
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई आपराधिक अभियोग मुद्दा
काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ ।
म्यानहटन ग्रान्ड ज्युरीले ट्रम्पविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय गरेको हो । अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो ।
पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोगमा ज्युरीले अनुसन्धान गरेको थियो । अभियोगबारे थप विवरण खुलिनसकेको बीबीसीले जनाएको छ ।
सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्ने अनुमान छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा उपस्थित हुने बिबिसी खबरमा उल्लेख छ ।