Madhyabindu News App
समाज

सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा कांग्रेसको ध्यानाकर्षण

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा नेपाली काँग्रेसले ध्यानाकर्षण पत्र बुझाएको छ ।

काँग्रेस जिल्ला सचिव झलक नेपाल, चौतारा नगर कमिटीका सचिव भगवान खड्का लगायत काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाईएको हो ।

नेपाली काँग्रेस, चौतारा नगर कमिटीले कर्मचारी नियुक्तिमा नातावाद हावी भएको लगायत विभिन्न आरोपसहित आइतबार नगरपालिकाका मेयर अमानसिं तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको ‘कृषि, पर्यटन, उद्योग र व्यापार’ को नारा समेत नारामा मात्रै सीमित बनेको काँग्रेस चौतारा नगर कमिटीका सभापति इन्द्रलोचन धितालले बताए ।

नगरपालिकाको विगतदेखि वर्तमानसम्म भए गरेका विकास निर्माण कार्यहरू सन्तोषजनक नरहेकोले यसबाट आम नागरिकहरूमा पनि वितृष्ण उब्जिसकेको बताउँदै नगर सभापति धितालले इमान्दारिता, नैतिकता, सदाचारिता, जन उत्तरदायित्व स्थानीय सरकारको मुख्य आधारलाई आत्मासाथ गर्नुपर्ने बताए ।

गिटी बालुवाको करमा नगरवासीहरूलाई ७० प्रतिशत छुट र क्रसर व्यवसायहरूबाट पनि नगरवासीहरूलाई विशेष छुटको व्यवस्था मिलाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । साथै घर निर्माणको नक्सा नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाउनु पर्ने र घर अभिलेखीकरण समेत निशुल्क हुनुपर्ने कांग्रेसले माग गरेको छ भने पञ्जिकरण सम्बन्धी हरेक शुल्कलाई निशुल्क गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

कांग्रेसले उठाएको मुद्दाहरूमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै मेयर अमानसिं तामाङले आफुले यो बिषय नगरको बैठकमा पेश गरेर छलफल गर्ने जानकारि दिए ।

छुटाउनु भयो कि ?