मुख्य खबर​

जडीबुटीको अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

Madhyabindu Online


A A- A+

काठमाडौं – जडीबुटीमा निर्माणाधीन बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयविरुद्ध पूर्व अरनिको यातायात प्रालिले हालेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो।

अनुमति नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न नदिएपछि कम्पनी अदालत गएको थियो। आदेशमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न महानगरलाई आदेश दिइएको छ।

‘प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरूलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नू–नगराउनू,’ आदेशमा भनिएको छ।

आदेश जारी नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाण सहित म्याद, सूचना पाएका मितिले बाटाकाे म्याद बाहेक १५ दिन भित्र आफैं वा कानुन बमोजिमको वारेस मार्फत लिखित जवाफ पेश गर्न समेत अदालतले महानगरलाई भनेको छ ।

अन्तरिम आदेश दिने–नदिने छलफलका लागि २१ असोजलाई पेसी तोकिएको आदेशमा उल्लेख छ।

छुटाउनु भयो कि ?