
१३ वर्षीया छात्रा मृत भेटिएपछि विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ
काठमाडौं – आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्।
जिल्लाको चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्।
घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए।
सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।
भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले कक्षा कोठा र त्यसपूर्व विद्यालय प्राङ्गणमा पनि कुटपिट गरेपछि छात्रा गौतमले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको भनाइ छ।