विचार-ब्लग

वालवालिकामा हुने स्क्रीन लत

Madhyabindu Online नगेन्द्र दंगाल


A A- A+

नेपालका वालवालिकाहरुमा मोवाइल (स्मार्ट फोन) हेर्ने वानीको बिकास दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । अविभावकहरुको कामको ब्यस्थता, वालवलिकालाई फूल्याउन, भूल्याउन, खाना खान फकाउन वालवालिकालाई मोवाइल दिने चलन शहरमा मात्र होइन बजार या गाँउ घरमा बढ्दो क्रममा रहेको पाइन्छ । कतिपय अविभावक आफू जानकार भैकन र कतिपय अविभावकहरुले अन्जानमा वालवालिकाहरुमा यो लतको विकास गरिरहेका छन ।

वालवलिकाको स्क्रीन लतको दीर्धकालिन असर बारेमा प्रत्येक अविभावकले बुझ्नु पर्ने अवस्था आइसकेको छ । वालवालिकाको मस्तिष्कको अधिकतम विकास हुने उमेरमा मोवाइलको लत लागे पछि वालवलिकाको सर्वाङ्गिण विकासमा नै असर पु-याइरहेको हुन्छ, जस्को असर वयस्कमा समेत उतिकै बस्न सक्दछ । यस अवस्थामा स्क्रीनको लतको सट्टामा मानविय ब्यवहारको अति आवस्यकता पर्न आउँदछ ।

विस्व स्वास्थ्य संगठन अनुशार ५ वर्ष मुनीका वालवालिकाहरुलाई राम्रो निन्द्रा चाहिने बखतमा मोवाइल दिन नहुने कुरामा जोड दिएको छ, दिएमा पनि दिनमा १ घंटा मात्र दिने हो । स्टानफोर्ट विस्वविद्यालयका अनुसंधानकर्ताहरुले मोवाइलको अधिक लतबाट ध्यान केन्द्रित हुने वानी र स्मृतीलाई नै नष्ट गरिदिन्छ भनि उल्लेख गरेका छन ।

मोवाइलको लतबाट वालवलिकाहरु एकोहोरो हुने, एक्लै बस्न मन पराउँने, सानो बिषयमा पनि चिन्तित हुने, निन्द्रा ढिला लाग्ने, पातलो निन्द्रा हुने, मोटोपना हुने, सुन्न सक्ने क्षमतामा कमी, एकाग्रतामा कमी, आँखाको दृष्टीको कमी आँखा टेडो हुने, घरमा रिसाउँने, चिच्याउँने, झगडा गर्ने, विद्यालय जान नमान्ने, दिक्दारीपना हुने, Bullying disorder, Gaming disorder, यौवनावस्ता पस्चात Sexual contents मात्र हेर्ने वानीको विकास हुन सक्दछ ।

मनोवैज्ञानिकहरुको अध्ययन अनुशार ६ वर्ष सम्मका वालवलिकाहरुको मानसिक बिकास ९०% भै सकेको हुन्छ । यो मानसिक बिकासको उर्वर अवस्था भएको हुँदा बाबु-आमाले विषेश ध्यान ख्याल गर्नु पर्दछ ।वालवालिकाहरु बाल्यावस्थामा आमा-बुबा सँग रहने हुँदा सानो उमेर देखि नै असल वानीको बिकास गराउँनु पर्दछ ।

६-१२ बर्ष सम्मका वालवलिकाहरुलाई उनीहरुको चाहना अनुसारको शैक्षिक कृयाकलापमा ब्यस्त गराउँने, विद्यालयको गृह कार्य गर्न सघाँउने, मन पर्ने कथा भन्ने, वालवालिकालाई मन पर्ने सँगित साधनामा आदत बसाल्ने, नजिक स्थानमा घुमाउँन लैजाने, वालवालिकालाई वालवालिका कै रुपमा ब्यवहार गरि उनीहरुको स्क्रीन हेर्ने लतको ब्यवहारलाई परिवर्तन गराउँन सकिन्छ, अन्यथा बानीको बिकास भएमा मानसिक, संवेगात्मक, सामाजिक एवम शारिरीक पक्षलाई असर पारि वालवालिकाहरुको पछिल्ला ब्यक्तित्व बिकासमा गम्भिर असर पर्न सक्दछ ।

(लामो समय प्राध्यापन पेशामा बिताएका लेखक दंगाल सिन्धुपाल्चोक सदरमुकाममा रहेको चौतारा बहुमखि क्याम्पस प्रमुख हुन् ।)