कला-साहित्य

कवि पीताम्बर भण्डारीको व्यक्तित्व–कृतित्व – चन्द्र प्रसाद न्यौपाने

Madhyabindu Online कवि- पिताम्बर भण्डारी


A A- A+

पीताम्बर भण्डारी सिन्धुपाल्चोक जिल्लाको किउलमा २००४ साल असार ११ गते खिलकुमारी भण्डारी र यमुनाथ भण्डारीबाट जन्मिएका हुन् । यिनको निधन ७० वर्षको उमेरमा २०७४ सालमा भएको थियो । कवि पीताम्बर भण्डारी सिन्धुपाल्चोकका एक उदाहरणीय कवि हुन् । वार्णिक छन्दमा राम्रो हात चलेका कवि पीताम्बर भण्डारीको साधना र निरन्तरता उदाहरणीय छ । सिन्धुपाल्चोक जिल्ला प्राकृतिक रूपमा आफै सुन्दर छ । कविको यहाँका छाङ्गाछहरा र पहरासित जुन प्रीति गाँसिएको छ, यो अमर छ । यहाँको सुन्दर भूमिमा जुगल हिमालको सौन्दर्यले अझ सामीप्यता गाँसेको छ । पाँचपोखरीको स्वच्छ जलले सिञ्चिएको सिन्धुपाल्चोकको आफ्नै पहिचान छ अनि आफ्नै अस्तित्व पनि । हेलम्बुको सौन्दर्य र त्यहाँको प्राकृतिक छटाले भोकतिर्खा नै मेटाएको छ, तब यस पवित्र भूमिमा साहित्य कलासङ्गीतले आश्रय पाएको छ ।

ऋषिमुनिहरूका तपोभूमि सिन्धुलाई साहित्यिक उर्वराभूमि भनेर पनि चिनाउन सकिन्छ । नेपाली साहित्यिक क्षेत्रमा देवीदत्त पराजुली, रेवतीरमण न्यौपाने, केदारमान व्यथितहरू आदिले झन् जिल्लाकै गौरव बढाएका हुन् । कविताकाव्य सिर्जना क्षेत्रमा पीताम्बर भण्डारीको पनि अग्रस्थानमा नाउँ आउँछ । यसै क्रममा सामान्य परिचय दिने हेतूले कवि भण्डारीको टीकाटिप्पणी गर्ने प्रयत्न गरेको हुँ ।

जुगल हिमालको काखमा अवस्थित हेलम्बु क्षेत्रको मनमोहक प्राकृतिक स्थल किउलमा यामुनाथ र खिलकुमारीले वि।सं। २००४ साल असार ११ गते एउटा बालकको जन्म दिन्छन् । त्यो बालक त्यसै सुन्दर भूमिमा आाफ्ना मातापिताको दुःख, पीडा, दर्द डाहाका साथै हुर्कंदै आउँछ । अनेक कठिनाइका पहाडहरू छिचल्दै छिचल्दै ऊ अझै दुःखको एउटा भयानक झाडीमा पुग्दछ । जहाँ हिंस्रक जन्तुहरूका विकराल विकराल आवाजहरूले भयभित बनाउँथ्यो । ऊ त्यसैबाट त्यसैको प्रतिरोधात्मक शक्तिको खोजीमा लाग्दछ र एउटा निकास भेट्टाउँछ– कविताको माध्यम । अनि कवितामा गुन्गुनाउन थाल्दछ । मनका वह सार्वजनिक गराउन थाल्दछ । मनिसलाई दुःख, पीडा, वैराग्यले जब समाउँछ, तब ऊ आत्मिक प्रेमबाट अलग्गिएर प्राकृतिक कवि बन्न पुग्दछ । प्राकृतिक कवि स्वभाविक हुन्छ । उसको हृदय कोमल हुन्छ ।

कवि पीताम्बर भण्डारी चाहेर कवि बनेका होइनन् । उनलाई आफैभित्र भएको पीडाले कवि बनायो । उनीभित्र कवित्वपन छ र उनी कविहृदयका हुन् । पीताम्बरले अनेक दुःख भोगे । घर पहिरोले लग्यो । राजनैतिक मुद्दा लाग्यो । पुलिसले पक्रिएर अनावश्यक दुःख दियो । फेरि घरमा आगो लाग्यो । यस्तै यस्तै दुःखहरू आइरहे । उनले आफ्नै कथालाई बडो मार्मिक रूपमा कवितामार्फत् प्रस्तुत गरेका छन् जुन हृदयविदारक लाग्छन् । समसामयिक राजनीति परिवेश र त्यसबाट उत्पन्न भएका उत्पीडन, चीत्कार, दुःख वेदनाका कथाहरूलाई उनले कवितामा उतारेका छन् । स्कुल कलेजमा अध्ययन नगरेका कवि भण्डारी सीधा, सरल स्वभावका थिए । विभिन्न साङ्गठनिक गतिविधिमा पनि संलग्न हुँदै आएका भण्डारी प्रगतिशील लेखक सङ्घ नेपाल, सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष पनि भए । त्यसताका उनले बिहानी पत्रिकाको सामुहिक सम्पादनमा पनि सहयोग गरे ।

कवि भण्डारी मिहिनेती कविका रूपमा चिन्दछु म । अभ्यास, निरन्तर साधनाले नै मान्छेलाई कर्मशील बनाउँछ । शास्त्रीय छन्दमा खण्डकाव्यसम्म लेखिसकेका भण्डारीका कविता नेपाली झ्याउरे, सवाई एवम् आधुनिक मुक्तलयमा पनि विरचित छन् । कवि भण्डारीका काव्यमा भावात्मकताका पहिराहरू चलेका छन् । पीताम्बरजस्तै अनगिन्ती प्रतिभाहरू ओझेलमा परेका हुन सक्दछन् । तिनको पहुँच निम्न भएका कारण ओझेलमै परिराख्या हुनुपर्दछ ।

