फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

नयाँदिल्लीमा जी–२० को १८औँ शिखर सम्मेलन सुरु हुँदै
काठमाडौं – विशाल अर्थतन्त्र भएका राष्ट्रहरूको संगठन जी–२० को १८औँ शिखर सम्मेलन भारतको नयाँदिल्लीमा शनिबार सुरु हुँदैछ ।
सम्मेलनमा सहभागी हुन विश्वभरका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा भेला भएका छन् । शुक्रबार साँझसम्म दिल्लीमा विश्वका प्रभावशाली तथा उदाउँदो मुलुकका शीर्ष नेता जम्मा भएका हुन् ।
दक्षिण एसियाको एक मात्र सदस्य भारतले गर्न लागेको दुईदिने सम्मेलन दक्षिण एसियाकै पहिलो हो । ‘बसुदैव कुटुम्बकम् अर्थात् एक विश्व, एक परिवार र एक भविष्य’ सम्मेलनको मूल विषय राखिएको छ ।
सम्मेलनको तयारी स्वरुप दिल्ली बेहुलीझैँ सिँगारिएको छ भने सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
शनिबारबाट सुरु हुने सम्मेलन साझा दस्ताबेजमा हस्ताक्षर गरी आइतबार सम्पन्न गर्ने तयारी छ । तर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ भने अनुपस्थित भएकाले शिखर सम्मेलनले महत्वपूर्ण मुद्दामा साझा धारणा बनाउनेमा आशंका छ ।
बंगलादेशसँग भारतको सम्बन्ध डेढ दशकयता अत्यन्तै मित्रवत् र हार्दिक रहेका कारण भारतले बंगलादेशलाई जी–२० सम्मेलनमा आमन्त्रीत सदस्यको हैसियतमा बोलाएको छ ।
नेपालको हकमा भने राजनीतिक अस्थिरता र दिल्लीको नजरमा नेताहरूप्रतिको अविश्वसनीयताको परिणाम नेपाल आमन्त्रित नभएको जानकारहरु बताउँछन् ।