Madhyabindu News App
मनोरञ्जन

प्रकाश पराजुली र मिना बुढाथोकी पहिलो दोहोरी च्याम्पियन

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेका छन्।

पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा उपाधिका लागि पराजुली र बुढाथोकीको जोडीसँग बालचन्द्र बराल र शोभा कार्कीको जोडीले प्रतिस्पर्धा गरेको थियो। तर, भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको जोडीले उपाधि हात पारेको हो।

पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेताले नगद २० लाख रुपैयाँ पाए। यसका साथै, १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएका छन्। दोस्रो भएका कार्की र बरालको जोडीले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार हात पारेका छन् ।

सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ। राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो। राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ।

विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरेका थिए ।

कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले सञ्चालन गरेको नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शोको ग्रान्ड फिनाले कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा समेत गरेका छन् ।

छुटाउनु भयो कि ?