स्कुल कलेजको अनुहारै नदेखेका विश्वका उदाहरणीय व्यक्ति, व्यक्तित्व म्याक्सिम गोर्की रुसमा मात्रै चिनिएनन् । जसको साहित्यलाई विश्वैले रुचाउँछ । आठ कक्षामा पढ्दापढ्दै भागेर हिँडेका भारतीय कवि रवीन्द्रनाथ टैगोरको नाम पनि विश्वमै छ । जनताको तर्फबाट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहिलो कुलपति बन्ने केदारमान व्यथितले प्राथमिक तह पनि पूर गरेका थिएनन् । यस्ता अनेकौँ उदाहरणहरू छन् । वाल्मीकि व्यासले कुन विद्यालयबाट औपचारिक शिक्षा लिएका हुन् र १ अध्ययन भन्नु नै निरन्तर अभ्यास, खोजअनुसन्धान, मेहनत र साधना हो । कवि भण्डारीमा मेहनत छ अनि साधना पनि । पीताम्बर जिल्लाका एक उदाहरणीय साहित्यिक प्रतिभाका रुपमा चिनिएका थिए । जनताको स्नेहभन्दा अर्को ठुलो पुरस्कार हुँदैन ।

अँ त्यो त प्रजातान्त्रिक अप्रजातान्त्रिक कवि रे नि १ यस्तै यस्तै कुरा यहाँ हुन्छन् । यहाँ साहित्यलाई वर्गीकरण गरिएको छ । प्रगतिशील र अप्रगतिशीलमा विभाजित छ । एकले अर्कोलाई घोच्याउने, होच्याउने गरिन्छ । म भन्छु, कविता लेख्ने कवि हुन् र तिनका आाफ्नै विचार, आाफ्नै उडान हुन्छ । तिनले आफ्नो ब्रम्हले देखेका सत्य कुरा लेख्छन् । लेख्नु नै प्रगति हो र ऊ प्रगतिशील छ । प्रगतिशील र अप्रगतिशील भनिरहनु पर्ने आवश्यकता म ठान्दिनँ । तर्कका कुरा हुन् । तर्क गर्न जान्ने माथि पुग्दछ, नजान्ने थिचिन्छ ।

कवि भण्डारीका कृतिगत टिप्पणी

वि.सं. २०२४ सालबाट सिन्धु साहित्य फाँटमा उम्रिएका कवि भण्डारीका सुरुसुरुमा सिर्जिएका कविताका सँगाला ससाना आकारका छन् भने पछिल्ला समयका कृतिहरूका श्लोक र पृष्ठ सङ्ख्यामा बृद्वि भएका देखिन्छन् । गणनाका हिसाबले उनका एक दर्जन प्रकाशित कृतिहरू देखिन्छन्– (१) महेन्द्र ज्योति (२०२४), (२) विविध सँगालो (२०२९), (३) हेलम्बु दर्शन (२०३८), (४) मनको वह (२०४३), (५) सॉच्चै यहॉ के भयो ?, (२०४९), (६) जहाँ छैन मानव (२०५१), (७) नेपाल मेरो घर (२०५६), (८) छोरी बिराना किन ? (२०५९), (९) मेरी मेलम्ची (२०६१), (१०) वागमती सन्देश (२०६३), (११) शान्तिको चाहना स् क्रान्तिका पाइला (२०६८) र (१२) आमा बितेको दिन (२०७३) ।

भण्डारीका प्रायः सबै कविता शास्त्रीय छन्दमा विरचित छन् । प्रकाशनकालका हिसाबले तत्तत् समयका समकालीन परिवेशीय चित्रण गरिएका कवि पीताम्बरका कृतिहरूमा राजनीतिप्रतिका प्रायः दमन, पीडा, आक्रोश, भयावह परिस्थितिका चित्रण पाइन्छन् । कविजीका जीवनसँग गाँसिएका विविध घटनाक्रमको सलिल ढङ्गले काव्यात्मक प्रस्तुतिमा उतारिएको देखिन्छ । कवि भण्डारीका प्रकाशित कृतिहरूका बारेमा सामान्य परिचयात्मक टिप्पणी यसप्रकार छ –
(१) महेन्द्र ज्योति (२०२४)

राजा महेन्द्रको पालामा लेखिएको “महेन्द्र ज्योति” कवि भण्डारीको पहिलो कृति हो । यसै कृतिबाट कवितालेखनको सुरुआत गरेका पीताम्बर राजनीति चेतनाबाट पनि सुसूचित देखिन्छन् ।

(२) विविध सँगालो (२०२९)

विसं २०२४ सालमा पहिलो कृति “महेन्द्र ज्योति” बाट साहित्यिक यात्रा प्रारम्भ गरेका भण्डारीले चार वर्षपछि “विविध सँगालो” शीर्षको कृति प्रकाशनमा ल्याए । लेखन शिल्पमा उनको कलम झन् झन् तेजिलो बन्दै जान थाल्यो ।

(३) हेलम्बु दर्शन (२०३८)

