एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन केन्द्रीय कार्यालयमा हुने

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशन सम्पन्न, राष्ट्रपति सी को तेस्रो कार्यकाल सुरु
काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय भेला (अधिवेशन) शनिबार सम्पन्न भएको छ । भेलाले पार्टी र देशमा सी जिनपिङ तेस्रो कार्यकालको लागी फेरी नेतृत्वमा पुगेका छन् ।
प्रत्येक पाँच वर्षमा आयोजित हुने चिनियाँ सत्तारुढ दलको राष्ट्रिय कंग्रेसको पछिल्लो संस्करणले सीलाई थप शक्ति दिएको र उनी अब माओत्सेतुङपछिको बलियो नेता बनेका छन् ।
बेइजिङमा एक हप्ता चलेको भेलाको अन्त्यमा चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वमा रहने केन्द्रीय समिति सदस्यको चयन भएको छ । सीलगायत सम्पूर्ण नेतृत्वको नाम आइतबार केन्द्रीय समितिको पहिलो बैठकपछि हुने पत्रकार सम्मेलनमा सार्वजनिक गरिने कार्यक्रम रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
यसपटक २०५ सदस्यीय केन्द्रीय समितिको सूचीमा शक्तिशाली स्थायी समितिका सातमध्ये चारजनाको नाम समावेश छैन । चारजनामा वर्तमान प्रधानमन्त्री ली खछ्याङ, वाङ याङ (जसलाई अधिवेशनअघि लीका उत्तराधिकारीको रूपमा हेरिएको थियो), हान झेङ र ली झान्सु पनि बाहिरीएका छन् ।
नयाँ केन्द्रीय समितिको पहिलो बैठकको केही समयपछि नै सीलाई आइतबार महासचिवको रूपमा अनावरण गर्ने निश्चित रहेको बताइँदै छ । महासचिवमा तेस्रोपटक चयन भएसँगै सीलाई चीनको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि यात्रा गर्न अनुमति मिल्नेछ । त्यसको घोषणा भने मार्चमा सरकारको वार्षिक विधायिकी सत्रमा घोषणा हुनेछ । सीले सन् २०१८ मा राष्ट्रपतिको दुई कार्यकालको सीमालाई खारेज गरेसँगै उनी आजीवन शक्तिमा रहने मार्ग प्रशस्त भएको थियो ।