
काठमाडौँको पाँच ठाउँमा देखियो हैजा
काठमाडौं – काठमाडौँ उपत्यकाको पाँच ठाउँमा हैजा भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँको बागबजार, डिल्ली बजार, कपन, बोहोराटार र ललितपुर सानेपामा हैजा भेटिएको हो।
‘बर्खायाममा फोहोर पानी कहाँ-कहाँ बगेको छ थाहा पाउन सकिने कुरा भएन,’इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.हेमन्तचन्द्र ओझाले भने, ‘अहिलेसम्म काठमाडौँका चार र ललितपुरको एक ठाउँमा हैजा देखिएको छ। पाँच जना बिरामी उपचाररत छन्।’ सबै बिरामीको उपचार टेकु अस्पतालमा भइरहेको छ।
हैजा भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण हो। ओझाले यसपटक हैजाको पहिलो बिरामी बाग बजार क्षेत्रमा भेटिएको जानकारी दिए। मुख्यगरी खानेपानी फोहोर/प्रदुषित रहेका क्षेत्रमा हैजाको संक्रमण देखिएको छ।
उनले हैजाको संक्रमण देखिएकाहरूले खानेपानीको रुपमा इनार र ट्बुलेको पानी नउमाली प्रयोग गरेको पनि जानकारी दिए।