Madhyabindu News App
आर्थिक

बैंकहरुले ८० प्रतिशत रकम निक्षेपको रुपमा प्रयोग गर्न पाउने

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्र बैकले स्थानीय तहमा जाने कुल पुँजीगत बजेटको ८० प्रतिशत रकम बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न पाउने र लगानी समेत गर्न पाउने छुट दिएको छ ।

सोमबार एक परिपत्र जारी गर्दै राष्ट्र बैकले एक निर्देशन दिएसँगै बैंकहरुले आधिकारिक रुपमै बजेटको अधिकतम् ८० प्रतिशत रकम निक्षेपको रुपमा प्रयोग गर्न पाउने भएका छन् ।

योसँगै वाणिज्य बैंकहरुले थप २४ अर्ब रुपैयाँ निक्षेपको रुपमा तरलता (लगानी योग्य पूँजी) पाउने भएका हुन् ।  चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले स्थानीय तहका लागि कूल ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जसमध्ये पहिलो र दोस्रो चौमासको गरी कुल १ खर्ब ६० अर्ब रुपैयाँ निकासा गरि सकिएकोमा हाल नेपाल राष्ट्र बैंकमा ८० अर्ब रुपैयाँ रहेको छ भने बाँकी ८० अर्ब रुपैयाँ वाणिज्य बैंकहरुमा छ ।  ८० अर्ब रुपैयाँमध्ये ५० प्रतिशत अर्थात् ४० अर्ब रुपैयाँ बैंकहरुले यसअघि नै निक्षेपको रुपमा गणना गरी सकेको अवस्थामा थप बैंकहरुले ३० प्रतिशत अर्थात् २४ अर्ब रुपैयाँ  तरलताको सुविधा पाउने भएका हुन् ।

बैंकिङ क्षेत्रमा तरलता संकट झन्झन् गहिरिँदै गएपछि गत मंसिर २ गते अर्थमन्त्रालयले एक निर्णय गर्दै कुल स्थानीय बजेटको ८० प्रतिशत रकम बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने निर्णयलाई अनुसरण गर्दै राष्ट्र बैंकले नीति कार्यान्वयनमा लगेको हो ।

असार मसान्तसम्म मात्र उपयोग गर्न पाउने गरि सरकारले दिएको यस्तो तरलता सुविधा बैंकहरुले आफुखुशी आयात निर्यात तथा सेयर लगानी जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न पाउने छैनन् । यस्तो लगानीका सम्बन्धमा बैंकहरुले प्रत्येक महिनाको रिपोर्ट राष्ट्र बैंकमा अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।

छुटाउनु भयो कि ?