कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

सबै स्थानीय सरकारलाई अनुराेध
यो बेला सबै स्थानीय तहले शिक्षकलाई कारवाही गर्ने उर्दी जारी गर्नुभन्दा सरकारलाई माग पुरा गर्न दबाव दिने हो कि ? आज त सार्वजनिक विदा नै थियो, भोलिबाटै विद्यालय खोल्न पहल गर्न रातारात प्रधानमन्त्रीलाई नेपाल झिकाएर वार्ताको वातावरण बनाउने हो कि ? सबै दल र नेताले अर्ती उपदेश दिनु भन्दा सडकमै आएर सहयोग गर्ने हो कि ?
शिक्षकलाई गाली मात्र गरेर सुधार हुने भए मैले पनि व्यक्तिगत रुपमा हजारौं पटक शिक्षकको सार्वजनिक आलोचना गरेको छु । तर, गालीले भन्दा हौसला र उत्प्रेरणाले बढी काम गरेको आफैं अनुभव गरेको छु । समग्र शिक्षा सुधार तथा विद्यार्थीको हितको लागि उहाँहरुले आवाज उठाउनु भएको छैन– कतिपय माग संवैधानिक व्यवस्थासँग बाझिएका पनि छन् – यो सबै मलाई पनि थाह छ । शिक्षक महासंघ दलहरुको राजनीतिक अखडा हो भनेर मैले पनि पटक पटक उहाँहरुकै मुखुन्जेल भनेको छु । उहाँहरुले आयोजना गरेको कार्यक्रममै गएर पहिले महासंघ खारेज गर्नुहोस भनेर पनि बोलेको छु । स्वतन्त्र पेशागत संगठन नहुन्जेल शिक्षक आन्दोलन कहिल्यै सफल हुँदैन भन्ने कुरा मैले पनि बुझेको छु । कुनै अमुक दलले यो आन्दोलनलाई उक्साएर राजनीतिक रोटी सेकाएको हुन सक्ने प्रति म पनि सचेत छु ।
तर, यो आन्दोलनमा त्यस्ता लाखौँ गुरुहरु पनि हुनुहुन्छ, जसलाई दलका फटाह नेताहरुले आफू अनुकुल प्रयोग गर्नलाई दलको झोला बोक्न बाध्य बनाएका छन् । यो आन्दोलनमा त्यस्ता गुरुहरु पनि हुनुहुन्छ, जसले तपाईंहामीलाई यो स्टाटस लेख्न र पढ्न लायक बनाउनु भयो । तपाईंहरु जस्ता हजारौंलाई मेयर बनाउनु भयो, नेता र मन्त्री बनाउनु भयो । ती शिक्षक आफ्नो पेशागत आत्मसम्मानका लागि आज सडकमा हुनुहुन्छ । पैसाकै पछाडि दगुरेको भए तपाईं हामीलाई पढाउने ल्याकत राख्ने उहाँहरुले हामी भन्दा धेरै गुणा कमाउन सक्नुहुन्थ्यो । तर, त्यो सबै कुरालाई त्यागेर मैन बत्तीझैं जलेर समाजलाई उज्यालो छर्ने गुरुहरुलाई सडकमा आउन बाध्य बनाउने अनि उल्टै गाली गर्ने कस्ता अपराधी हौँ हामी ?
जन्म दिने बाबुआमा पछि हामीलाई डोर्याउने, निस्वार्थ माया गर्ने, दिन रात हाम्रै भविष्यको चिन्ता गर्ने तिनै गुरुहरु सडकमा हुनुहुन्छ । शिक्षकलाई रुवाएर कस्तो समाजवाद ल्याउने कल्पना गर्दैहुनुहुन्छ रु एउटा थकित अनि निराश शिक्षकलाई कक्षाकोठामा जबर्जस्ती पसाएर कसरी गुणस्तर आउला ? रातारात टावर ठड्याउन बजेट पुग्ने, रातारात मन्त्रीकालागि महल बनाउन बजेट अभाव नहुने अनि एउटा निरीह शिक्षक सडकमा आएर बालबच्चालाई खुवाउने तलब पनि पुगेन भनेर गुहार माग्दा बजेट अभाव हुने ?
१० हजारमा हड्डी खिउन्जेल घोटिएर पनि मासिक तलब नपाउने ECD का शिक्षक पनि यही भीडमा हुनुहुन्छ । वर्षौं सेवा गरेर बिरामी शरीर लिएर अवकास भएका त्यस्ता गुरुहरु पनि हुनुहुन्छ जससँग उपचार गर्ने एक सुको पैसा छैन । जिन्दगीभर घोटिएर गल्लीको कुकुर जस्तो अपमानित भएर निस्किनु परेको पीडा बोकेका संस्थागत विद्यालयका शिक्षक, विद्यालयका कर्मचारी लगायत सबैको आवाज यो भीडमा गुन्जिएको छ । हामीले सुन्नु पर्दैन ?
राज्य आफैंले १७ थरिका शिक्षक राखेर जहिल्यै विभेद र त्रासदीको मार खेपेका शिक्षकले पेशागत सुरक्षा खोज्दा हामीलाई किन आपत परेको ? शिक्षक आफैं खुशी छैन भने विद्यालयको वातावरण स्वस्थ हुँदैन । अस्वस्थ वातावरण भएको विद्यालयमा सिकाइ प्रभावकारी हुँदैन । त्यसैले, एक पटकलाई सबै विमति भुलेर शिक्षकको यो आन्दोलनलाई सहयोग गरौँ ।
(लेखक खतिवडा नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष हुन् ।)