
दहमा डुबेको अवस्थामा बालक मृत फेला
सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिकाको वडा ६ र ७ को सीमानामा पर्ने मलती खोलामा बालुवा निकाल्न खनिएको खाडलको दहमा डुबेर एक बालकको ज्यान गएको छ ।
बाह्रबिसे नगरकै स्थानीय काले तामाङका ११ वर्षका छोरा सोनामको मलती खोलामा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको क्रसरस्थलभन्दा केही पर नदीजन्य पदार्थ निकाल्न खनिएको ठाउँमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतकाअनुसार सानिमाको घरमा बस्दै आएका सोनाम सोमबार बिहानदेखि नै घरबाट हराएका थिए । ‘घरबाट एकाएक हराएका उनी त्यही दिन बेलुकी खोलामा डुबेको अवस्थामा शव फेला पर्यौं, स्थानीय र अन्य स्रोतसँग सोधपुछको आधारमा त्यही खाडलमा डुबेर मृत्यु भएको प्रारम्भिक अनुमान छ,’ उनले भने ।
घटनास्थलमा पुगेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानले बालकको शव सनाखत गरेर स्थलगत रुपमा आवश्यक अनुसन्धान सुरु गरिएको उल्लेख गरे । ‘घटनास्थलमा थप आवश्यक अनुसन्धान भइरहेको छ, साह्रै दुखद घटना भएको छ,’ उनले भने ।