
‘माधव नेपालको पार्टी तीतेपातीको झारजस्तै हो’ – केपी ओली
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी तीतेपातीको झारजस्तै भएको बताएका छन्।
राजधानीमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै उनले माधव नेपालको पार्टी अर्को भदौसम्म नरहने दाबी समेत गरेका छन्।
‘तीतेपातीको बोट तीन महिनामा बुढो हुन्छ। ‘एस’ पार्टी भन्ने छ नि आजकल। पोहोर भदौमा जन्मियो। अहिले भदौमा बैंस आयो। अर्को भदौ पुग्दैन। तीतेपाटीको झारजस्तै हो,’ उनले भने।
कार्यक्रममा पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेविरुद्ध भ्रम फैलाउनेहरुविरुद्ध अरिंगाल भएर लाग्न समेत एमाले युवाहरुलाई निर्देशन दिएका छन्।
‘अरिंगालजस्तो प्रचारवाजीमा लाग्नुपर्छ भन्दा अरिंगाल लगाउने कुरा गर्यो भन्छन्,’ उनले भने, ‘लगाउने नै हो। हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउन हुन्छ, खन्याउन हुन्छ। बारुला भएर लाग्न हुन्छ। अनि हामी अरिंगाल बन्न नहुने?’
उनले गठबन्धनमा आबद्ध दलहरु उमेरअनुसार बुढो भएको बताए। उनले आफू नेतृत्वको नेकपा एमाले भने युवा पार्टी भएको दाबी गरे।