मुख्य खबर​

उपत्यकामा भोलिदेखि द्रुत बस गुड्ने

Madhyabindu Online


A A- A+

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ असोजदेखि सञ्चालन गर्ने ‘बस र्‍यापिड ट्रान्जिट’ (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ ।

सो कार्यका लागि सडक विभागले सम्बन्धित रुटमा आइतबारदेखि लेन मार्किङ गर्ने, संकेत चिह्न राख्ने, द्रुत बस सेवाबारे साइनबोर्ड राख्नेलगायत कार्य गरिरहेको हो ।

गत सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतका निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु गर्न निर्देशन दिए अनुसार तयारी अघि बढेको हो ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

उनका अनुसार द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टपहरू कायम गरिएको छ । ती स्टपहरूमा यात्रुलाई झार्ने र चढाउने गरिनेछ । ‘३ गते मन्त्रीज्यूले उद्घाटन गर्नुहुन्छ, तर नियमित रूपमा भने ४ गतेदेखि सञ्चालन हुन्छ,’ उनले भने, ‘यो बस सेवा सञ्चालन भएपछि ढिलोमा पनि ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्क पुगिनेछ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा नयाँ बस उपलब्ध गराउनेबारे सम्झौता भइसकेको प्रवक्ता पनेरूको भनाइ छ । बसमा अन्य सार्वजनिक बससरह नै भाडा लाग्नेछ ।

द्रुत बस सेवा सञ्चालन गर्दा त्यससम्बन्धी ट्राफिक व्यवस्थापनका लागि छुट्टै ट्राफिक राखिनेछ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोक–चोकमा एक–एकजना ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ ।

द्रुत बस अन्य सार्वजनिक सवारीसाधन जसरी रोकिनेछैनन् । रातो बत्ती बलेका वेला पनि ट्राफिक प्रहरीले ती बसलाई रोक्नेछैनन् । त्यस्तै, ट्राफिक जाम भएका वेला एम्बुलेन्सजसरी दायाँ–बायाँ मोडेर पनि यो बस सञ्चालन गर्न सकिनेछ ।

छुटाउनु भयो कि ?