देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आइतबारदेखि काभ्रेका शक्ती पिठ पूर्ण रुपमा बन्द

0

बनेपा – कोरोना संक्रमण बढेसँगै काभ्रेका मठमन्दिर तथा शक्तिपिठहरु आइतबारबाट पूर्ण रुपमा बन्द गरिएको छ । गृह मन्त्रालयले कोरोना संक्रमण बढेसँगै दशैँको नवरात्रीमा विभिन्न मठमन्दिर तथा शक्तिपिठमा पुजा र बली दिन निषेध गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले काभ्रेमा रहेका मठमन्दिरमा सर्वसाधारणलाई पुजा गर्न र बली दिन रोक लगाएको थियो । कार्यालयले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै मठमन्दिरमा पुजाआज गर्न रोक लगाएपनि नवरात्रीको पहिलो दिन शनिवार काभ्रेको पलाञ्चोक भगवतीमा सर्वसाधारणको भीड लागेको थियो ।

पलाञ्चोक भगवती मन्दिरका पुजारी रबिन्द्र बज्राचार्यले सर्वसाधारणका लागि शनिवार मन्दिर खुल्ला गरिएपनि जिल्ला प्रशासन, पाँचखाल नगरपालिका र वडा कार्यालयको सूचनापछि आईतबारदेखि मन्दिरमा पुजा र बली दिन बन्द गरिएको बताए । उनले मन्दिरमा हुने नित्य पुजा र आरती मात्रै हुने बताए । उनले आईतबार पनि मन्दिरमा दर्शन गर्नका लागि दर्शनार्थी आएको र उनीहरु बाहिर बाट नै फर्किएको बताउनुभयो । उहाँले मन्दिर दर्शन गर्न आउने दर्शनार्थीले फुलपाती चढाइदिन आग्रह गरेपनि त्यो काम समेत बन्द गरिएको बताए । उनले दशैँको कोजाग्रत पूर्णिमासम्म मन्दिरमा सर्वसाधारणका लागि पुजा गर्न रोक लगाइने बताए ।

यसैगरी शनिवार खुल्ला गरिएको नाला भगवती मन्दिर पनि आईतबारबाट पूर्ण रुपमा बन्द गरिएको छ । नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले जिल्ला प्रशासन कार्यालयको अर्को आदेश नभएसम्म मन्दिर पूर्ण रुपमा बन्द गरिने बताए । उहाँले स्थानीय प्रहरी चौकी, वडा अध्यक्ष तथा सरोकारवालासँग छलफल गरेर मन्दिर बन्द गरिएको बताउनुभयो । कर्माचार्यले आईतबार पनि नाला भगवतीको दर्शन गर्न दर्शनार्थी आएपनि बाहिरबाट नै फुलपाती चढाएर फर्किएको बताए ।

यसैगरी बनेपाको चण्डेश्वरी मन्दिर भने शनिवारदेखि नै पूर्ण रुपमा बन्द गरिएको छ । मन्दिरमा सर्वसाधारणलाई पुजा गर्न रोक लगाएपनि मन्दिरमा हुने नियमित पुजा र आरती भने नरोकिने मन्दिर व्यवस्थापन समितिले जनाएका छन् । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार