आर्थिक

दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

Madhyabindu Online


A A- A+

काठमाडौं – अमेरिकाको चौधौँ ठूलो बैंक फस्ट रिपब्लिक बैंक टाट पल्टिएको छ । उक्त बैंकलाई अमेरिकी नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोेरेसनले टाट पल्टिएको घोषणा गरेको हो ।

अमेरिकाका सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएको दुई महिना नबित्दै अर्को ठूलो बैंकसमेत टाट पल्टिएको हो । फस्ट रिपब्लिक बैंक टाट पल्टिएको घोषणा भएपछि विश्वव्यापी रूपमा तरंग फैलिएको छ ।

व्यवस्थापन बिग्रँदै जाँदा बैंक बचाउने अनेकौँ प्रयास विफल बनेपछि संकटग्रस्त बैंकलाई जेपी मोर्गन चेस एन्ड कम्पनीले अधिग्रहण गरेको छ । मोर्गनले बैंकको १७३ अर्ब डलर ऋणको पोर्टफोलियो, ३० अर्ब डलरको बचतपत्रका साथै ९२ अर्ब डलरको बैंक डिपोजिट अधिग्रहण गरेको हो । डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसनका अनुसार जेपी मोर्गनले सुरक्षण नभएका र डिपोजिटसहितका सबै धनमाल अधिग्रहण गर्नेछ ।

फस्ट रिपब्लिक बैंकले कुनै पनि प्रभावकारी उपाय अपनाउन सकेको थिएन । गत हप्ता मात्रै उक्त बैंकले पहिलो त्रैमासमा एक सय अर्ब डलर घाटा व्यहोर्नुपरेको घोषणा गरेको थियो । यो घाटाले गर्दा बैंकको सेयरमा गिरावटसमेत आएको थियो ।

बैंक टाट पल्टिएपछि फेडेरल सरकारले एफडिआइसीसँग छलफल गरिरहेको छ । एफडिआइसीले बैंकका ग्राहकको डिपोजिटलाई ग्यारेन्टी दिने गर्छ । त्यसपछि अमेरिकी राज्यकोष विभागले गत हप्ता मात्रै ६ वटा बैंकसँग कुराकानी गर्दै फस्ट रिपब्लिक बैंकको सम्पत्तिमा उनीहरूको रुचिबारे बुझेको थियो ।

फस्ट रिपब्लिक बैंक अमेरिकाको चौधौँ ठूलो बैंक हो । बैंकको सम्पत्ति दुई सय ३३ अर्ब अमेरिकी डलर छ । तर, यही बैंक असफल प्रमाणित भएको छ । यसअघि सन् २००८ मा लेहमन ब्रदर्स बैंक टाट पल्टिएको थियो ।

 आठ राज्य, ८४ शाखा
अमेरिकाका आठ राज्यमा फस्ट रिपब्लिक बैंकका ८४ वटा कार्यालय जेपी मोर्गन चेस बैंकको शाखाका रूपमा पुनः खुल्नेछन् । यसपछि फस्ट रिपब्लिक बैंकका ग्राहक स्वतः जेपी मोर्गनका डिपोजिटर बन्नेछन् । अर्थात्, फस्ट रिपब्लिक बैंकका ग्राहकको पैसा सुरक्षित हुनेछ ।

रिपब्लिकका ग्राहकको क्षति व्यहोर्न अमेरिकी नियामक निकायको इस्योरेन्स फन्डले १३ अर्ब डलर भुक्तानी गर्नुपर्ने हुन्छ । जेपी मोर्गन र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिंगल फेमिली र व्यापारिक ऋणको घाटा सँगसँगै रिकभरीलाई पनि साझा गर्नेछन् । जेपी मोर्गनले फस्ट रिपब्लिकको सम्पूर्ण सम्पत्ति अधिग्रहण गर्ने बताइएको छ ।

 रिपब्लिकसँग कति सम्पत्ति ?
१३ अप्रिलसम्म फस्ट रिपब्लिक बैंकको कुल सम्पत्ति २३० अर्ब डलरभन्दा बढी थियो । यस्तै, जम्मा भएको रकम १०४ अर्ब डलर थियो । जेपी मोर्गनबाहेक रिपब्लिक बैंक अधिग्रहण गर्न बोलकबोल गर्ने सिटिजन फाइनान्सियल ग्रुप, पिएनसी फाइनान्सियल सर्भिसेज ग्रुप, युएस बैंककर्प र बैंक अफ अमेरिका सहभागी थिए ।

 सेयरमा ओरालो यात्रा
सन् १९८५ मा स्थापित फस्ट रिपब्लिक बैंक अमेरिकाको १४औँ ठूलो बैंक थियो । गत मार्चमा उक्त बैंकको सेयर ९७ प्रतिशतसम्म गिरावट आयो । मार्चमा प्रतिकित्ता एक सय २२ डलर रहेको सेयर अहिले ३.५१ डलरमा झरेको छ ।

 किन डुब्यो ?
अमेरिकाकै सिलिकन भ्याली र सिग्नेचर बैंकझैँ फस्ट रिपब्लिक बैंक डुब्नुको कारण तरलता व्यवस्थापन रहेको बुझिएको छ । फेडेरल रिजर्भले महँगीसँग जुझ्न ब्याजदरमा तीव्र बढोत्तरी गरेको छ । यसको प्रत्यक्ष प्रभाव अमेरिकाका बैंकिङ क्षेत्रमा परेको देखिन्छ । बैंकका अधिकांश ग्राहकले बिमा नगरिएको रकम निकालेका थिए । अमेरिकामा अढाई लाखसम्मको रकम एफडिआइसीमार्फत बिमा हुने प्रावधान छ ।

गत हप्ता रिपब्लिक बैंकले सूचना जारी गर्दै सन् २०२३ को पहिलो त्रैमासमा ग्राहकले १०२ अर्ब डलर निकालेको बताएको थियो । सन् ०२२ को अन्त्यतिर बैंकको डिपोजिट १७६ अर्ब डलरबराबर थियो । अर्थात्, ग्राहकले डिपोजिटको आधाभन्दा बढी रकम निकालेका थिए । यही क्रममा बैंकले ९२ अर्ब डलर ऋणसमेत लियो । तर, यति हुँदाहुँदै पनि सरकारले अधिग्रहण गर्नेबाहेक कुनै उपाय देखिएन । फस्ट रिपब्लिकका अधिकांश ग्राहक स्टार्टअप इन्डस्ट्रीका छन् ।

त्यसो त रिपब्लिक बैंक पछिल्ला केही वर्षमा कैयौँपटक खरिद–बिक्री भएको छ । सन् २००७ मा मेरिल लिन्च एन्ड कम्पनीले १.८ अर्ब डलरमा अधिग्रहण ग¥यो र अधिग्रहणको एक वर्षपछि बैंकको स्वामित्व बैंक अफ अमेरिकामा आयो । यस्तै, सन् २०१० मा १८६ अर्ब डलरमा जनरल एटलान्टिक र कोलोनी क्यापिटलसहित अन्य इन्भेस्टमेन्ट फर्मले यसलाई खरिद गरी पब्लिक गरे । नयाँपत्रिका दैनिक बाट ।

छुटाउनु भयो कि ?