फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

भिभिआइपीको उपचारका लागि विदेश जाने प्रचलनलाई रोक्छु – मन्त्री बस्नेत
काठमाडौं – सरकारले देशका अति विशिष्ट (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)ले अब स्वदेशमै उपचार गर्नुपर्ने निर्णय गरेको छ ।
उपचारका नाममा विदेशका अस्पताल धाउँदा बर्सेनि राज्यको करोडौँ रकम बाहिरिने अवस्था अन्त्य गर्न सरकारले स्वदेशमै उपचार गर्नुपर्ने निर्णय गरेको हो ।
‘जनताले अझै पनि सिटामोल नपाउने अवस्था छ, तर त्यही जनताले चुनेको नेता उपचारका लागि विदेशतिर जाने प्रचलन हामीकहाँ हाबी छ । यसलाई रोक्छु, बरु यहाँ उपचारका लागि चाहिने सबै संरचना व्यवस्थित र सुविधाजनक पार्छु ।’ आइतबार भएको मन्त्रीस्तरीय निर्णय सुनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भने ‘यसले नेपालमा डाक्टरलाई पनि हौसला दिन्छ, उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न पाउँछन् । यहाँ क्षमतावान् डाक्टर छन्, पहिले–पहिले विदेशका डाक्टरहरू पनि सिक्न यहाँ आउँथे, तर अहिले हामीले नेपालको स्वास्थ्य प्रणाली कमजोर बनायौँ, अब यसलाई सुधार गर्ने हो, उपचारमा कसैलाई विभेद हुँदैन ।’
मन्त्रीस्तरीय निर्णयबाट भिभिआइपी र भिआइपीको उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा आ–आफ्नो विधाका चर्चित विशेषज्ञ चिकित्सक रहेको १७ सदस्यीय उपचार समिति गठन गरिएको छ । जसमा प्रा.डा. भगवान कोइराला, प्रा.डा. रामकण्ठ माकाजू, प्रा.डा. मानबहादुर केसी, प्रा.डा. किरणप्रसाद श्रेष्ठ, प्रा.डा. रविमान श्रेष्ठ, प्रा.डा. शैली प्रधान, प्रा.डा. रत्नमणि गजुरेल, प्रा.डा. सुवास आचार्य, प्रा.डा. शशि शर्मा, प्रा.डा. रमेश चोखानी, सह प्रा.डा. ध्रुव गैरे, डा. सन्दुक रुइत, डा. भोला रिजाल, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकारी छन् ।
समितिले पहिलो चरणमा भिभिआइपी र भिआइपी उपचारकक्ष रहेको वीर अस्पतालमा उपचार सेवा सुरु गर्नेछ । क्रमशः अन्य अस्पतालमा पनि भिभिआइपी र भिआइपी उपचारकक्ष बनाउने सरकारको योजना छ । विज्ञ चिकित्सकको टोलीले पहिले नेपालमै उपचार गर्ने र सम्भव नभए मात्र विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयलाई विदेशमा उपचारका लागि सिफारिस गर्नेछ । तर, ती व्यक्तिले आफ्नो इच्छामा देशलाई आर्थिक भार पार्ने गरी भने उपचारका लागि विदेश जान पाउने छैनन् ।
भिभिआइपी र भिआइपीको उपचार हुने अस्पतालमा पनि सम्बन्धित निकायसँग छलफल गरिसकेको र सहज उपचार सेवाको प्रबन्ध मिलाइने मन्त्री बस्नेतले बताए ।’विशेषज्ञ चिकित्सक समितिले भिभिआइपी र भिआइपीको उपचारसम्बन्धी कार्यविधिसमेत तयार पार्नेछ । यो टोलीले उच्चपदस्थहरूलाई रोगको अवस्थाअनुसार वीर अस्पतालबाट अन्य सरकारी स्वास्थ्य संस्थामा रेफर पनि गर्न सक्नेछ । स्वदेशमा गरेको उपचार खर्च राज्यले नै व्यहोर्नेछ ।’
वीरका निर्देशक डा. सन्तोष पौडेलले भिभिआइपीको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको जानकारी दिए । विगतदेखि नै भिभिआइपी र भिआइपी उपचारकक्ष भए पनि उपचार गर्न नआएकोमा अब भने आउने विश्वास व्यक्त गरे । ‘वीरमा विगतदेखि नै भिभिआइपी र भिआइपी उपचारकक्ष छन् । हामी उपचारमा कुनै कुराको कमी हुन दिँदैनौँ,’ उनले भने, ‘तर, उहाँहरू आउनुपर्यो ।’