खेलकुद

‘पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस्, शुक्रबार पैसा निकासी हुन्छ’ – प्रधानमन्त्री दाहाल

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रीपरिषद् बैठकबाट निकासा हुने बताएका छन् ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै दाहालले केही प्राविधधिक कारण र नीतिगत कारणले दिन नसकिएको स्पष्ट पारे । उनले अहिले नियमावली बनेर अर्थमन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रीपरिषद् बैठकबाट पैसा निकासा हुने बताए ।

सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिन खेलाडीहरुसँग उनले आग्रह गरे । उनले देशमा खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिवद्धता जनाए ।

एशियाली खेलकुद हेर्न आफू उदघाटन सत्रमा भाग लिने भन्दै सो क्षण आफ्ना लागि गौरवको विषय हुने उनले बताए । उनले खेल क्षेत्रको विकास राष्ट्र विकासको रणनैतिक र महत्वपूर्ण आधार बनेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन पनि आग्रह गरे ।

छुटाउनु भयो कि ?