
उडान बन्दको कार्यक्रम फिर्ता, बुधबार बाट नियमित उडान हुने
काठमाडौं – नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसंगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।
वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण बुधबार उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताए।
‘वार्तामा सहज वातावरण बनेको छ। उडान बन्दको कार्यक्रम फिर्ता भएको छ। अब बुधबार उडान बन्द हुँदैन,’ उनले भने, ‘हामी वार्तामा नै छौं। पूर्ण सहमति भएको छैन। भोलि १२ बजे पुनः बस्ने सहमतिका साथ आजको छलफल सकियो।’
मंगलबार राती प्राधिकरण केन्द्रीय कार्यालय बबरमहलमा भइरहेको वार्ता सहमति नजिक पुगेपछि दिउँसो १ः३० देखि बन्द गरिएको बुकिङ राती ११ बजेबाट खुलेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।