
नेपाल भित्रिए नयाँ मोडलका चिनियाँ विद्युतीय कार
रसुवा – नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।
पछिल्लो समय आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० भन्दा बढी नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।
गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताए ।