
बिहे नगरी ‘बिए’ पास गर्ने किशोरीलाई एक लाख
काठमाडौं – सिन्धुलीको मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप एक लाख प्रदान गर्न थालेको छ। मरिणका स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गर्ने स्थानिय विद्यार्थी यसका लाभग्राही हुन्।
विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन्।
उनका अनुसार गाउँपालिकाको शिक्षा सुधार कार्यक्रम अन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बालविवाह न्यूनीकरण हुनेछ। स्थानीय विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र किशोरी, महिलालाई उच्चशिक्षा पढ्नका लागि प्रोत्साहन हुनेछ।
सोही कार्यक्रम अन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँचजना किशोरीलाई जनही एक लाख हस्तान्तरण ग¥यो। मरिण–७ का चारजना र वडा नं ६ की एकजना किशोरीलाई उक्त रकम प्रदान गरिएको हो।