२०३८ साल जेठ महिनामा प्रकाशित “हेलम्बु दर्शन” शीर्षकको कवितासङ्ग्रमा कवि पीताम्बरले आफ्नै व्यक्तिगत जीवनसँग मेल खाएका घटनाविशेष उतारेका छन् । प्रस्तुत सङ्ग्रहमा शार्दूलविक्रीडितका ४९।५ र वसन्ततिलकका १० गरी जम्मा ५५।५ ९साँढे पचपन्न० श्लोकहरू छन् । सङ्ग्रहमा हाम्रो नेपाल, अपशोच, हेलम्बु दर्शन, प्रकृतिको बिडम्बना, गाउँका भलादमी, सङ्कटको आँसु र तीर्थ काण्ड गरी जम्मा ७ शीर्षकका फुटकर कविता समावेश गरिएका छन् ।
राजधानी काठमाडौँबाट करिब अठार कोशको दूरीमा अवस्थित हेलम्बु जिल्लाको रमणीय ठाउँ हो यहाँको प्रकृति मनोहारी छ । कवि हेलम्बुको काख किउलका बासिन्दा भएकाले हेलम्बुका बारेमा जानिफकार पनि हुन् । उनले हेलम्बु दर्शनमा हेलम्बु र हेलम्बु आसपासका प्रकृतिको राम्रो चित्रण गरेका छन् । साँच्चै हेलम्बु दर्शन गर्न लायकको तीर्थस्थल जस्तै छ भनेर दर्साएका छन् ।
लग्भग् कोश अठार पर्छ हनुमान् ढोका त देखी पर
मेलम्ची नदि स्वच्छ निर्मल सफा देख्नै अती सुन्दर
हेर्ना लायकको मनोहर पुरी प्राकृतिले निर्मित
झर्दा जुन् वन शैलभित्र छहरा सूसाउँछन् सङ्गित
(हेलम्बु दर्शन ।।१।।)

(४) मनको वह (२०४३)

कवि भण्डारीको जम्मा १६ पेजी ‘मनको वह’ कवितासङ्ग्रह २०४३ सालमा प्रकाशित ३ वटा कविताको सँगालो हो । यसमा १। सङ्कल्पको घडी २। मनको वह ३। विवेक भएन बजेट रहेन शीर्षकका कविताहरू समावेश गरिएका छन् । “यस कविताबारे सानो कुरा” शीर्षकमा गौरीनाथ प्रधानले शुभकामना मन्तव्य दिएको उक्त कवितासङ्ग्रहमा शार्दूलविक्रीडित छन्दका जम्मा ३३ श्लोक छापिएका छन् । एउटा उदाहरण हेरौँ स्
हे मेरा प्रिय दाजुभाइ सुनिद्यौ दुःखान्त मेरा कथा
भित्री छाति चिरिन्छ भन्नु कसरी उत्पातको यो व्यथा
मैना श्रावण सातका दिन ठुलो संकष्ट आई पर्यो
धेरै रुष्ट हिसाबमा प्रकृतिले सर्वस्व मेरो हर्यो‍
(संकटको घडी श्लोक १, रचना २०४३।४।३०)

(५) सॉच्चै यहॉ के भयो ? (२०४९)

कवि पीताम्बर भण्डारीले शार्दूलविक्रीडितका २९।५ (साँढे उनन्तिस) श्लोकमा विरचित “सॉच्चै यहाँ के भयो ?” शीर्षकको लघुकाव्य शुभ विजयादशमी २०४९ को अवसर पारेर प्रकाशित गरेका हुन् । काव्यमा २०४९ सालको चुनावमा किउलमा विपक्षीहरूले बुथ कब्जा गरेको कुरालाई समेटिएको छ ।
प्यारा पुज्य बुबा मुमा र बहिनी दाजु र भाइ अहो
साँचो वर्णन सुन्नुहोस् किउलको चुनावमा के भयो
हेलम्बू हिमटाकुरा नजिकको हाम्रो किउल् गाउँमा
पैलो धाँधलि बूथ तोकिन गयो सारै बिकट् ठाउँमा

(साँच्चै यहाँ के भयो ।।१।।)

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काङ्ग्रेसले आफू लागेको पार्टी एमालेलाई हेपेको पेलेको भन्ने कविजीको भनाइ छ । राप्रपा र काङ्ग्रेसले बुथ कब्जा गरेर सबै भोट लगे भन्ने चिन्ताले पीताम्बरलाई बेसरी सताएको छ ।
(६) जहाँ छैन मानव (२०५१)

भण्डारीको अर्को कृति १७ पेजीको ‘जहाँ छैन मानव’ शीर्षकको कवितासङ्ग्रह हो । शार्दूलविक्रीडित ३२।५ र अनुष्टुप्का २० गरी जम्मा ५२।५ (साँढे बाउन्न) श्लोकमा संरचित प्रस्तुत कवितासङ्ग्रहमा कवि भण्डारीले एमालेमा लागौँ भन्ने सन्देश दिएका छन् । २०५१ सालमा प्रकाशित सो घटनापरक कवितासङ्ग्रहभित्र– “छैनन् जहाँ मानव, पञ्च पार्टी कस्तो हो ? काङ्ग्रेस पार्टी कस्तो छ रु, एमालेमा किन लाग्ने ?” गरी जम्मा चार शीर्षकका कविता छन् ।
छैनन् जहाँ मानव शीर्षकको कवितामा शार्दूलविक्रीडित छन्दको साँढे एकतीस श्लोक छ । शार्दूलविक्रीडित छन्दको मिठो लयमा कविले उक्त शीर्षकमा गाउँमा आगलागी भएको र निर्दोष व्यक्तिलाई प्रशासनले दुःख दिएको, सिधासाधा जनताले दुःख पाएको कुराको अभिव्यक्ति दिएका छन् । बाँकी तीन शीर्षकका कविता अनुष्ट्का लयमा छन् तर छन्दोभङ्ग छ । कविले तत्कालीन पञ्च (राप्रपा), नेपाली काङ्ग्रेस पार्टीलाई निन्दा गरेका छन् । एमाले भन्ने पार्टी राम्रो छ, यसैमा लाग्नुपर्छ भनेर किटान गरेका छन् कविले । राप्रपा, काङ्ग्रेसलाई जनताका दुस्मन मानेका छन् । कविको दृष्टि एकापक्षीय छ । यस कविताको अध्ययनबाट कवि पीताम्बर भण्डारी एमालेद्वारा बढी प्रभावित एवम् चिन्तित देखिन्छन् । प्रस्तुत कवितासङ्ग्रहको ‘लेखकको भन्नु’ शीर्षकको भूमिकाबाट एक श्लोक हेरौँ –
रातो लालिम सूर्यका किरणले जागा रहून् मानव
नौलो जोस र होसले अघि बढून् ध्वस्तै गरून् दानव
झण्डा फर्फहराइ रक्तिम नयाँ बाटो सुनौलो लिऊन्
नेपाली घरवार साम्य रसले भर्पूर पारी दिऊन् ।
(मेरो भन्नु, भूमिकाबाट)

