पत्रपत्रिका

१४ वर्षपछि स्ववियु निर्वाचन, मतदान ६० प्रतिशत मात्रै

चुनाव भएका ४७ आंगिक क्याम्पसमध्ये १४ को नतिजा आयो, ८ मा अनेरास्ववियु, ५ मा नेविसंघ र १ मा अखिल क्रान्तिकारी

Madhyabindu Online


A A- A+

काठमाडौँ – १४ वर्षपछि आइतबार देशभर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको छ । छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भए पनि विद्यार्थीको सहभागिता पहिलेजस्तो उत्साहजनक नदेखिएको क्याम्पस प्रमुखहरूले जनाएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार समग्रमा ६० प्रतिशत हाराहारी विद्यार्थीले मत खसालेको दाबी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमध्ये ४७ र सम्बन्धनप्राप्त अन्य क्याम्पसमा आइतबार स्ववियु नेतृत्व छान्न मतदान भएको हो । धेरै विद्यार्थी अध्ययन गर्ने काठमाडौंको शंकरदेव क्याम्पसमा साढे ३७ प्रतिशत विद्यार्थीले मात्रै मतदान गरेका छन् । ८ हजार ४ सय ८८ मतदातामध्ये ३ हजार १ सय ७७ विद्यार्थीले मात्र मत हालेको क्याम्पस प्रमुख केशवराज जोशीले जानकारी दिए । ‘स्ववियुप्रति विद्यार्थीको चासो र आकर्षण घट्दै गएको छ, राजनीतिमा पनि वितृष्णा देखिन्छ,’ उनले भने, ‘कतिपय विद्यार्थी परीक्षाको तयारीमा रहेकाले पनि मतदानमा सहभागी नभएको हुन सक्छ ।’

५ हजार ६ सय १ मतदाता रहेको पद्मकन्या बहुमुखी क्याम्पसमा १ हजार ८ सय १७ मत मात्रै खसेको छ । महेन्द्ररत्न क्याम्पस ताहाचलमा २ हजार ४१ मतदाता रहेकामा ८ सय ७८ विद्यार्थी मात्रै मतदानमा सहभागी भए । विद्युतीय मतदान गरिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमै उत्साहजनक सहभागिता देखिएन । त्यहाँ ३ हजार ४ सय २६ मध्ये २ हजार २ सय ७६ जना अर्थात् ६६ प्रतिशतले मत हालेको निर्वाचन समितिले जनाएको छ । काठमाडौंकै पब्लिक युथ क्याम्पसमा ४२ प्रतिशत भोट मात्रै खसेको छ । त्यहाँ ४ हजार १ सय ३९ मतदाता रहेकामा १ हजार ७ सय ५६ मात्रै मत खसेको क्याम्पस प्रमुख बलराम थापाले जानकारी दिए । ‘भर्ना भए पनि कक्षामा नआउने, बीचैमा कक्षा छाड्ने विद्यार्थीको संख्या धेरै छ, त्यस्ता विद्यार्थी स्ववियु निर्वाचनमा भाग लिन आएनन्,’ उनले भने, ‘राजनीतिप्रतिको वितृष्णाले पनि मतदाता घटेको हुन सक्छ ।’

जनप्रशासन क्याम्पसमा भने तुलनात्मक रूपमा धेरै विद्यार्थी सहभागी भएका छन् । १ हजार २ सय २५ मतदातामध्ये ६७ प्रतिशत अर्थात् ८ सय २६ जनाले मतदान गरेको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख हरिभक्त शाहीले धेरै विद्यार्थी कर्मचारी भएको र उनीहरूमध्ये अधिकांश मतदानमा सहभागी नभएको बताए । भक्तपुरको सानोठिमी क्याम्पसमा १ हजार ३ सय १७ मध्ये ७ सय ९५ जनाले मतदान गरे । भक्तपुर क्याम्पसमा ४ हजार मतदाता रहेकामा २ सय २३ मत मात्रै खस्यो । नेपाल ल क्याम्पसका २ हजार २ सय ४६ मतदातामध्ये १ हजार २ सय ६६ जनाले मात्र मतदान गरे ।

