Madhyabindu News App
पत्रपत्रिका

एमाले महाधिवेशन – ओज गुमाएर फर्कंदै ओली

Madhyabindu Online


A A- A+

चितवन – पार्टीभित्र एकछत्र प्रभाव भए पनि महाधिवेशन प्रतिनिधिको विवेकलाई बन्धक बनाउन खोज्दा एमाले अध्यक्ष केपी शर्मा ओली कमजोर भएका छन् । भीम रावल, घनश्याम भूसाल, भीम आचार्य र टंक कार्कीजस्ता आलोचक मात्र होइन, राजनीतिमा ओलीको विकल्प छैन भन्ने नेताहरू पनि टिममा नअटेपछि ओलीसँग आहत भएका छन् ।

महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा सर्वसम्मत गराएर निर्विकल्प अध्यक्ष बन्ने ओलीको रणनीति सफल हुन सकेन । अध्यक्षका प्रत्याशी उनी स्वयंले आफूसहितलाई समेटेर नयाँ केन्द्रीय कमिटीको प्रस्ताव गरे । लोकतान्त्रिक अभ्यासविपरीत उनले प्रयोग गरेको अतिरिक्त अभ्यास पूर्णरूपमा सफल हुन सकेन । बरु उनको ‘नजरमा’ परेको भनेर आशावादी नेताहरू नै दु:खी भएका छन् ।

आइतबार मध्यराति पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरुमा ३ सय १ केन्द्रीय सदस्य र त्यसको तीन घण्टापछि १९ पदाधिकारीको नाम सर्वसम्मतिका लागि बन्दसत्रमा पेस गरेका थिए । तर कान्तिपुरसँगको औपचारिक–अनौपचारिक कुराकानीमा धेरै नेताले ओलीले पेस गरेको पदाधिकारीसहित केन्द्रीय कमिटीको सूचीलाई बाध्यात्मक रूपमा स्वीकार गरेको बताएका छन् ।

२२ सय प्रतिनिधिको मतको प्रतिनिधित्व एक्ला ओलीले गर्न सक्दैनथे, तर उनले त्यस्तो प्रयास गर्दा पुराना प्रतिद्वन्द्वी मात्र होइन, आफ्नै शुभचिन्तकको पनि मन दुखाएका छन् । उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई अगाडि बढाएकामा उनकै समूहका सुवास नेम्वाङ असन्तुष्ट छन् ।

वरिष्ठ उपाध्यक्षका आकांक्षी नेम्वाङ ओलीको निर्णायक दबाबपछि उपाध्यक्षमा बस्न तयार भए । उनलाई वरिष्ठ उपाध्यक्ष बनाउन जनजाति पृष्ठभूमिका नेताहरूले ओलीसँग पटक–पटक आग्रह गरेका थिए । यद्यपि नेम्वाङले सर्वसम्मतिले गरेको निर्णय स्वीकार गरेको बताए । ‘मेरो गुनासो अध्यक्षलाई भन्छु तर सर्वसम्मतिले गरेको मान्छु भनेको थिएँ, अध्यक्षले गृहकार्य गरेर नाम सुनाउनुभयो, हलले अनुमोदन गर्‍यो, निर्वाचनमा गएको भए स्वाभाविक रूपमा चुनाव लड्थें,’ उनले भने । ओलीलाई संकटको समयमा आलोचना खेपेर पनि साथ दिँदै आएका नेम्वाङले जिम्मेवारीमा भने प्राथमिकतामा नपरेको गुनासो गरे ।

ओलीले महासचिवमा शंकर पोखरेललाई अगाडि सारेकामा विष्णु पौडेल पनि असन्तुष्ट देखिएका छन् । उनले महासचिवका लागि अन्तिमसम्म प्रयास गरेका थिए तर ओलीले निर्णय नै सुनाएपछि उनी उपाध्यक्षमा बस्न बाध्य भए । ‘उहाँ निर्वाचन प्रक्रियामा गएको भए महासचिवको स्वाभाविक र बलियो दाबेदार हुनुहुन्थ्यो,’ पौडेलनिकट एक नेताले भने । उनी तत्कालीन नेकपाका महासचिव थिए ।

