

कांग्रेस कार्यसम्पादन समिति बैठक आइतबार बिहान बस्ने
काठमाडौं – नेपाली कांग्रेसले आइतबार बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइसकेका छन्। प्रधानमन्त्रीले आगामी चैत ट गते सोमबार विश्वासको मत लिने भएका छन्।
राष्ट्रपतिको निर्वाचनमा दाहालले सात दलीय गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाकारण सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।