(७) नेपाल मेरो घर (२०५६)

‘नेपाल मेरो घर’ कवि पीताम्बर भण्डारीको सुधारिएको कवितासङ्ग्रह हो । जसमा २०३९ सालदेखि २०५६ सालसम्म १७ वर्ष लगाएर लेखिएका ४६ शीर्षकका समसामयिक कविताहरू समाविष्ट छन् । कला शिल्प र व्याख्या विश्लेषणबाट हेर्दा कवि भण्डारीलाई चिनाउने कृति यही हो ।
२०५६ सालमा प्रकाशित नेपाल मेरो घर, कवितासङ्ग्रहभन्दा अगाडिका पुस्तकहरूमा उनका धेरै कमजोरी भेटिन्छन् । कविता भनेको मनका दर्द, वेदनाका कथा हुन् । जुन साहित्य पढ्दा पाठकले आाफ्नै व्यथाका कथा भन्ने बुझोस् १ समाजमा देखिएका राम्रा नराम्रा कुराहरूको प्रतिबिम्ब नै साहित्य हो । यिनै प्रतिबिम्बलाई आाफ्नो कवितामार्फत् कवि पीताम्बर भण्डारीले हामीलाई देखाएका छन् ।

महाङ्काल स्वास्थ्यसेवा सञ्चालन समितिद्वारा प्रकाशित ‘नेपाल मेरो घर’ कवितासङ्ग्रह १३४ं१६ पेजीको छ । रु- ५०।– मूल्य राखिएको उक्त कवितासङ्ग्रहको प्रथम संस्करण १००० प्रति छापिएको छ । समालोचक द्वय श्री पूर्णप्रकाश नेपाल ‘यात्री’ र कृष्णप्रसाद पराजुलीले शुभकामना भूमिका लेखेका छन् । केही कविताहरू लामा–लामा छन् । भण्डारीले कतिपय कवितामा आाफ्नै जीवनकथा उतारेका छन् । अलिकति परिमार्जन गरेर छपाएको भए केही शीर्षकका कविताले खण्डकाव्यकै रूप लिने थिए । प्रस्तुत कवितासङ्ग्रहमा शास्त्रीय छन्दका शार्दूलविक्रीडित ३२२ अनुष्टुप् १७८, मन्दाक्रान्ता ५४, वसन्ततिलका २८, मालिनी २१ र उपजाति छन्दमा २१ गरी जम्मा ६२३।५ श्लोकहरू छापिएका छन् । केही उदाहरणहरू हेरौँ –
समाजमा हुर्मतको न ख्याल
पैसा भए इज्जतको कमाल
काला बजारी जनको कमान
नबोल या बोल कमै समान
(खै प्रजातन्त्र ?)
लालाबाला कृषक घरमा छैन कैल्यै सुधार
धुस्रे फुस्रे सबदिन छ हो काम घण्टा अठार
मैलो धैलो मलिन मुखका खेतिवाला किसान
मात्रै तिन्को श्रम लुटिलिने हुन्छ चर्को निसान
(किसान)
साँच्चै आज असाध्य निस्क्रिय रह्यौँ नेपाल आमा तिमी
तिम्रा काख सियाँलमा दिनदिनै फैलिरहेछन् कृमि
तिम्रो कोख सुधारिँदैन किन हो आचार झन् भ्रष्ट भो
तिम्रो पेट बढ्यो जुका सब फुले सौन्दर्य झन् नष्ट भो
(नेपाल आमा तिमी)

(८) छोरी बिराना किन ? (२०५९)

भण्डारीको ‘छोरी बिराना किन रु’ नामक खण्डकाव्यको सामान्य परिचय दिने प्रयास गर्दछु । कवि भण्डारीको कृति छोरी विराना किन रु लाई मैले एकपटक सरसर्ती पढ्ने अवसर पाएको थिएँ । सो पुस्तकलाई कविले खण्डकाव्य भनेर संज्ञा दिएका छन् । काव्यले खण्डकाव्यको रूप दिएको छ । यस काव्यमा कवि सरसर्ती बगेका छन् । कविले कतैकतै काव्यिक धाराप्रवाहमा आफूलाई कठिन भएको महसुस गरे पनि काव्यिक प्रवाहलाई सफलताको चुलीमा पुर्यावएका छन् । शास्त्रीय छन्दमा कविता लेख्नु सजिलो कुरा होइन । छन्दलाई खेलाउन सक्नु कविको सफलता हो ।

छोरी विराना किन ?, खण्डकाव्य कविको प्रबन्धात्मक शैलीको काव्य हो । प्रबन्धात्मक काव्यसंरचना गर्दा निश्चित् उद्देश्य, निश्चित् घटनाक्रमको उल्लेख रहनु आवश्यक रहन्छ । नेपाली समाज विश्वसमाजभन्दा अलग छैन । प्राकृतिक रूपले नै स्त्री पुरुष भनी दुई जातमा छुट्याएको छ । जसभित्र सक्नेले नसक्नेमाथि शासन गरेको छ । यो प्राकृतिक नियम नै हो । सक्नेले नसक्नेमाथि शासन गर्नु अन्याय हो, होइन रु म जान्दिनँ तर कवि भण्डारी भन्छन्– यो भेद रहनु हुन्न । हाम्रो समाजमा पुरुषभन्दा नारी अपहेलित छन् र पछाडि परेका छन् भनिन्छ, देखिन्छ । यो हुनुका कारण के हो त रु पुरुष आवश्यकताभन्दा बढ्ता गफ गर्ने फुर्सत निकाल्न सक्छन् तर महिला सधैँ कामधन्धामै व्यस्त रहन्छन् । काम गर्ने मानिस पछि परेको छ तर काम नगर्ने अगाडि पुगेका छन् । यस्तै यस्तै गुनासा कवि भण्डारीले ‘छोरी बिराना किन रु’ मा गरेका छन् ।

