स्वास्थ्य

देशभर ह्वात्तै बढ्यो डेंगी – संक्रमितको संख्या १४ हजार नाघ्यो, १० जनाको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – पछिल्लो समय डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर ७५ जिल्लामा फैलिसकेको डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो ।

कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण भएको ईडीसीडीले जनाएको छ ।

हालसम्म डेंगीबाट नेपालमा १० जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट ५०० भन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन् ।

सबैभन्दा बढी डेंगी संक्रमित भएको सुनसरीमा संक्रमितको संख्या ७ हजार ४९५ पुगिसकेको छ । त्यसैगरी मोरङमा १ हजार ६७६, धादिङमा १ हजार ३२० र झापामा ९१३ र काठमाडौँमा १९९ जना संक्रमित भएको महाशाखाले जनाएको छ।

महाशाखाले सार्वजनिक गरेको प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै संक्रमितको संख्या १० हजार ८१३ पुगिसकेको छ ।त्यसैगरी वागमती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना संक्रमित भइसकेका छन् ।

छुटाउनु भयो कि ?