थियो। त्यो पनि अस्तित्वमा छैन। यस्तै, रासबिहारी, युगलबाबा, रेवासी माइजी, रामेश्वर दास, सीताराम दास तत्मा, सीताराम दास मनियार र विमला बिहारी कुटी मासिएका छन्।

रामजानकी पिक्चर प्यालेस रहेको ठाउँमा रघुवीरशरण व्यास कुटी थियो। त्यससँगै कन्हैया, किशोरी शरण, सखी, परमहंसजी, वशिष्ठ शरण, भटवा, लक्ष्मण शरण कुटीको पनि अत्तोपत्तो छैन। त्यस्तै, रामदयाल शरण, भजनिया, सतानन्द आश्रम, लक्ष्मण शरण, सीताराम दास कुटी वेल्ही, रौनियार, चमार, महापात्र, सबरी कुटीको अहिले अस्तित्व छैन। कुटीसँगै जग्गा पनि अतिक्रमणकारीले हडपेका छन्।

रसिक निवास (मन्दिर र कुटी)को जग्गा अमर पजियारले कब्जा गरी सटर भाडा उठाउँदै आएका छन्। त्यसैगरी भानुचोकको रानीसति मन्दिर कब्जा गरी प्रभु जालानले कपडा व्यापार सञ्चालन गर्दै आएका छन्। सार्वजनिक जग्गालाई व्यक्ति विशेषको मन्दिर बनाएर उनले आलिशान महल ठड्याएका छन्।

अधिकांश कुटी महन्तकै मिलेमतोमा हडपिएको देखिन्छ। धर्मप्रति आस्था नभएकाहरू नै महन्त नियुक्ति भएका कारण मठमन्दिर विनाश भएको महन्त जगदीशदास वैष्णव ‘त्यागी’ बताउँछन्। जनकपुर धार्मिक नगरी भए पनि कतिपय महन्तमा धार्मिक आस्था नभएको, उनीहरू धर्मको संरक्षणभन्दा विनाशतर्फ बढी लागेको आरोप वैष्णव लगाउँछन्। अर्कातर्फ गुठी संस्थानजस्ता निकाय मठमन्दिर संरक्षण गर्नुको साटो जग्गा कसरी बेच्ने भन्नेमा लागेकाले समस्या आएको उनको बुझाइ छ। गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठ रेग्मी भने संस्थानको अधीनस्त रहेको जग्गाको मात्रै संरक्षण गर्ने गरेको बताउँछन्।

विगतमा धार्मिक मेलाहरूमा श्रद्धालुको घुइँचो लाग्ने गरेको थियो। उनीहरू जातीयअनुसारका कुटीमा विश्राम र पूजा गर्थे। तर, अहिले श्रद्धालुहरू त्यो संख्यामा जनकपुर आउन छाडेको अध्यता रामभरोष कापडी ‘भ्रमर’ बताउँछन्।  जानकी मन्दिरको प्रसिद्धिका कारण साधुसन्त ठूला संख्यामा जनकपुर आउँथे। उनीहरू भजनकिर्तन गरी रमाउँथे। ती साधुहरूका लागि कुटी बनाइन्थ्यो। साधुसन्तकै नामबाट मन्दिरको नाम राखिन्थ्यो। त्यसबेला सबै व्यवस्थित नै थिए। तर, बिस्तारै माफियाको चलखेल र मन्दिर संरक्षककै मिलेमतोमा कुटी मासिँदै गए। कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्का मूर्तिसमेत बेचिए। जनकपुरधाम प्राचीन मिथिलाको राजधानीका साथै मठमन्दिरका सहरका रूपमा परिचित थियो। तर, पछिल्लो दुई दशकमा ४० भन्दा बढी मन्दिरसँगै मूर्ति हराएका छन्।

अतिक्रमणकारीले मन्दिरको गजुरसँगै भगवान् पनि बेचेको स्थानीय भगलु मण्डल बताउँछन्। ‘भक्तहरूले दानस्वरूप दिएका बिघौबिघा जग्गा समाप्त हुने गरी बेचिएको छ। धार्मिक नगरी जनकपुरका मठमन्दिरको विनाश भइरहेको छ। यसलाई रोक्न तत्काल सरोकारवाला निकायले पहल गर्नुपर्ने आवश्यकता छ’, मण्डल भन्छन्, ‘मठमन्दिरको विनाश नरोकिए जनकपुरको इतिहास एकादेशको कथनजस्तो हुनेछ।’

