
जसले बाँदर भगाउँछ उसैलाई भोट दिन्छौं
काठमाडौं – बागलुङको जैमिनी नगरपालिका–२ दमेक बडडाँडाका स्थानीय वासिन्दाले बाँदर भगाउनेलाई भोट दिने बताएका छन् ।
किसानहरुको हरेक बालीलाई बाँदरले सखाप पार्ने हुँदा स्थानीयले उम्मेदवारले भोट माग्नुपूर्व बाँदर नियन्त्रणको दीगो समाधानको माग गर्ने गरेका छन् ।
हरेक दिन बाँदरले दुख दिने हुँदा धपाउनकालागी स्थानीय खेतबारीमा जाने हुँदा भोट माग्न जाने उम्मेदवारहरुले एकै पटक घरकै सदस्य भेट्नै पाउँदैनन्। आलोपालो गरेर परिवारका सदस्य विहान र दिउँसो खेतबारीमा जाने हुँदा परिवारका सदस्य एकै पटक भेटिन रातै पर्नुपर्ने स्थानियको वाध्यता छ ।
पछिल्लो समय बाँदरले मान्छेलाई बेवास्ता गर्दै बालीमा पस्ने गरेको दमेकका किसान शेरबहादुर परियारले बताए । बाँदरको समस्या जैमिनीमा मात्रै होईन् । बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘क’मा नेकपा एमालेको तर्फबाट उम्मेद्वार हिराबहादुर केसीले पनि ग्रामिण क्षेत्रमा बाँदर नियन्त्रण गरिदिन सर्वसाधारणले अनुरोध गरेको बताए ।
बाँदरले बसोबास नै उठाउने अवस्था आएको भन्दै जैमिनी नगरपालिका–१ कुश्मीशेराकी गंगा शर्माले बाँदर नियन्त्रण गर्ने योजना ल्याउने उम्मेद्वारले किसानको मत पाउने बताए ।
बाँदरका लागि वनमा आहाराको व्यवस्था गर्न सके केही हदसम्म नियन्त्रण गर्न सकिने काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले बताए । उनले आफ्नो वडामा रहेका सामुदायीक वनहरुमा फलफुलका बिरुवा रोप्ने अभियाननै चलाएका छन् । ‘‘वनमा नै खाना र पानी पाए बाँदर गाउँमा आउँदैन, हामीले बाँदर पनि बाच्न पाउनेगरी नयाँ तरिकाबाट सोच्नुपर्छ ।’ उनले भने ।