
काठमाडौं -३ मा आफ्नै भाइ रविलाई उछिन्दै हरिशरणको उम्मेदवारी
काठमाडौं – पत्रकारिता छोडेर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आफ्नो राजनीतिक अभियानबारे घोषणा गर्दैछन्।
रविले उक्त घोषणा गर्नुको अघिल्लो दिन उनका दाइ तथा पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले भने स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा मार्फत सार्वजनिक गरिएको प्रेस नोटमा हरिशरणले भनेका छन् ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निवर्नचन क्षेत्र कायम गरिनेछ ।
मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ हरिशरणले घोषणा गरेका छन, ‘सम्भवत काठमाडौं- १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ ।’
‘काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्नेछ,’ हरिशरणले भनेका छन् ।
दाजुभाइ एकै क्षेत्रमा भिड्न लागेको हो कि भन्ने पत्रकारको जिज्ञासामा रविले भने दाइले आफ्ना लागि त्यो क्षेत्र बुक गरिदिएको हुन सक्ने बताए।
‘मैले निर्वाचन क्षेत्र छानेको छैन’, रविले हाँस्दै भने, ‘दाइले अरू आउलान् भनेर मेरा लागि बुक गरिदिनु भएको होला।”दाइ आफ्नो ढंगले अघि बढ्नु भएको छ। दाइको अलग व्यक्तित्व छ। अझ उहाँको नगरकोट र काभ्रे क्षेत्रमा प्रभाव पनि छ’, रविले भने ।
‘दाइको मेरो दुबैको मतदाता नामावली काठमाडौं क्षेत्र नं ३ मै छ’, उनले भने, ‘निर्वाचनमा उम्मेदवारी दर्ता अघिसम्म त के ठेगान हुन्छ र। तर हामी सल्लाह गर्दैछौँ, गर्छौं।’