
‘कांग्रेसमा आबद्ध कोही कुहियो भने त्यसलाई निकालेर फाल्ने हो’ – गगन थापा
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताएका छन्।
प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बुधबार बोल्दै थापाले कुनै पनि आरोप लागेपछि निलम्बन गरिनुपर्ने बताएका हुन्।
‘शरणार्थी प्रकरणजस्ता विभिन्न प्रकरण आइरहेका छन्। हाम्रो पार्टीका नेता पनि मुछिएका छन्। निलम्बन गर्ने कि नगर्ने बहस चलिरहेको छ। आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो,’थापाले भने, ‘यो प्रकरणमा अनुसन्धान जरैसम्म पुग्नुपर्छ। जो-जो मुछिन्छ, उसलाई कारबाही गर्नुपर्छ।’
‘केही साथीहरूले हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा नै छैन भनिरहेका छन्। परम्पराका नाममा किन गलत कुरा बोकिरहने? तोड्ने हो,’ उनले भने।
उनले पार्टी भ्रष्ट नहुने आबद्ध व्यक्ति भ्रष्ट हुने भएकोले पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने बताए।
‘कांग्रेसमा आबद्ध कोही कुहियो भने त्यसलाई निकालेर फाल्ने हो, अनि बल्ल पार्टी चल्छ,’ थापाले भने, ‘आरोपितलाई पार्टीबाट तुरून्त निलम्बन गरेर अलग राख्नुपर्छ र अनुसन्धान यो प्रकरणको जरैसम्म पुग्नुपर्छ।’