गुठी संस्थान जनकपुरको तथ्यांकअनुसार साविकमा धनुषाका मठमन्दिरको जग्गा ५ हजार ८ सय ३५ बिघा १० कठ्ठा १९ धुर थियो। त्यसलाई २०२१ सालमा भएको पहिलो नापीमा तीन प्रकारले विभाजन गरियो। जसमा अधिनस्त, तैनाथी र नम्बरी गरी ६ हजार १ सय २९ बिघा २ कठ्ठा १० धुर छ। तथ्यांकअनुसार साविकमा रहेका जग्गा नापीमा झन्डै २ सय ९४ बिघाभन्दा बढी देखिएको छ।

ऐनबमोजिम गुठी जग्गामध्ये ३ हजार ६ सय ७३ बिघा १० कट्ठा ४ धुर व्यक्तिको नाममा रैतान नम्बरी भयो। जिल्लामा रहेका मठमन्दिरको २ हजार ४ सय ५६ बिघाभन्दा बढी जग्गाको संरक्षण गुठी र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ। तर, संस्थानका कर्मचारी, मठमन्दिरका पुजारी तथा महन्त, स्थानीय प्रशासन र नेता तथा माफियाको संलग्नतामा सयौं बिघा सार्वजनिक जग्गा बिक्री गरेका छन् ।

गुठी संस्थान जनकपुरका प्रमुख रेग्मी हालसम्म ३० बिघा ७ कठ्ठा १८ धुर जग्गा अतिक्रमण भएको दाबी गर्छन्। मन्दिरपिच्छे बस्ती, हाटबजार, युवा क्लबको भवन, बस स्टेन्ड, दलका कार्यालयदेखि सरकारी तथा गैरसरकारी संघ–संस्थाले मनमौजी गुठीको जग्गा हडपेर बसेका छन्।

२०२२ सालमा गुठी संस्थान ऐन आयो। नागरिकता नभएका साधुसन्तले मठमन्दिरको जग्गा चलाउन नपाउने विषयमा विभिन्न नियम बने। कतिपयले नागरिकता भएका चेलालाई मठमन्दिरको स्वामित्व सुम्पिए। तर, संरक्षणको जिम्मेवारी लिएकाहरूले माफियासँग मिलेर जग्गा बिक्री गरेपछि मन्दिर बिस्तारै लोप भए। धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सक्रिय युवा सरोज मिश्र भन्छन्, ‘मठाधीशहरूले नै माफियाराज चलाएछ। मन्दिरदेखि गुठीसम्म सबैमा ब्रह्मलुट मच्चिएको छ।’ राजनीतिक खोल ओढेर मठमन्दिरको जग्गा माफियाले अपचलन गरेको आरोप उनी लगाउँछन्।

गुठीको जग्गामा मनमौजी      
गुठी संस्थानको जग्गा कबोलअनुसारको रकम नबुझाई सरकारी निकायले वर्षौंदेखि कब्जा जमाएका छन्। संस्थानका अनुसार सरकारी कार्यालय तथा संघ–संस्थाले ६८ बिघा १७ कठ्ठाभन्दा बढी जग्गा उपभोग गरिरहेका छन्।

चरीचरण तथा बिउ वृद्धि फार्मले सबैभन्दा बढी ३७ बिघा ४ कठ्ठा १४ धुर उपभोग गरिरहेको छ। यस्तै अन्य निकायमा जिल्ला प्रशासन कार्यालय, साविक कृषि विकास शाखा कार्यालय, खाद्य तथा कृषि बजार सेवा केन्द्र, पशुविकास तथा पशु स्वास्थ्य शाखा, जिल्ला शिक्षा कार्यालय, धनुषा जिल्ला अदालत, नेपाल परिवार नियोजन संघ, जिल्ला प्रहरी कार्यालय, साविक अञ्चल प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय छन्।

त्यसैगरी राष्ट्रिय समाचार समिति, साविक जिल्ला विकास समिति, महिला विकास सेवा केन्द्र, पशुसेवा तालिम केन्द्र, बालमन्दिर, नेपाल स्काउट, सीताराम गौशाला, खेलकुद परिषद्, अतिथि गृह, पुनरावेदन अदालत जनकपुर, जिल्ला वन कार्यालय, सडक विभाग, वडा प्रहरी कार्यालय, जनकपुर जेसिस र पुनरावेदन सरकारी वकिल कार्यालयले गुठीकै जग्गा उपभोग गरिराखेका छन्।