ओली आफू हरहालतमा सर्वसम्मति चाहन्थे, जुन उनले शनिबार बन्दसत्रमा प्रस्टसँग भनेका थिए । ‘हतारमा प्रतिस्पर्धा गर्ने, लोकतन्त्रलाई प्रतिस्पर्धाका रूपमा मात्रै बुझ्ने र प्रतिस्पर्धालाई अस्वस्थ बनाउने खालका काम नगरौं,’ उनले भनेका थिए, ‘पार्टीभित्र लोकतन्त्रको मुख्य विषय समझदारी, सर्वसम्मति र एकता हो । एकताबद्ध भएर अगाडि बढ्नु पार्टीभित्रको मुख्य लोकतन्त्र हो ।’ ओलीले सूची चयनमा पर्याप्त ध्यान नदिएको उनीनिटक नेताहरूकै बुझाइ छ ।

ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटीको सूचीमा अटेका तर पदाधिकारीका दाबेदार लालबाबु पण्डितले केन्द्रीय सदस्य पद नै अस्वीकार गरेका छन् । पदाधिकारीमा नपरेपछि उनले सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताए । ‘मैले यसअघि पनि पदाधिकारीमा प्रतिस्पर्धा गर्छु भनेको थिएँ । पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा थिएँ । त्यसमा नेतृत्वले अर्कै सूची घोषणा गरेपछि बागी, विद्रोही बन्न चाहिनँ । विद्रोह मेरो खुनमा छैन,’ पण्डितले भने, ‘अहिले जस्ता प्रतिनिधि आउनुभएको छ, यो परिस्थितिमा नेतृत्वको सूचीबाहिर गएर उम्मेदवारी दिनुको अर्थ थिएन ।’

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि ओलीले सहमतिका लागि प्रस्ताव गरेको सूचीमा अटेनन् । जुनियर नेता केन्द्रीय कमिटीमा पर्दा आफू नसमेटिएकामा उनी असन्तुष्ट छन् । तर अध्यक्ष ओलीलगायतका नेताले प्रदेशको नेतृत्व सम्हाल्न आग्रह गरेपछि स्वीकार गरेको उनले बताए । ‘अध्यक्षले प्रदेशको जिम्मेवारी सम्हाल्न भन्नुभएको छ तर यहीं (केन्द्रमा नै) दिएको भए हुन्थ्यो, प्रदेशमा काम गर्ने मान्छे भएनन्, तपाईंले राम्रोसँग काम गर्दिनुपर्‍यो भन्ने कुरा आएको छ,’ उनले भने, ‘प्रोटोकलमा तल परे पनि पार्टी कामका हिसाबले प्रदेश महत्त्वपूर्ण हो । तपाईंले हेरिदिनुपर्‍यो भनेर पार्टी अध्यक्ष, महासचिवलगायतका नेताले भन्नुभयो । मैले इन्कार गर्न सकिनँ । ठीकै छ नि त भनेको हुँ ।’

अनेरास्ववियुका पूर्वउपाध्यक्ष रश्मि आचार्यले अध्यक्षले एमालेलाई युवामय बनाउने अवसर गुमाएको बताए । ‘वडा, पालिका अधिवेशन र प्रतिनिधि छनोटबाट जसरी युवा प्रतिनिधित्व बढेका थिए त्यसको छनक केन्द्रमा पनि हुन्छ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘त्यो अवसर गुमेको छ । अधिकांश पुरानै मान्छे दोहोरिएका छन् ।’ आचार्य केन्द्रीय सदस्यका आकांक्षी थिए ।

दसबुँदे सहमतिका पक्षधर नेताहरू पनि सूचीप्रति सन्तुष्ट छैनन् । यतिसम्म कि नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित घनश्याम भूसाललाई त ओलीले १९ पदाधिकारीमा समेटेनन् । उनीसँग उपमहासचिवमा पराजित शंकर पोखरेललाई महासचिव बनाएका छन् । असन्तुष्ट भूसाल उपाध्यक्षमा निर्वाचन लड्दै छन् ।

ओलीले भीम रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए तर रावल वरिष्ठ उपाध्यक्षबाहेक अन्यमा बस्न तयार भएनन् । उनी ओलीसँग अध्यक्षका लागि निर्वाचनमा भिड्दै छन् । निवर्तमान सचिव भीम आचार्य र स्थायी कमिटी सदस्य रघुजी पन्त पदाधिकारीमा समेटिएनन् । आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् । कान्तिपुर दैनिक बाट ।

छुटाउनु भयो कि ?