
प्रतिनिधी सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षमा काँग्रेस एमालेको कुर्सी साटफेर
काठमाडौं – प्रतिनिधी सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षमा बस्ने दलहरुको समिकरण फेरिएको छ । आइतबारदेखी नेपाली कांग्रेस सत्तापक्ष बनेको छ भने नेकपा एमाले प्रतिपक्षी बेन्चमा पुगेको छ ।
४ मंसिरमा सम्पन्न चुनावपछिको शपथ ग्रहणका क्रममा ७ पुसको प्रतिनिधिसभामा कांग्रेस सत्तापक्षको बेन्चमा बसेको थियो। तर १० पुसमा एमाले र माओवादी मिलेर सरकार बनाएपछि कांग्रेस प्रतिपक्षी बेन्चमा पुग्यो।
प्रतिपक्षी बेन्चबाटै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसले यसबीचमा सत्तापक्षकै बेन्चमा राख्न निकै मेहनत गर्नुपरेको छ।
दाहाललाई एमाले र राप्रपासमेतको समीकरणबाट फुत्काएर कांग्रेसले आफू नेतृत्वको गठबन्धनमा सामेल गराएको कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराइसकेको छ।
संसद्मा सत्ता पक्षमा बस्ने र सरकारमा सामेल हुने कांग्रेसले निर्णय गरिसकेको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी निर्णय गरेअनुसार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरू सत्ता पक्षमा बसेका छन्।
एमालेले विपक्षी दलको मान्यता माग गर्दै संघीय संसद् सचिवालयलाई पत्र लेखिसकेको छ। महासचिव शंकर पोखरेलले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सम्बोधन गर्दै पत्र लेखेर विपक्षी दलको मान्यता दिन माग गरेका हुन्। तर प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन भने बाँकी छ।