प्रस्तुत खण्डकाव्यमार्फत् कवि आदिकालका नारी दमन, उत्पीडनका कुरा गरेर मध्यकाल हुँदै आधुनिककालका नारीको चित्रण गर्न पुग्छन् । उक्त खण्डकाव्यमा कविले गहन कुरामाथि प्रश्न उठाएका छन् । आमाछोरीको संवादका रूपमा सिर्जना भएको काव्यमा आमाछोरीको भलाकुसारी छ । आमा छोरीलाई राम्ररी घर गरेस्, पतिको हेरचाह गरेस् भनी अर्ती उपदेश दिन्छिन् तर छोरी आमाका पुराना कुरालाई स्विकार्दिन र पुरुषमय संस्कारविरुद्ध लड्नुपर्ने सन्देश छर्छे । आधुनिक छोरीहरू सांगठनिक गतिविधिमा संलग्न भई आाफ्नो हकअधिकार आफैले प्राप्त गर्नु पर्दछ भन्ने अठोटका साथ आमाका अगाडि छोरी साहसिक अभिव्यक्त दिन्छे । समाजमा विद्यमान पुरुष संस्कृति, संस्कार र उनकै हैकमवाद छ र यसलाई नारी पुरुषको हकअघिकार बराबरी पार्नुपर्दछ, जो सङ्घर्षद्वारा नै हुन्छ भन्ने सन्देश ‘छोरी बिराना किन ?’ खण्डकाव्यले दिएको छ ।

आज हामी साहित्यकार भनेर फुर्किरहेछौँ । साहित्यको अर्थै नबुझी साहित्यकारको पदवी भिरेर दुनियाँलाई दिग्भ्रमित गराइरहेका छौँ । यो साहित्य र त्यो साहित्य भनेर जगत्लाई चिराचिरा चिरिरहेछौँ । हामी चिन्दैनौँ सत्य । सत्यको नाममा हामी खराब आदतको सङ्क्रमणमा परेका छौँ । पीताम्बरहरूलाई हामी चिन्दैनौँ । पीताम्बरादीहरूमा नै सत्यम् शिवम् सुन्दरम् बाँचेका छन् । यतिखेर हामी अघिका अमृतलाई जहर जाँचिरहेका छौँ । छिः गए अब त्यस्ता पुराणहरू भनी गिल्ला गरिरहेछौँ । हामीले आमाको स्तनलाई विष ठानेर रबरको दुधदानी बनाएर दुध चुसिरहेछौँ । धन्य, भलादमी हो, हामी कसैको निर्देशनमा चैतेहुरीले पत्कर उडाए झैँ विना निर्देशित ठाउँमा घोप्टिरहेछौँ । यहाँ कला छ, कलाको नाममा देश बेचिरहेछौँ । रगतको भुटुनमा दसैँ मानिरहेछौँ । उफ् हाम्रो साहित्य १ हाम्रा महाकवि देवकोटाले ‘साहित्यमा शिवत्व’ भने झैँ राजनीतिमा शिवत्व खड्किएको छ ।
प्रस्तुत काव्यमा शार्दूलविक्रीडित १४७, उपजाति १९, अनुष्टुप् १२, मन्दाक्रान्ता ९, मालिनी ८, शिखरिणी ५ र वसन्ततिलका १ गरी जम्मा २०१ श्लोक रहेका छन् । केही उदाहरण हेरौँ –
नारीकै जुन गर्भदेखि गतिला मन्त्री र राजा पर
योगी सिद्ध सिपालु विज्ञ जन यी जन्मी भए डाक्टर
नारी सृष्टिमयी समस्त जगकी हुन् सिर्जनाकी धन
आमा जन्म दिने सपूत जनकी माया दनिे उत्तम
(छोरीको प्रतिक्रिया पृ-९)
उज्यालो कविको दृष्टि दगुर्छ अन्धकारमा
कल्पनाभित्र कुर्लेर बाटो खोज्दछ धारमा
(कवि, पृ- १३)

(९) मेरी मेलम्ची (२०६१)

मेरी मेलम्चीमा एकैछिन पौडी खेल्दा स् ‘मेरी मेलम्ची’ शीर्षक दिएर मेलम्ची किनारमा अवस्थित किउल कविकुञ्जनिवासी कवि पीताम्बर भण्डारीले एउटा पद्यात्मक खण्डकाव्य तयार पारेका छन् । प्रस्तुत खण्डकाव्यमा खण्डकाव्यकारले मेलम्ची नदीलाई काव्यको नायिका बनाएका छन् । मेलम्ची नदीबाट सुरुङ खनेर राजधानीमा पानी लैजाने भन्ने कुरो चलेपछि नदीको आसेपासे बस्तीहरूमा पर्ने प्रत्यक्ष असरलाई ध्यानमा राखी कविले कवितामार्फत् आाफ्ना कुरालाई व्यक्त गरेका छन् प्रस्तुत खण्डकाव्यमा । यो कविको आाफ्नै कुरा हो । मेलम्ची कविको करेसाकै नदी हो तब उनले आाफ्नै गुनासो पोखेका हुन्– करेसाको पानी बाहिर लगेपछि करेसाबारी सुक्खा बन्दछ । प्रस्तुत खण्डकाव्यको मूलकुरोचाहिँ यही हो ।

