फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

विपक्षीको अवरोधले बागमती प्रदेशसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित
काठमाडौं – विपक्षी दलहरुको निरन्तर अवरोधपछि बागमती प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
यसअघि गएको बिहीबार पनि विपक्षी दलहरुको अवरोधका कारण प्रदेशसभा बैठक आइतबार दिउँसो २ बजे बस्नेगरी स्थगित गरिएको थियो ।
विपक्षीको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले अवरोध गरेपछि आइतबारको बैठक पनि सञ्चालन हुन नसकेको हो ।
२ बजेका लागि बोलाइएको आइतबारको बैठक २ घण्टा ढिलोगरी ४ बजे सुरु भएको थियो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरेका थिए । उनीहरुले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।
आइतबार साँझ साँढे पाँच बजे पुनः बस्नेगरी स्थगित गरिएको बैठक बस्न नसकेपछि सोमबार बिहान ११ बजे आव्हान गरेको संसद् सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।
प्रतिपक्षी दल एमाले र राप्रपाले बजेट सत्तापक्षका सांसद र मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको आरोप लगाउँदै पुनः लेखन गर्नुपर्ने माग गरेका छन् ।
आइतबार नै एमालेले पत्रकार सम्मेलन गर्दै बागमती सरकारको बजेट संशोधन गर्न ११ बुँदे माग सार्वजनिक गरेको छ ।