मुख्य खबर​

प्रधानमन्त्री दाहाल वैशाख पहिलो साता भारत जाँदै

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख पहिलो साता भारतको राजकीय भ्रमण गर्ने गरी तयारी सुरु भएको छ ।

भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका वेला राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेबारे छलफल भएको थियो । भ्रमणबारे परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयहरूसँग राय मागेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आन्तरिक गृहकार्य भइरहेको बताइन् । प्रधानमन्त्रीले भारतमा उठाउनुपर्ने एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरूसँग परराष्ट्रले समन्वय थालेको छ ।

प्रधानमन्त्री दाहालले पनि भारत भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्री भएलगत्तै दाहाललाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए । त्यसपछि दाहालले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए ।

प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी मोदीले पठाएको बधाई सन्देश १५ पुसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठ ०७९ मा लुम्बिनी भ्रमणमा आउँदा उनले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।

दाहालले ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका उनले नड्डासँगै भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, भारतीय विदेशसचिव विनयमोहन क्वात्रालगायतका अधिकारीसँग भेटवार्ता गरेका थिए ।

छुटाउनु भयो कि ?