काठमाडौँ राज्यको राजधानी भएकाले त्यहाँको जनघनत्वको चाप दिनानुदिन बढ्दै जानु स्वाभाविकै हो । उपत्यकाको वरिपरि पानीका श्रोतले त्यहाँको जनघनत्वको चापलाई थेग्न नसकेपछि मेलम्चीको पानी लैजाने कुरो नेपाल सरकारले गरेको हो । आाफ्नै खुट्टामा देशलाई उभ्याउन नसक्ने हाम्रो देशको सरकार छ । अर्काले गरिदिएको सहयोग–अनुदानलाई पनि नेतृत्वमा पुगेका ठुलाठालु भनिनेहरूले बाँडीचुँडी खान्छन् । मेलम्चीको पानी काठमाडौँ पुर्याछएर त्यहाँका जनताले पेटभरि पानी पिउन पाउने कुरो अलि परैको हो तापनि मेलम्ची आसपासका जनताहरू मेलम्ची खोला सुकाएर काठमाडौँ पानी लैजाने रे भन्ने कुरा सुनेर डराइसकेका छन् । आफूले खान लागेको गाँस अर्कोले खोसिदिँदा कसलाई रिस नउठ्ला र १ मेलम्चीको पानी काठमाडौँमा सिँचाइ गर्नका लागि लैजाने होइन, पिउनका लागि मात्र हो । पानी राजधानीमा लैजान पाउनुपर्दछ– त्यो पनि शर्तमा । मेलम्ची नदीको सबै पानी लैजान पाइन्न । आधा मात्रै १ बस् १ यति भए न मेलम्ची आसपासका जग्गा सुक्छन् न राजधानीबासीहरू पिउने पानीबाट वञ्चित नै हुन्छन् । कविको भित्री आशय यस्तै हो तर मेलम्ची खानेपानीका नाउँमा अनेक भ्रष्ट्राचार भैसकेको कुरा कवि पीताम्बर गर्छन्–
लुटेको धनमा सराद्व फुपुको गर्नेहरू धेर् भए
नाला खन्नु र पुर्नु शुद्व कमिसन् मात्रै हसुर्ने भए
बाटो खन्दछ सातमिटर उँधो निर्माण अग्लो पुल
भन्छन् लाज मापन हुँदा पैल्यै भएको भुल ।
‘मेरी मेलम्ची’ कवि पीताम्बर भण्डारीको ‘छोरी विराना किन रु’ पछिको दोश्रो खण्डकाव्य हो । प्रस्तुत खण्डकाव्यका आधारमा मात्र हेर्दा कविमा आाफ्ना अघिल्ला कृतिहरूमा भन्दा अगाडि बढेको भेटिन्छन् । यस काव्यका कविता सरसर्ती बगेका छन् । ‘मेरी मेलम्ची’ काव्यको कवित्ववेगमा त्यति खोट लाउने ठाउँ नदेखिए तापनि यद्यपि खण्डकाव्यिक पात्रचयन र तिनका अभिव्यक्तिमा सामान्यीकरण छ । खण्डकाव्यिक नियमसँग सम्बद्ध रहेको ‘मेरी मेलम्ची’ खण्डकाव्यको रूप हो । कविको ‘छोरी विराना किन रु ’ नामक खण्डकाव्यभन्दा यसको कथा सरसर्ती बग्या छ । ‘मधु’ नामक एकजना युवक यस खण्डकाव्यको निर्देशित नायकपात्र हो । एकाघरका बाबुआमा र छोरा तीन पात्र हुन्छन् । छोरालाई मेलम्ची नदीको पानी बाहिर जाने भो भन्ने कुरा बाबाका मुखबाट सुनेपछि त्यसप्रति चासो बढ्दछ । उनका बाबुले दिएको शिक्षामुखी श्लोकको नमुना यस्तो छ स्
जान्दै नजानीकन जान्दछु भन्छ जस्ले
त्यो मूर्ख हो, गर परै सुख दिन्न त्यस्ले
जानेर जान्दछु भनी नबुझी रहेको
ब्युँझाई देऊ उसलाई सुषुप्त पो भो १