विगतमा स्ववियुको निर्वाचनमा ८० प्रतिशतसम्म मत खस्ने गरेको प्राध्यापक केशव पौडेलले जानकारी दिए । ‘विगतजस्तो माहोल निर्वाचनको तयारीदेखि नै नदेखिएकाले मतदानमा सहभागीको संख्या घटेको हुन सक्छ,’ उनले भने । क्याम्पस प्रमुखहरूले पनि राजनीतिमा चासो घटेकाले मतदानमा उत्साह घटेको टिप्पणी गरेका छन् ।

१० हजारभन्दा बढी विद्यार्थी रहेका पोखराको पृथ्वीनारायण र वीरगन्जको ठाकुरराम क्याम्पसमा आइतबार मतदान नै हुन सकेन । पोखराका पश्चिमाञ्चल क्याम्पससहित ४ र चितवनका वीरेन्द्रसहित ३ क्याम्पसमा पनि निर्वाचन हुन सकेन । धेरै विद्यार्थी पढ्ने काठमाडौंका रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, अमृत साइन्स कलेज (अस्कल), पाटन बहुमुखीलगायत ७ आंगिक क्याम्पसमा निर्वाचन भएन । केही क्याम्पसमा निर्वाचनको अर्को मिति घोषणा गरिएको छ, केहीमा अनिश्चित छ ।

त्रिवि कार्यकारी परिषद्ले चैत ५ का लागि निर्वाचन मिति तोकेको थियो । निर्वाचन स्थगन भएका क्याम्पसले १ महिनाभित्र चुनाव गराउनुपर्ने व्यवस्था निर्वाचन निर्देशिकामा छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयले भने आइतबार स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा चैत १२ अगावै चुनाव गराउन निर्देशन दिएको छ । १२ गतेदेखि परीक्षा सञ्चालन गर्ने कार्यतालिका रहेकाले त्यसअघि नै स्ववियु चयन गर्न आग्रह गरिएको हो । उपकुलपति धर्मकान्त बाँस्कोटाले स्ववियुलाई हारजित नसम्झी आपसी समझदारीमा विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न आग्रह गरेका छन् ।

देशभरका ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार विद्यार्थी मतदाता छन् । काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा साढे ६६ हजार र उपत्यका बाहिरका आंगिकमा साढे ९५ हजार विद्यार्थी निर्वाचनमा सहभागी हुने गरी मतदाता नामावली सार्वजनिक भएको थियो । त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांशमा स्ववियु निर्वाचन भएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी अध्ययन गर्छन् । तीबाहेकका कतिपय निजी क्याम्पसमा समेत स्ववियु गठन हुने गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमितिको संख्या यकिन हुने व्यवस्था गरिएको छ । प्रत्येक क्याम्पसमा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । दुई सयसम्म विद्यार्थी भए ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था छ ।

मतदान गरिएका क्याम्पसमा आइतबार साँझै मतगणना सुरु गरिएको छ । क्याम्पसको नतिजा धमाधम आइरहेको छ । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका उम्मेदवार श्यामराज ओझा स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । उनले ९ सय ३२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश बिष्टले ६ सय ३१ मत प्राप्त गरेका छन् । सचिवमा भने अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत थापाथली क्याम्पसमा नेविसंघका पुष्करविक्रम शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल विजयी भए । पुल्चोक इन्जिनियिरिङ क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल अध्यक्ष र सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान चुनिएका छन् । धरानस्थित पूर्वाञ्चल क्याम्पसको अध्यक्षमा नेविसंघका नवीन श्रेष्ठ र सचिवमा समाजवादी विद्यार्थी युनियनका राजनकुमार यादव विजयी भएका छन् । यी क्याम्पसमा विद्युतीय मतदान गरिएको थियो । विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा अनेरास्ववियुका निर्मलप्रसाद गजुरेल स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।

लमजुङ क्याम्पस, गौरादह कृषि क्याम्पस, विराटनगरका स्नातकोत्तर, नर्सिङ क्याम्पस, वीरगन्ज नर्सिङ, ललितकला कीर्तिपुर र धनकुटा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । पाल्पाको त्रिभुवन क्याम्पस र तेह्रथुम बहुमुखी क्याम्पसमा नेवि संघका उम्मेदवार विजयी भएका छन् । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको निर्वाचन समितिले जनाएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

छुटाउनु भयो कि ?