
एसिसी प्रिमियरको उपाधि उचाल्दै एसिया कपमा नेपाल
काठमाडौं – नेपाल एसिसी प्रिमियर कप क्रिकेटको उपाधि उचाल्दै एसिया कपमा छनोट भएको छ। मंगलबार सम्पन्न फाइनल खेलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट हुन सफल भएको हो।
नेपाल पहिलोपटक एसिया कपका लागि छनोट भएको छ। ऐतिहासिक सफलतासँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा लागि स्थान सुरक्षित गरेको छ।
हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेट गुमाउँदै एक सय ६ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो।
युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिएका थिए।
त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुल्सन झा र सोमपाल कामीले समान एक–एक विकेट लिएका थिए । युएईलाई पराजित गरेसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने लक्ष्य पूरा गरेको छ।