कवि पीताम्बर भण्डारीका छन्दोबद्व कविता सरसर्ती बगेका छन् । उनमा ‘मासं मसं कुरुयत’ सिद्वान्तले छाडेको छैन । मङ्गलाचरणबाट सुरु गरिएको प्रस्तुत काव्य पाँच खण्डमा विभाजित छ । मेलम्चीले निम्त्याएको मानसिक प्रभाव, सामाजिक अवस्था, प्राकृतिक सौन्दर्य र मेलम्ची इन्द्रावती संवाद काव्यका मुख्य भाग हुन् । कविका यस अघिको खण्डकाव्य ‘छोरी बिराना किन रु ’लाई यस काव्यको प्राकृतिक चित्रण खण्डको कवितात्मक कलाले उछिने तापनि सामाजिक चिन्तन, दर्शनका हिसाबले अघिल्लो खण्डकाव्य अगाडि छ । कविता लेखनप्रवाह, शिल्प, अभिव्यक्ति र सरलता आदि काव्यिक लक्षण, रूप, गुणको तुलनात्मक दृष्टिले हेर्दा कविका आजसम्मका प्रकाशित कृतिहरूमा यसैलाई जेठो मान्न सकिन्छ तापनि ‘नेपाल मेरो घर’ कवितासङ्ग्रहको कतिपय कविताका कवित्वलाई ‘मेरी मेलम्ची’ले उछिन्न सकेको छैन । स्वतःस्फूर्त कवित्ववेगमा चाहिँ कविले आाफ्नो स्पष्ट पहिचान प्रस्तुत काव्यको प्राकृतिक चित्रणलगायत अन्य खण्डमा पनि दिएका छन् स्
हेलम्बुकी कुसुम वनिता मोहनी शैलपुत्री
सु्यया दिन्छिन रुख चढिचढी चाँदनी दिव्यमूर्ति
चेवा गर्छन् रुखमुनि बसी चञ्चले अङ्ग तिन्को
भन्छन् चाँडो झरन युवतेस भाँचिद्यौ एक सिन्को
प्रस्तुत काव्यमा वार्णिक छन्दका स्रग्धरामा ३१, शार्दूलविक्रीडितमा १६१, मन्दाक्रान्तामा २०, मालिनीमा ३, वसन्ततिलकामा ३५, इन्द्रवज्रामा ३३ र अनुष्टुप्मा ६८ गरी जम्मा ३५१ श्लोक छन् । प्रायः सबै छन्दमा कवि सरसर्ती बगेका छन् । कविको विशेषता भनेको सरलता हो । आख्यानीकरणमा भन्दा पनि सरलीकरणमा कविको जोड देखिन्छ । मङ्गलाचरण खण्डमा प्राचीनकालमा पौराणिक पात्रनायकका बारेमा चर्चा गरिएको छ । कवि भण्डारीलाई पौराणिक ज्ञान रहेको ज्ञात हुन्छ । हामी वेददेखि रामायण, महाभारत आदि पुराना कविताको अध्ययन गर्दैनौँ तब हामी हाम्रो साहित्यमा कमजोर बन्दै गएका छौँ । भण्डारीको चिन्तन यसैमा छ । पुराना पौराणिक पात्रका नराम्रा कामका उदाहरण दिएर म कसको पूजा गरूँ रु भन्ने गुनासोबाट कविले काव्यको प्रारम्भ गरेका छन् ।
नमस्कार नमस्कार म पैले कसको गरुँ
अवतारहरू धेरै म कस्को भरमा परुँ ?
सूर्य नौ ग्रहका राजा राहूले पनि ढाक्दछ
पारिजातहरू फुल्दा हुरी बतास लाग्दछ ।
कवि भण्डारीका कविता पढ्दा आनन्द लाग्दछ । उनका कवितामा चिन्तन, दर्शन छन् । यी कविका बारेमा मैले ‘सिन्धु साहित्यिक इतिहास– २०६०’ मा सामान्य टिप्पणी गरेको छु । भण्डारीमा चिन्तन, दर्शनका साथै अभिव्यक्तिकला पनि राम्रै छ । उदाहरणस्वरूप केही कविताका उदाहरण हेरौँ स्
कवि परिचय स्
क्षेत्री ब्राहणको छ वास गतिलो हेलम्बुभन्दा तल
सिर्जेको कविकुञ्ज जो किउल हो जीवन्त मेरो स्थल
तारुके वनवस्ती रम्य थल यो खानी छ हो धानको
माहांकाल, मराम्ची फाँट रसिलो शेरा, चुरे शानको ।
प्यारो यो जन्मभुमी सकभर म छिटै भन्छ मन्ले सिंगारुँ
जन्मेको सार के हो रु असहज गतिको मार्ग यौटा सपारुँ
राखौं अस्तित्व केही पछिपछि पनि म मरे सम्झियून् सन्ततिले
चाखून् यो काव्य सानो असहज दिनमा भन्छ मैन्द्रावतीले ।
दृष्टिकोण !
जस्तै त्यो माहुरीको दल सकल गुणी रानु जो ठालु छैन
राजा, मन्त्री छ को खै रु न पुलिसहरू छन् दण्ड नै चाहिँदैन
के हो तेरो र मेरो कहिँ पनि नहुने पूर्ण आाफ्नै छ सृष्टि
भिर्दैनन् क्यार तक्मा न उपर तल छन् एकनासे छ दृष्टि ।
(रचनाः २९ वैशाख, २०६१ साल)

