देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपनिर्वाचनका लागि ६५ जनाको उम्मेदवारी दर्ता

0

(काठमाडौं) – आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन निर्वाचन क्षेत्रका लागि ६५ जनाले उम्मेदवारी मनोनयन गराएका छन् । प्रतिनिधिसभा तर्फ कास्की २ तथा प्रदेशसभा तर्फ भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ ख मा मंसिर १४ गते उपनिर्वाचन हुनेछ ।

सोही दिन स्थानीय तहका प्रमुख, अध्यक्षसहित रिक्त रहेका ४८ सिटका लागि पनि निर्वाचन हुनेछ । ती पदान भने आगामी बुधबार मात्र मनोनयन दर्ता हुनेछ । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभाका भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा क्रमश: १९, १० र १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

उपचुनाव हुने क्षेत्रमध्ये सबैभन्दा धेरै चासो कास्की क्षेत्र नम्बर २ हो । प्रतिनिधिसभा सदस्यका लागि त्यहाा २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । भक्तपुर १ (क) मा ९ दल र १० स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डीपी) ढकाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट कृष्णलाल भाडेल र नेपाल मजदूर किसान पार्टीबाट निरज लवजुले उम्मेदवारी दर्ता गराएका छन् ।

बाग्लुङ–२ (ख) मा दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट नीमबहादुर भण्डारीले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दाङ ३ (ख) मा प्रदेशसभा सदस्यका लागि १२ दल र दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विमला वली, नेपाली कांग्रेसबाट केशव आचार्य, राष्ट्रिय जनमुिक्त पार्टीबाट धनराज सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा(संयुक्त)बाट छोटीलाल थारु, नेकपा(माले)बाट हरिप्रसाद डागी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डागी र राप्रपाबाट भूपाल रावतले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत रितेन् थापाले जानकारी दिए । मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज बिहान १० देखि दिउँसो एक बजेसम्मको समय तोकेको थियो । सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले आजै उम्मेद्वारहरुको प्रारम्भिक सूची प्रकाशन गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । पर्सि शनिबार २३ गते उजुरी उपर जाँचबुझ गर्ने र सोहि दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

२४ गते उम्मेदवारी फिर्ताकालागि समय दिने र सोहि दिन अपरान्ह अन्तिम नामावली प्रशासन गर्ने आयोगको तयारी छ । आयोगले २५ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेछ । उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मताधिकार प्रयोग गर्ने छन् जसमध्ये १६ हजार २ सय १९ नयाँ मतदाता छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार