
दाहाल सरकारको विकल्प खोज्ने कांग्रेस बैठकको एजेन्डा
काठमाडौं – नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरुलाई व्यवस्थित रुपमा अघि बढाउन नेतृत्वलाई दबाब दिने भएको छ ।
आसन्न केन्द्रीय समिति बैठकअघि मंगलबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५ औं महाधिवेशन गर्ने तयारीलगायतका विषयमा नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो ।
१४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट चुनाव लडेका सबैलाई छलफलमा डाकेको शेखर–गगन पक्षको बैठकले अहिलेको सरकारले भ्रष्टाचार विरुद्धको अभियान चलाउने नाममा कांग्रेसलाई बदनाम गरेको आरोपसमेत लगाएको छ ।
त्यतिमात्र हैन कांग्रेस नै भ्रष्टाचार विरोधी अभियानमा रहेको देखाउन प्रधानमन्त्री तथा गृहमन्त्री लागिपरेको भन्दै त्यसको चर्को विरोध गर्ने मनस्थितिमा शेखर–गगन पक्ष पुगेको हो ।
नेता डा. शेखर कोइरालाको कार्यालय विशालनगरमा बसेको बैठकमा उपसभापति एवं कानून मन्त्री धनराज गुरुङसमेत सहभागी भएका थिए ।
त्यसैगरी डा. कोइरालासँगै महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित नेताहरु चन्द्रकान्त भण्डारी, डा. मिनेन्द्र रिजाललगायत रहेका थिए ।
सहभागी एक केन्द्रीय सदस्यका अनुसार सरकारले काम गर्न नसक्ने अनि त्यसको अपजश कांग्रेसलाई लगाएको देखिएको भन्दै अब यसको विकल्प नखोजी नहुनेतर्फ लाग्नुपर्नेमा जोड दिइएको छ ।
उनले भने, ‘कांग्रेसकै बलबाट बनेको यो सरकारले कांग्रेसलाई नै बदनाम गर्न खोजिरहेको छ । आफ्ना नेताहरु पर्ने डलर अवैध सुन प्रकरणसहितका अनुसन्धान रोकेको छ । अनि दोष कांग्रेसलाई दिएको छ । यो गम्भीर विषय भयो ।’
उनले अगाडि भने, ‘हामीले पार्टी बैठकमा उठाउँछौँ । कसैलाई सत्ताको भर्याङ बन्दा जनताका सामु हामी निरीह भयौँ । हामी नै भ्रष्टाचारलाई बढावा दिएका जस्ता भएका छौँ । यसरी अब चल्दैन । सरकारको काम कारबाही चित्त बुझ्दो छैन । हामीले पार्टी बैठकमा कुरा उठाउँछौँ ।’
शेखरले मंगलबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका थिए । तर उनीहरु सहभागी भएनन् । केन्द्रीय सदस्यहरुले शर्मा र पौडेल किन नआएको भनी शेखरलाई सोधेका थिए ।