(१०० वागमती सन्देश ९२०६३)

प्रकाशनका हिसाबले पीताम्बरको वागमती सन्देश ९खण्डकाव्य, २०६३० दशौँ कृति हो । प्रस्तुत कृतिमा वाग्मती नदीलाई पात्र बनाइएर वातावरणीय सरसफाइसँग कवि सङ्घर्षरत छन् । वाग्मती सन्देश वाग्मती नदीको कथा हो । तीन तरङ्गमा लेखिएको उक्त खण्डकाव्य अनुष्टुप् ३०४, वसन्ततिलका १८, मालिनी १४ र शार्दूलविक्रीडितका ३ गरी जम्मा ३३९ श्लोकमा संरचित छ । केही उदाहरण हेरौँ स्
अर्ध उन्मुक्तिको बाटो अर्ध आर्थिक चिन्तन
अर्ध स्वतन्त्रताभित्र सुषुप्त अर्ध लेखन
(कामना)
पूर्वजन्म भनेका नै बाबुबाजे बराजु हुन्
पुनर्जन्म भनेका यी छोरा नाति पनाति हुन्
(तरङ्ग तीन, ।।५०।।)
अनि पर हुन खोज्छन् मित्र नै हुन्छ वैरी
पलपल पछुताई काम बन्दैन दौडी
सुझबुझ समयैमा बीज नौलो उमार
अपशकुन अगावै चाल आफ्नो सुधार
(तरङ्ग तीन, ।।८७।।)
(११) शान्तिको चाहना ! क्रान्तिका पाइला (२०६८)
मेलम्ची साहित्य प्रतिष्ठानद्वारा २०६८ मा प्रकाशित “शान्तिको चाहना ! क्रान्तिका पाइला” शीर्षकको कवितासङ्ग्रह भण्डारीको एघारौँ कृति हो । द्यजबनबधबत ब्अजबचथब भागवत आचार्यको भूमिका र भारद्वाज मित्र प्चष्कजलब क्गदभमष् को शुभकामना रहेको उक्त कतिासङ्ग्रहमा समर्पणसहित ८० वटा स्फुटकविताहरू समावेश गरिएका छन् । सङ्ग्रहमा शार्दूलविक्रीडित ३४६, अनुष्टुप् ३३३, स्रग्विणी १०, मालिनी ३८।५, इन्द्रवज्रा ३६, मन्दाक्रान्ता १२, असारे ९, शिखरिणी ९, सवाई ६ र स्रग्धरा २, गरी जम्मा ८०१।५ श्लोक छन् ।
कवि भण्डारीको जीवनको पछिल्लो चरणमा सिर्जना प्रकाशनमा देखिएको प्रस्तुत कवितासङ्ग्रह अघिल्ला कृतिहरूभन्दा निकै परिस्कारित देखिन्छ । परिपक्कता छन् । नेपाल मेरो घर र शान्तिको चाहना स् क्रान्तिको पाइला कवि भण्डारीका उल्लेखनीय प्रतिनिधित्व कविताका सँगाला हुन् । उदाहरस्वरुप केही श्लोक प्रस्तुत छ ।
यौटै मानव देख्छु विश्व जगमा छैनन् नि सानो ठुलो
डिग्री प्राप्त गरेर काम नभए पानी विनाको कुलो
धर्तीमा श्रम खर्चिदैन जसले बुझ्दैन मर्का भने
सुक्खा जर्जर बालुवा बगरमा अन्न हुर्काउने
(काव्य सन्दर्भ)
शान्तिको चाहना क्रान्तिका पाइला
शब्दका वाण यी लम्किँदै आउँदा
सिर्जना क्षेत्रमा पाइला चालियो
भावना उम्लिए दीप यो बालियो
(शान्तिको चाहना)
जस्तै गालौँ पगालौँ युगयुग यसको शक्ति केही कुँडिन्न
फुट्ला आफैँ चरक्कै तर पनि अरूको शक्तिमा लीन हुन्न
लाग्दा आँधी र बेरी अधिक अटल भै वायुको वेग थुन्छ
वर्षाको भेल आए तटतट दृढ भै धारको बार बन्छ
(ढुङ्गो)
हे मूर्ति तेरो अब के भरोसा
बाँझै छ बारी घरको करेसा
खै फूल माला गमला छ खालि
चर्को छ झर्को हमला र गाली
(मूर्ति)
दुःखी गरिबका निम्ति दाताले दान गर्दछ
दीन तस्बीर बेचेर विज्ञले मोज गर्दछ
(बिडम्बना)

(१२) आमा बितेको दिन (२०७३)

कवि भण्डारीको अन्तिम कृति आमा बितेको दिन (शोककाव्य, २०७३) हो । आमा बित्दा परेको शोकलाई कविले अत्यन्त मार्मिक ढङ्गले काव्यमा उतारेका छन् । काव्यमा जीवनमा परेको गहिरो चोटको अनुभूति छ । शार्दूलविक्रीडितका ११४।५ र अनुष्टुप्का १६ गरी १३०।५ श्लोकमा संरचित उक्त काव्यमा शान्तिको चाहना क्रान्तिको पाइला नामक सङ्ग्रहमा प्रकाशित मन्दाक्रान्ता छन्दको मातृवन्दना शीर्षककमा ८ श्लोक पनि पुनर्मुद्रण भएको छ ।

राजेन्द्र सुवेदी र भारद्वाज मित्रद्वारा शुभेच्छा शुभकामना दिइएको ४८ पृष्ठमा संरचित आमा बितेको दिन शोककाव्य वि.सं. २०७३ वैशाखमा प्रकाशित भएको हो । कविको मातृवियोगमा लेखिएको उक्त शोककाव्यमा ममतामयी आमाका बारेमा चिन्तन दृष्टि छ । उदाहरणका लागि एक श्लोक हेरौँ –
आमा छोपिनु भो भनेर घरले सञ्चार आयो पर
वज्य्रो वाण तिखो चसक्क मुटुमा छाती भयो चर्चर
मेरो मानस खुम्चियो ज्वलित भो आगो बल्यो दन्दन
मैले व्यक्त गरौँ नि आज कसरी आमा बितेको दिन
उपसंहार
सिन्धुपाल्चोक जिल्लाका पश्चिमउत्तरी भेग अर्थात् जिल्लाको इशान दिशामा रहेको भुगोलमा जन्मिएका कवि पीताम्बर भण्डारीले जीवनमा अनेकन सङ्घर्ष गरे । साहित्य, राजनीति, सामाजिक सञ्जालका अनेकन सङ्घ सङ्गठन, वन उपभोक्ता महासङ्घ आदिमा सक्रिय रहेर जिल्लाका गन्यमान्यजनका रुपमा देखिएका कवि भण्डारीका आखिर रहिरहने योगदान भनेको कृतिगत योगदान हो । उनले शास्त्रीय छन्दको प्रयोग गरेर फुटकर कविताका सँगालादेखि खण्डकाव्यसम्मको सिर्जना गरेर आफूलाई नेपाली साहित्यको बगैँचामा कहिल्यै नओइलाउने फूलको थुँगा बनाएर सजाएका छन् । उनीसँग झन्डै तिस वर्षसम्म सङ्गत भयो मेरो । उनी मेरा स्मृतिमा सदा सदा छन् । उनको आत्माले चीरशान्ति पाओस् र कृतिगत योगदान फैलँदै जाओस् । हार्दिक श्रद्धाञ्जली प्रिय कवि !

★ साहित्यकार न्यौपानेका ‘चन्द्रयुग’ महाकाव्य लगायतका दर्जनौं कृति प्रकाशीत छन् । ★

छुटाउनु भयो कि ?