सरकारी कार्यालयका साथै संघ–संस्थाले उपभोग गरेको जग्गा २५ बिघा १० कठ्ठा १५ धुरभन्दा बढी छ। जनकपुरका अधिकांश संघ–संस्था, दलका पार्टी कार्यालय, धर्मशाला, प्रतिष्ठान, बसपार्क तथा केही विद्यालयसमेत गुठी स्वामित्वकै जग्गामै छन्। गुठीको जग्गामा साविकदेखि नै अतिक्रमण रहेको र बाँकी बक्यौता असुलउपर हुन नसकेको रेग्मी सुनाउँछन्।

विद्युत् चोरी 
श्री रामानन्दनीय वैष्णव संघ सन्त तुलसी स्मारक सदनमा विद्युत् चोरी गरी सटर भाडावाललाई बेच्ने गरेको पाइएको छ। २० वटा सटरमा मिटर जडान गरी रामरोशन दासले बर्सेनि लाखौं रुपैयाँ असुली गर्दै आएको पसल चलाउँदै आएका एक व्यापारी बताउँछन्।

रामानन्दनीय वैष्णव संघले विद्युत् चोरी गरेर मन्दिरमा बाल्दै २० वटा सटरलाई रकम लिएर बेचिरहेको पाइएको नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर सरोज साह बताउँछन्। ‘हामीले गत बुधबार राति सात जनालाई पक्राउ ग¥यौं। जसमध्ये एक जना कुटीका पुजारीसमेत थिए’, इन्जिनियर साहले भने ।

पक्राउ परेका पुजारी छुटाउन रामरोशन दास १२ बजे राति जिल्ला प्रहरी कार्यालय गएका थिए। उनले पैसाको आडमा राति नै पुजारीलाई छुटाएर ल्याएको स्रोतको दाबी छ। जिल्ला प्रहरी तथा विद्युत् प्राधिकरणका अधिकारीले पुजारीको नाम भने बताउन चाहेनन्। जानकी मन्दिरका छोटे महन्त भनिएका रामरोशनले सटरहरूबाट क्रमश: १२, १० र ८ हजार रुपैयाँ मासिक असुल्दै आएको छ।

गुठीका जग्गाको प्रकार
गुठी सञ्चालन गर्न खर्चको स्रोत जुटाउन आयस्ता आउने गरी दाताले आफ्नो हक छाडी राखिदिएका जग्गा नै गुठी जग्गा हुन्। गुठी जग्गा पाँच प्रकार छन्।

१.     गुठी तैनाथी : कोही कसैको हक नभएको देवस्थल, बाग, बगैंचा, पोखरी, पाटी, पौवा रहेका क्षेत्रका जग्गा र संस्थानले बाली ठेक्का, बहाल आदिमा दिन वा लिलाम गरी बिक्री गर्न सक्ने जग्गा।
२.     गुठी अधीनस्थ : दर्तावालाले गुठीमा कुत बुझाउनु पर्ने जग्गा अर्थात मोही लागेका गुठी जग्गा। जग्गामा दर्तावाला र जोताहा मोही भएमा दर्तावालाको सम्पूर्ण हक समाप्त भई खास जोताहा किसानले प्रचलित कानुनबमोजिम मोहीयानी हक पाउँछ।
३.     गुठी रैतान नम्बरी : दर्तावालाले गुठीमा मालपोत बुझाउनु पर्ने जग्गा। जग्गामा दर्तावालाको हक हैसियत सरकारी रैकर जग्गाका जग्गावाला सरह हुन्छ र रैकर जग्गा सरह नै मालपोत गुठीमा बुझाउनुपर्छ।
४.     गुठी नम्बरी : गुठीका नाममा दर्ता भएका रैकर जग्गालाई गुठी नम्बरी जग्गा मानिन्छ। यो  जग्गाको मालपोत गुठीले स्थानीय निकायलाई बुझाउनुपर्छ।
५.     खान्गी : ऐनमा खान्गी जग्गा भनी छुट्टै परिभाषा नगरिए पनि गुठीको निश्चित काम गरेबापत गुठीका कामदारले जोती भोग गर्न पाउने जग्गालाई गुठीका खान्गी जग्गा भनिन्छ। अन्नपुर्णपोष्ट दैनिक बाट ।

छुटाउनु भयो कि ?