राजनीति

सरकारमा कांग्रेस नै बस्ने अनि देश संकटमा छ भन्ने ? – गगन थापा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस सरकारमा सहभागी हुने अनि सोही दलका नेताले देश संकटमा छ भनेर भन्नु सही नभएको बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै थापाले देश कांग्रेसकै हातमा रहेको बताएका हुन्।

‘हाम्रो नेतृत्वमा संविधान बनायौँ। सबैतिर ठिकठाक छ । हामी लार्जेस्ट पार्टी भएका छौँ। ३३२ पालिकामा हामी छौँ,’ उनले भने, ‘मुख्यमन्त्री हाम्रो अलिपछि प्रधानमन्त्री हाम्रो बन्ने सबै हाम्रो हातमा अनि देश संकटमा छ भन्छौँ, देश संकटमा छैन । देश हाम्रो जिम्मामा छ।’

त्यस्तै पार्टी बैठकमा संघीयता अरुका लागि ल्याइएको र कांग्रेसले त्यसैमा समर्थन गरेको त होइन? भन्ने प्रश्न आएपछि संघीयता अरुले बोकाइदिएको भारी नभएको स्पष्टीकरण पनि दिए।

‘संघीयता ठीक ढंगले चलिरहेको छैन, सुधार गरौँ भन्ने कुरा ठीक छ । तर योचाहिँ अरू कसैले बोकाइदिएको भारी हो भनेर यस्तो भारी हामी बोक्न सक्दैनौँ भनेर उम्किने मिल्दैन, यो नैतिकताको कुरा हो,’ उनले भने, ‘किनभने कांग्रेस नै मूलधारको त्यस्तो पहिलो दल हो जसले सबैभन्दा पहिले महाधिवेशनबाट निर्णय गरेर केन्द्रिकृत शासनलाई विकेन्द्रित गर्ने हाम्रो पार्टी हो । त्यसकारण संघीयता पार्टीको नीतिबमोजिम ल्याइएको हो ।’

त्यस्तै उनले शिक्षकहरू चाहेको समयमा पार्टी राजनीतिमा आउनुपर्ने वातावरण बनाउनुपर्ने पनि बताए। अहिले शिक्षकहरूले राजनीति गर्दा झोले भन्ने आरोप खेप्नु परेको टिप्पणी पनि गरे।

‘शिक्षक संघमा भएका साथीहरूले यति राम्रो विद्यालय खोल्नुभएको छ । तर, दलको झोले भनेर आरोप खेप्नु परेको छ । कतिपय कमजोरी पनि छन्,’ उनले भने, ‘शिक्षक भएर पार्टी राजनीति गर्न सम्भव छैन । पार्टी राजनीतिमा आउँछु भन्दै गर्दा शिक्षक साथीहरूले शिक्षक पेशा छोडे भनेर छोडेको दिन राजनीतिमा आउने ढोका खोल्नुपर्छ । आएर सांसद बन्देऊ, स्थानीय तह चलाइदेऊ भन्नुपर्छ ।’

छुटाउनु भयो कि ?