बागमती प्रदेश

मनहरी गाउँपालिकाका १९ जना प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

Madhyabindu Online


A A- A+

काठमाडौं – मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन्।

मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले सामुहिक राजिनामा दिएका हुन्।

प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ।

विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ।राजिनामा दिएका मध्ये एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन्।

यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए। उनले शिक्षक महासङ्घका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे।

“अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ। प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ। उहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ ।” अध्यक्ष कालाखेतीले स्पष्ट पारे।

छुटाउनु भयो कि ?